अस्थिरताको सु-स्पष्ट संकेतसहित बनेको वर्तमान संसदमा नेपालको राजनीतिमा बिरलै हुने घटना भएको छ। कुनै पनि दलको बहुमत नआएपछि ‘खिचडी’ संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपस्थितमध्ये दुईबाहेक अन्यबाट विश्वासकाे मत प्राप्त गरेका छन्।
निर्वाचनपूर्व नेपाली काँग्रेससहित गठबन्धन गर्दै ‘बामाले’ रुपी नेकपा एमाले पार्टी र अझै त्यसका सरदार केपी शर्मा ओलीलाई सकेसम्म गाली गर्दै मत मागेका पुष्पकमल दाहाल चुनावपछि तिनै केपी ओलीको शरणमा परेर प्रधानमन्त्री बने।
त्यसो हुँदै गर्दा केपी ओलीले निर्वाचनपूर्व प्रचण्डलाई गरेका गालीदेखि प्रचण्डले केपी ओलीलाई गरेका गाली मात्रै अर्थहिन भएका थिएनन्, बरु त्यससंगै नेपालका शीर्ष तहमा कति नैतिकता नभएका नेताहरु रहेछन् भन्ने दुनियाँले थाहा पाए। त्यति मात्रै कहाँ हो र, प्रचण्डलाई सबैभन्दा ज्यादा गाली गर्ने रवि लामिछानेदेखि गणतन्त्रलाई नै गलत ठान्ने ‘मण्डले तन्त्रका नवयुवराज’ राजेन्द्र लिङ्देनसमेतले हुल मिलेर प्रचण्डलाई प्रधानमन्त्री पदमा विराजमान गराए। याे अवस्थामा जनताले आफूमाथि धोका भएको ठानिसकेकै थिए।
संयोग वा दुर्भाग्यले ‘खिचडी सरकार’ मा जानबाट छुटेकाे नेपाली काँग्रेस अनि नेकपा एकीकृत समाजवादी पार्टीको निम्ति विगतका कमीकमजोरी भुलाएर जनताको पक्षमा सशक्त आवाज उठाउने ठाउँ बनेको थियो। खासमा भन्दा उनीहरुसंग आफूलाई नयाँ ढंगले परिवर्तन र पुनर्गठन गर्दै अगाडि बढ्ने सुनौलो अवसर थियो। तर अहंकारको ‘बार्दली’ मा शरण लिएर बनेको ‘बार्दली सरकार’ लाई विश्वासको मत दिनाले उनीहरुको हातबाट त्यो अवसर पनि गएको छ।
अहिले बहालवाला सरकारले पाएको अत्यधिक बहुमतको आधारमा त्यसलाई सरकारको सफलता मात्रै नभई प्रधानमन्त्री पुष्पकमल दाहालको अपार सफलता भन्दै कतिपयले आरती उतार्दै गर्दाको अवस्थामा पनि सत्य त लेख्नै पर्छ। त्यो सत्य के हो भने यो सरकार बहुमत पाएको तर जनमत गुमाएको सरकार हो। एउटा कुरा गरेर मत माग्ने तर काम भने अर्को गर्ने जोसुकैले गरे पनि त्यो जनमतको अपमान हो।
त्यस अर्थमा अहिलेको सरकार जनताको अभिमतविपरीतको सरकार हो। आफूलाई झुक्याउँदै आफ्नो मतको मर्मविपरीतको गठबन्धन निर्माणकर्तादेखि त्यसमा सहभागी हुने ‘ढोंगी’ हरुको स्वार्थी कदमहरुको पनि जनताले हिसाब-किताब राखेकै छन्। उचित समयमा उचित ढंगले त्यसको भरपाइ जनताले गर्ने नै छन्।
दुखद याे हो कि, जनताले गर्ने त्यस निर्मम हिसाब-किताबसंगै भर्खरै उदाउन खोजेका केही असल, इमान्दार र कर्मजिवीहरुले पनि त्यसको मूल्य चुकाउनुपर्ने छ। यद्यपि, ‘नयाँ जोश, जाँगर र सोचसहित आएको हुँ’ भन्नेहरुले आफ्नै दलको नेतृत्वमा रहेको ढोंगीपन, स्वार्थी व्यवहार अनि त्यसैको आधारमा गरिएको अनैतिक सत्ता यात्रा रोक्न नसकेपछि त्यसले जन्माउने परिणत भोग्नु त अनिवार्य नै पर्ने भयो। तर यो सबै हुँदै गर्दा पनि नेपाल पछाडि फर्कने भने छैन। खराब नीति, विचारको ठाउँमा राम्रो नीति अनि खराब नेतृत्वको ठाउँमा नयाँ र असल नेतृत्व स्थापित गर्दै अबको केही वर्षमा नेपालले नयाँ बाटो समात्नेछ।
