नैतिकवान हुनुपर्छ भन्ने हामी सबैलाई थाहा छ तर प्राय: नैतिक छौँ कि छैनौँ भन्ने हामी आफैँलाई थाहा हुन्न। सबैले आफूलाई नैतिकवान नै मान्छन् तर यो मापन प्राय गलत हुन्छ। नैतिक छौँ कि छैनौँ भन्ने हामी आफैँले मापन गर्नुभन्दा अरुलाई गर्न दिनु राम्रो हुन्छ। यति भन्दै गर्दा 'नैतिक' भन्नाले के बुझ्नुपर्छ भने मानिसको बुझाइ, गराइ र भोगाइअनुसार फरक हुन सक्छ।
मानिस नैतिकवान हुनपर्छ, त्यसमा कुनै शंका छैन। तर नैतिकता राजनैतिक प्राणी र प्रणालीमा धेरै हुनुपर्छ। राजनैतिक प्राणीमा चाहिँ झन् अनिवार्य नै हुनुपर्छ। किनभने नैतिकता देशको भविष्यसंग जोडिएको हुन्छ। नैतिक रुपले हेर्ने हो भने मेरो बुझाइमा थोरै मात्र नैतिकवान नेताहरु हुनुहुन्छ र उहाँहरु जीवित हुनुहुन्न। मैले मेरो जीवनकालमा यी नेताहरु नैतिकवान थिए कि थिएनन् राम्रो महसुस गर्न पाइनँ तर यसको पुष्टिका लागि प्राय सबै नेता र विश्लेषकका मुखबाट यी नेताहरुको नाम सुन्दा, यी नेताहरु नैतिकवान हुन् भन्नेमा दुई मत छैन।
नेताहरु विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहश्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, महेन्द्र वीरविक्रम शाह हुन्। अरु पनि थुप्रै होलान् तर मैले सरसर्ती सम्झँदा यति नै हुन्। मैले नाम सम्झँदै गर्दा केही कांग्रेसीर-कम्युनिष्टबीच राजाको नाम पनि परेछ। 'राजा शासक हो, यो कसरी नैतिक हुन सक्छ' भन्ने प्रश्न उठ्न सक्छ। फेरि हालको राजनीतिमा राजाहरुलाई 'शासक मात्र हैन, सामन्ती पनि हुन् र देशको सबै प्रमुख समस्याको जड नै राजा तथा राजतन्त्र हुन्' भन्नेहरु नै राष्ट्र प्रमुख भएका छन्।
राजा महेन्द्र शासक हुन् तर उनको देश प्रेम र देश विकासमा पुर्याएको योगदानलाई देखेर नैतिकवान सम्झनु मेरो लागि ठुलो कुरो होइन, सहि-गलत पाठकले छुटयाउन्। त्यसैले राजाका विषयमा धेरै बहस नगरौँ। कांग्रेस र कम्युनिष्टकाे नेतृत्व गर्ने नेताहरु यिनै महान नैतिकवान नेताहरुबाट प्रशिक्षित भएका हुन् तर यिनीहरु किन नैतिकवान हुन सकेनन्? हुन त यी पार्टीभित्र अनेकौँ नैतिकवान नेताहरु हुनुहोला तर उहाँहरु पार्टीको तल्लो तहमा हुनुहोला। त्यसैले हामीले उहाँहरुको नैतिकता मापन गर्ने अवसर पाएका छैनौँ। हामीले मापन उसैको गर्ने हो, जो प्रमुख हुन्छन् र जसको व्यवहारले हाम्रो दैनिकीमा असर गर्छ। यसो भन्दै गर्दा नैतिकवान नेताहरुको अवमुल्यन र अपमान गरेको भने पक्कै हैन।
हामीले नेपाली राजनीतिमा केपी शर्मा ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्षकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा र रामचन्द्र पाैडेललाई अनैतिक व्यवहार देखाएको अनेकौँ लेख र अन्तर्वार्ता पढ्न, सुन्न र हेर्न प्रशस्तै पाइन्छ। यी नेताहरुले मौका पर्दा एकअर्कालाई प्रशस्तै अनैतिक व्यवहार देखाएका छन्। यो पनि प्रशस्तै पढ्न हेर्न र सुन्न पाइन्छ।
माथि उल्लेखित नैतिकता देखाएका र नदेखाएका नेताहरु कति समकालीन छन्, कति बीच पुस्तान्तर छ। समकालीनबाट त सिकेनन् तर पुस्ताबाट त केही सिक्नुपर्ने हो। आफ्नो विरासत विकास गर्नुपर्ने हो, त्यति पनि गरेनन्। अब छिट्टै नैतिकता प्रस्तुत गर्न नसकेका नेताहरु विलय भएर जानेछन् र नयाँ पुस्ता आउने छन्। के यो नयाँ पुस्ता राजनैतिक रुपले नैतिकवान हुनेछन् त?
