शेरबहादुर देउवालाई खुला पत्र : सकिन्छ भने नैतिकता देखाउनुहाेस्

आदरणीय सभापति शेरबहादुर देउवाज्यू, जय नेपाल !

म ठिक छु। तपाईं आराम हुनुहुन्छ हाेला भन्ने आशा छ। तर मनले साचिरहेकाे छ, तपाईंलाई निद्रा लाग्दैन हाेला।

यदि मेराे मनले साेचेकाे गलत छैन भने बालुवाटारकाे आलिसान बसाइ, जहाँ गयाे त्यहीँकाे पिर्के सलामी, आकाशै आकाशकाे वायुपंखी विमानवाला सयर। हामी त साेच्दा पनि कल्पनामा डुब्छाैं भने तपाईं त हरेक दिन आनन्द लिनुहुन्छ।

काठमाडौंका मानिसकाे नियमितता खल्बल्याई सडकमा सरर... गुड्ने गाडी, सेनाको पीएसओ छाेड्नु पर्दा हजुरलाई निद्रा लाग्दैन हाेला साेच्छु।

सात पटक प्रधानमन्त्री हुने जाेतिषकाे भविष्यवाणीले तपाईंका वरिपरिकाे अरुलाई कार्यकर्ता देखेनन्। आरजु भाउजू आजीवन प्रधानमन्त्रीकाे रिमाेट कन्ट्रोल चलाउने लालसामा बस्नुभयाे।

आज सात पटक प्रधानमन्त्रीमा बसाउने तपाईंका गुरुकाे भविष्यवाणीले हावा खाएकाे छ। तपाईंलाई त्यसकाे सिरेटाेले चिस्याइरहेकाे हाेला।

एउटा मिठाे कल्पना मनमा राखेर कुर्सी छाेड्नु पर्दा कस्ताे भयाे हाेला? हामी त्यसै भावविह्वल भइरहेका छाैं भने तपाईं र आरजु भाउजूलाई त आजभोलि निदाउन गाह्रो परिरहेकाे हाेला।

हुन त डडेल्धुराबाट काठमाडौं पस्दा के नै बाेकेर जानुभएको थियो र? र पनि बूढानीलकण्ठकाे आलिसान महलमा हजुरका दिन आरामले बिते।

मरेर जाँदा छातीमा राखेर घर-घडेरी, धन-सम्पत्ति लिएर जानु छैन। तापनि हजुरलाई जाेगी नै हुनु हाेस् भन्न सकिँदैन। सकेकाे थप गर्नुस्।

तपाईंले विगतमा नेपाली कांग्रेस पार्टीकाे लागि गर्नुभएको त्याग, तपस्या र याेगदान सबै सम्झन लायक छन्। तर अहिले आएर तपाईं घरमा आरजु भाउजूको घेराबन्दीमा र बाहिर गुटका केही लाेभीपापीहरूकाे भुमरीमा पर्नुभयाे।

जसरी मर्ने बेला चिनियाँ नेता माओत्सेतुङ ग्याङ अफ फाेरकाे घेरामा हुनुहुन्थ्यो। ठिक त्यही परिस्थिति तपाईंका अगाडि आइलागेकाे छ।

तपाईंलाई विभिन्न माध्यमबाट समयमै सजग गराएकै हुँ। तर, विनाश काले विपरीत बुद्धि भनेजस्तै तपाईंले आफ्नैलाई शत्रु देख्नुभयो।

प्रचण्डको भुतले छाेड्दै छाेडेन। प्रचण्डलाई १३ दिने सम्झनुभयाे। हामी कांग्रेसीजनलाई गाेरु बेचेकाे साइनाेवालासमेत देख्नुभएन। त्यसकै प्रतिफल पार्टी हकदार भइकन पनि सरकारबाट बाहिरिनुपर्‍यो।

सरकारमा जानु र बाहिरिनु ठूलो कुराे त हाेइन तर नेपाली कांग्रेसकाे संगठन तहसनहस भयो। जिल्ला-जिल्लामा गुटकै कारण इमानदार कर्मशील नेताहरूलाई पाखा लगाइयाे।

गठबन्धनका नाममा सरकारमा बसेकाे दिवा सपना देख्ने तर सगंठनका लागि सिन्काे भाँचेर दुई नगर्नेहरूले अवसर पाए। अनि कसरी पार्टी सुदृढ हुन्छ?

विपक्षीहरुकाे बैशाखी लगाएर कहिलेसम्म पार्टी चल्न सक्छ भन्ने प्रत्यक्ष उदाहरण प्रचण्ड र केपी ओलीकाे सरकारलाई मान्न सकिन्छ। तपाईंकाे सरकार अर्काे उदाहरण हाे।

आदणीय सभापति ज्यू, सकिन्छ भने नैतिकता देखाउनुहाेस्। आन्तरिक रुपमा पार्टी संगठन सुदृढीकरणकामा लाग्नुहाेस्। नसके भन्नु केही छैन।

प्रधानमन्त्री अब किन चाहियो? पार्टीलाई उचाइमा पुर्‍याउने जिम्मा तपाईंकै काँधमा छ, कम्तिमा चार वर्ष अझै। घेराबन्दीमा पारेर लाभ मात्रै लिन जानेका लाेभीपापीहरुकाे गलत सगंत त्याग्नुहाेस्।

पार्टीलाई एक ढिक्का बनाएर लिनुहाेस् र सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्नुहाेस्। यसैमा तपाईं र हाम्रो भलाई छ। कांग्रेसकाे भविष्य छ।

(लेखक बुढा नेपाली कांग्रेस जुम्लाका उपसभापति हुन्)

प्रकाशित मिति: : 2023-01-10 11:29:00

प्रतिकृया दिनुहोस्