माथि उल्लेख गरिए जस्तै आफूलाई रुपान्तरण र पुनर्गठन गर्दै जान तयार भएको भए नेपाली काँग्रेसदेखि एकीकृत समाजवादी जस्ता दलहरु जनताको अगाडि प्रिय पार्टी भएर अघि बढ्ने अवसर थियो। तर जब तातो पानी नभई नुहाउन्न भन्ने पौराणिक कथाका श्रीमानले श्रीमतीलाई तातो पानी नतताइ दिँदा चिसै पानीले नुहाएझैं गरेर ‘बार्दली सरकार’ लाई समर्थन गर्ने गल्ती उनीहरुले गरे, तब उनीहरु पनि ‘बार्दली सरकार’ ले आर्जन गर्ने जनआक्रोशको हकदार जरुर हुनुपर्ने छ।
हुन त उनीहरुले सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भनेको पनि सुनियो तर सरकारको समर्थक प्रतिपक्षमा बस्ने भन्ने कुरा कानुनी र नैतिक दुवै हिसाबले उचित हैनन र हुनु हुँदैन। त्यसो हुँदा सरकारलाई समर्थन गर्ने तर प्रतिपक्षमा बस्छु भन्नेसंग अब सरकारलाई जनअपेक्षाअनुरुप चल्न आग्रह अनुरोध गर्दै बस्नुको विकल्प छैन। यद्यपि, जसले जति आग्रह र अनुरोध गरे पनि यो ‘बार्दली सरकार’ ले कुनै राम्रो काम गर्न सक्ने देखिँदैन। जनताको अपेक्षाअनुसार काम गर्न सक्ने अवस्था पनि देखिँदैन। किनभने यसको गठनदेखि बनोट र छनोट सबै जनताको चाहना तथा सपनासंग मिल्दो छैनन्।
पहिलो कुरा त यो सरकार त्यसमा सहभागीहरुले के पाउने भन्ने आधारमा बनेर त्यसपछि बल्ल जनताको लागि के गर्ने भनेर कुरा गर्ने उल्टो बाटो हिँडिसकेको सरकार हो। दोस्राे, नीति, सिद्धान्त, विचार मात्रै हैन, राज्य सञ्चालनको विधिमै भिन्नता भएका दलहरु मिलेर बनेको ‘बार्दली सरकार’ हो। जसमा गणतन्त्र बेठिक भन्ने मण्डले, प्रदेशको संरचना चाहिन्न भन्ने संघीयता विरोधीहरु, संविधानले कल्पनै नगरेको कुरालाई सत्ता गठबन्धनको साझा कार्यक्रमको अंश बनाउन खोज्ने अल्पज्ञानीदेखि ‘संविधान, ऐन कानुन केही हैन, म नै सबथोक हुँ’ भन्ने दम्भीहरु मिसिएर रहेका छन्। त्यसैले पहिलो त यसले आफ्नो प्राथमिकता निर्धारणसमेत गर्न सक्दैन भने अरु त केही गर्ने कुरै भएन।
भन्नलाई त यो ‘बार्दली सरकार’ का सरदार केपी ओलीदेखि उनका प्रधानमन्त्री, गृहमन्त्रीसम्म सुशासनको कुरा गर्छन्, विकासको कुरा गर्छन् अनि गर्छन् भ्रष्टाचार नियन्त्रणका कुरा। तर काम कस्तो गर्छन्? बालुवाटार जग्गा प्रकरणको निर्णयमा नजानेर सहभागी भएको नभई त्यस प्रकरणमा मुख्य भूमिका खेलेर बालुवाटारमै जग्गा आर्जन गर्नेहरु पहिलो चरणमै यो सरकारको मन्त्री हुन्छन्, त्यो पनि देशको राखनधरनको जिम्मा लिएर। अनि आफ्नैविरुद्धको मुद्दाको छानविन गरिरहेको मन्त्रालयको नेतृत्व गर्न तिनै मान्छे पुग्छन्, जसले अरुलाई नैतिकता सिकाएर नै आफ्नो परिचय निर्माण गरेका थिए। अनि चर्का-चर्का स्वरमा नैतिकताको पाठ पढाउने तिनै व्यक्ति गृहमन्त्री रहेको ‘बार्दली सरकार’ लाई प्रहरी हत्याको आरोपमा फरार भनिएको सांसद आएर निस्फिक्री भएर विश्वासको मत दिन्छ। यस्ता धेरै कुराहरु छन्, जसले स्पष्ट पार्छ कि अहिलेको सरकार ‘दिन दुई गुणा रात चौगुणा’ देशलाई कमजाेर पार्ने काममा लाग्नेछ। त्यसो हुँदा के हुन्छ?