नेपाली राजनीतिमा पुस्तान्तरणको ठुलो बहस चलेको छ। के पुस्ता परिवर्तन प्रमुख हो? यस विषयमा डा. सुरेन्द्र केसी, प्रतिष्ठित प्राध्यापक तथा इतिहासकार/राजनैतिक विश्लेषक र मेरो पनि बुझाइमा अहिलेको प्रश्न पुस्तान्तरणभन्दा पनि नैतिकता को हो। आचरण, विचार, पद्दतिको हो। उचित पद्दति बसाले, नेताहरु नैतिकवान भए राजनीति र देशले सकारात्मक परिवर्तनको गति लिनेछ।
अब अहिलेका पुस्ताको कुरा गरौँ, जो नेपाली राजनीतिमा प्रख्यात र उदयीमान छन्। यसमा मैले काँग्रेसका कोइरालाहरु, कम्युनिष्टका पौडेलहरु, माओवादीका महराहरुको कुरा गर्दै छैन। यिनीहरु पुस्तामा हालका शीर्षस्थ नेताहरुसंग अन्तर भएपनि बुवा पुस्तक भइसके, युवा पुस्ता भन्न मिल्दैन। त्यसैले गगन थापा, योगेश भट्टराई, सिके राउत, लिङ्देनलगायतका पुस्ताको कुरा गर्दैछु। यिनीहरु नैतिकवान छन् या छैनन् पूर्णरुपले भन्न सकिने अवस्था आएको छैन तर नैतिकवान नै छन् भन्नलाई विभिन्न आक्षेप लागेका छन्। आक्षेपहरुलाई गलत साबित गर्ने चुनौतीका पहाडहरु छन्।त्यसलाई गलत साबित गर्न सकुन् मेरो शुभेच्छा छ।
राजनीति नगरेका तर राजनीतिमा भर्खरै प्रवेश गरेकाहरुको पनि कुरा गरौँ। सरसर्ती सोच्दा पहिलो नाम रविन्द्र मिश्रको आउँछ। मिश्रले राजनीति सुरु गरेको १० वर्ष पनि पुगेको छैन तर यो छोटो राजनैतिक कार्यकालमा आफैँले गठन गरेको पार्टीलाई तिलाञ्जली दिएर अर्को पार्टी प्रवेश गरे। आफूले गठन गरेको पार्टीभन्दा सैद्धान्तिक रुपले फरक मत भएको पार्टीमा प्रवेश गरे। त्यसो भन्दै गर्दा मानिसको विचार परिवर्तनशील हुन्छ र हुनुपर्छ भन्नेमा म विश्वास राख्छु। तर सिद्धान्त नै परिवर्तन गर्नुपर्छ भन्ने कुरामा भने मेरो फरक मत छ। मिश्र परोपकार र पत्रकारितामा अब्बल हुनुहुन्थ्यो, यसमा मेरो मात्र हैन, प्राय: सबैको विचार यही हो। त्यसैले मिश्र राजनैतिक रुपले नैतिकवान हुनुहुन्छ वा हुनुहुन्न पाठक आफैँले छुट्याउनुहोला।
यो सिलसिलामा अर्का नवप्रवेशी व्यक्ति रवि लामिछानेको कुरा गरेन भने यो लेख अपूर्ण हुन सक्छ। लामिछानेले छोटो समयमै आफ्नो पार्टीलाई देशको चौथो ठुलो पार्टी बनाउनुभयो। उहाँले आफूसंगै सोविता गौतम, डा. तोशिमा कार्कीलगायत धेरै युवाहरुलाई नेपाली राजनीतिमा उदयीमान गराउनुभयो, यो लामिछानेको सराहनीय काम हो। अब यी नयाँ पुस्ताले कतिको नैतिकता प्रस्तुत गर्छन् हेर्दै जाउँला।
लामिछाने नेपाली राजनीतिमा अहिले सर्वाधिक प्रख्यात तर विवादित नेता पनि हुन्। लामिछानेले पत्रकार हुँदा हजारौँ नेपालीलाई खुसी बनाएका छन्, विषेश गरी खाडी मुलुकमा रोजगारीका क्रममा फसेका र उनीहरुका परिवार। त्यसैले धेरै नेपालीहरुको लामिछानेप्रति विश्वास हुनु र सहानुभूति राख्नु स्वाभाविक हो।
