प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित हुँदै 

File Photo
File Photo

प्रदेश १ सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएका छन्।

सभामुखको उम्मेदवारी मनोनयन दर्ताका लागि प्रदेशसभा सचिवालयले दिएको समय अवधिभित्र गौतमको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन्।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी र समर्थकमा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्माले रहेका छन्।

उनलाई प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको पनि समर्थन छ। नेकपा एसका संसद कमल जवेगु पनि उनको समर्थक छन्।

प्रदेशसभा सचिवालयले उम्मेदवारी दर्ताका लागि दिएको समयसम्म गौतमको एकल उम्मेदवारी परेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। सभामुखका लागि प्रदेशमा पुस २८ गते निर्वाचनको मिति तोकिएको थियो।

केन्द्रीय भागबन्डा अनुसार प्रदेश १ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति छ। केन्द्रको सोही निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसकेका छन् भने सभामुखमा  एमालेले माओवादीलाई समर्थन गरेको छ।

योसँगै गौतम प्रदेश १ को दोस्रो सभामुख बन्ने भएका छन्। यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख थिए।

प्रकाशित मिति: : 2023-01-10 17:58:00

प्रतिकृया दिनुहोस्