जनताको असन्तुष्टि पनि त्यही रफ्तारमा बढ्छ अनि असन्तुष्टि आक्रोशमा परिणत हुँदै जान्छ र सुरु हुनेछ एउटा ऐतिहासिक जनविद्रोह। त्यो अहिलेलाई कतिपयलाई कोरा-कल्पना लाग्ला तर त्यो अवश्यम्भावी छ। अध्ययन अनुसन्धान केही नगर्ने, देशको ढुकुटी मन लाग्दी जथाभावी खर्च गर्ने ‘बार्दली सरकार’का सारथीहरुको शैली र स्वभावले गर्दा बिग्रँदै गएको अर्थतन्त्र ओरालो लाग्दै जाँदा जनविष्फोट अवश्यम्भावी भइ त्यो झन् खतरनाक हुने पक्का छ। अनि त्यसो हुँदै गर्दा जनताको आक्रोशको निशानामा सत्तामा रहेकाहरु मात्रै पार्लान् अनि उनीहरुलाई विश्वासको मत दिनेहरु चाहिँ जोगिएलान् भन्ने कसैले नठाने हुन्छ। जनताको आक्रोशको अग्नीमा धेरैको दहन हुनेछ।
सत्ता र शक्तिलाई मात्रै लक्ष्य बनाउने दलहरुबाट जनताले उन्मुक्ति खोजिरहेकै थिए। क्रमश: जनताको त्यो भावना प्रकटीकरण हुँदै पनि थियो। जसको परिणामस्वरूप नीति, सिद्धान्त र नेतृत्व परीक्षणबिना नै जनताले गत चुनावमा केही नयाँ दल र नेतृत्वलाई स्थापित गरेका थिए। बिडम्वना जनताको अभिमतको खिलाफ उनीहरु पनि केवल सत्ताको लागि जनताले विस्थापन गर्न खोजेकै शक्तिहरुसंग जोडिन पुगे। त्यो उनीहरुको ऐतिहासिक भुल हाे। उनीहरुको त्यो भुल भएको अवस्थामा नेपाली काँग्रेस अनि एकीकृत समाजवादीसंग जनताको आशा, अपेक्षा पूरा गर्ने मसिहा बन्ने अवसर थियो। झन् गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरु उदाउँदै गरेको काँग्रेससंग त्यो विशाल सम्भावना थियो। तर गगन-विश्वप्रकाशहरुको दुर्भाग्य उनीहरु पनि आवद्धताले गर्दा दोषी करार हुने खतरा देखियो।
यद्यपि, जनताको असन्तुष्टि आक्रोशमा रुपान्तरण हुने क्रममै पनि कतिपयले गल्ती सुधार गरेर जनताको पंक्तिमा लामबद्ध हुन सक्ने छन् र नयाँ परिस्थितिमा नयाँ भूमिकामा आफूलाई स्थापित गर्न सक्नेछन्। यति हो कि सही समयमा सही निर्णय लिन सक्नुपर्यो। खैर, जे होस् भनिन्छ ‘कालो बादलमा पनि चांदीको घेरा हुन्छ।’ अहिले ‘बार्दली सरकार’ बनेकोले मडारिरहेको त्यो कालो बादलको वरिपरी अब नकारात्मकता नसहने जनताको दृढता रुपी चाँदीको घेरा छ।
जनताको सपना र चाहनाअनुसार देश अगाडि बढाउन तयार त्यो घेराले जब आफ्नो आकार बढाउने छ, तब समाप्त हुनेछ कालो बादल र उदाउने छ नयाँ बिहानीको चम्किलो घाम। त्यसो हुँदै गर्दा कालो बादल रुपी ‘बार्दली सरकार’ मात्रै हैन, तिनका सारथीदेखि सहयोगीहरु समेतको समाप्ती अनिवार्य हुनेछ। आवश्यकता छ त केवल जनता पूर्ण रुपमा जाग्ने त्यस सुनौलो दिनको? त्यो दिन अब धेरै टाढा छैन, किनकि बहुमत पाएको तर जनमत गुमाएको ‘बार्दली सरकार’ त ढल्छ ढल्छ तर संगै ढल्नेछन् अरु थुप्रै ढल्नुपर्ने पात्र, प्रवृति र संस्थाहरु। अनि सुरु हुनेछ नेपाल निर्माणको सुनौलो यात्रा।