पत्रकारिताका क्रममा लामिछानेले सयौँ वरिष्ठ नेता र कर्मचारीलाई नैतिकताको पाठ पढाए। यति भन्दै गर्दा लामिछानेप्रति विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय आरोपहरू पनि लागेका छन्। आफ्नै समकालीन पत्रकारलाई आत्महत्या दुरुत्साहन, ठुला व्यापारी र कर्मचारीसँग मिलेर साना व्यापारी कर्मचारीमाथि स्टिङ अप्रेरसन गरेको तथा फर्जी नागरिकता र पासपाेर्ट प्रयोग गरेको राष्ट्रिय आरोप छ। त्यस्तै आर्थिक बिचलन गरेको र बैंक ठगीसम्बन्धी केही मुद्दाहरु हाल पनि अमेरिकी अदालतमा कायम नै छन्। यद्यपि, यी आरोप मात्र हुन्, कसुर सावित भए कानुन बमोजिम कारवाही भोग्नुहोला, सावित नहोस् हाम्रो कामना।
यी आराेपहरुमध्ये कम्तिमा नागरिकतासम्बन्धी मुद्दामा नैतिकता प्रस्तुत गरिदिएको भए लामिछानेलाई नेताका रुपमा हेर्न हामी सबैलाई सहज हुने थियो। लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसला हुन बाँकी नै छ। फैसला हुन बढीमा ६ महिना लाग्थ्यो होला। ६ महिना धैर्य देखाएको भए र आमसञ्चारसामु आएर नागरिकतासम्बन्धी मुद्दा फैसला नहुन्जेल सरकारकाे कुनै पनि कार्यकारी पदकाे जिम्मा लिन्न भनेको भए हामी सबैजना खुसी हुने थियाैँ। लामिछाने अझै नैतिकताको उचाईमा चढ्ने थिए। हामी सम्मान गर्न बाध्य हुन्थेउँ। यसो गर्नुको साटो लामिछानेले गृह मन्त्रालयकै जिम्मेवारी सम्हाल्दा हामीजस्ता शुभचिन्तकको मनमा शंका पसेको छ र यो स्वाभाविक पनि हो। आफूलाई कसुर लागेकै नियमन गर्ने संस्थाको प्रमुख भएर जाँदा लामिछानेले कति नैतिकता देखाए, त्यो लामिछानेले सोच्ने र हामीले मापन गर्ने हो। हिजो लामिछानेले सबैलाई नैतिकताको पाठ पढाइरहँदा आफू कहाँनेर चुके भन्ने विश्लेषण भविष्यमा आफैँले गर्नुहोला। तर मैले चाहिँ नैतिक देखिनँ।
यति लेखिसकेपछि मलाई कसैले कांग्रेस, कम्युनिष्ट, माओवादी, राजावादी र लामिछाने विरोधी वा समर्थक देख्नेछन्। यसलाई मैले सामान्य रुपमा लिनेछु। यो लेख लेखिसक्दा मैले कसैप्रति वैरभाव राखेको छैन। माथि उल्लेखित नामहरु नेपालको वर्तमान राजनीतिमा प्रत्यक्ष रुपमा दखल राख्ने र देशको भविष्य यिनीहरुमा निर्भर हुने भएकाले उदहारणको रुपमा राखेको हो, अन्यथा होइन।
नैतिकवान पुस्ताबाट प्रशिक्षित भएका नेताहरु किन नैतिकवान भएनन्, यो आजको प्रमुख प्रश्न हो। आफ्नो नेतालाई कसरी नैतिकवान बनाउने आम मतदाता र अहिलेका 'नयाँ ' पुस्तामा निहित छ। यो मेरो व्यक्तिगत विचार हो, नैतिक वा अनैतिक पाठकहरुलाई जिम्मा। डा. केसीले भनेझैँ हामीले भोलिको समाज र नेताहरुलाई नैतिक वा अनैतिक बनाउने भन्ने विषय चार कुरामा निर्भर हुन्छ: जवाफदेहिता, पारदर्शिता, सहि मान्छे ठिक ठाउँ र इनाम/सजाय। अन्यथा नैतिकता विद्यालय/विश्वविद्यालयको पुस्तकमा सीमित हुन्छ। देशले कोल्टे फेर्ने अवस्थाबाट बञ्चित हुनुपर्छ।
(लेखक थापा वातावरणसम्बन्धी अध्यता हुन्)