जब पेलेलाई भेट्न राजाले तीन घण्टा कुरे...

Pele(REUTERS)
Pele(REUTERS)

ब्राजिलका महान खेलाडी हुन्, पेले। उनको नाम ब्राजिलमा मात्रै होइन, संसारभर नै प्रसिद्ध छ। फुटबलमा जादुगरको छवि बनाएका पेलेको सफलताको बराबरी आजसम्म कुनै फुटबलरले गर्न सकेका छैनन्।

पेले संसारका एक मात्रै खेलाडी हुन्, जसले तीन विश्वकप जितेका छन्। सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो।

त्यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५–२ ले विजयी भयो। त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए।

उनकै प्रेरणामा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि जितेको थियो। आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे।

एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए। १७ वर्षको उमेरदेखि नै अन्तर्राष्ट्रिय खेलाडी बनेका उनी सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भए।

आफूले खेलेको खेलका कारण उनले बेलायतकी महारानी एलिजाबेथ द्वितीया र इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीलाई समेत दर्शक बनाएका थिए।

पेललाई भेट्न मात्र पनि पहलवीले तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए।

चर्चित खेलाडी पेलेको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो। जसको नाम फुटबल करिअरमा लागेपछि परिवर्तन भएको थियो।

एडसनबाट यसरी बने पेले

ब्राजिलको मिनास गोराइसमा एडसनको जन्म भयो। २३ अक्टोबर सन् १९४० मा जन्मिएका उनको खुट्टा हेर्दै पिताले भनेका थिए, ‘यो भविष्यमा राम्रो फुटबल खेलाडी बन्न सक्छ। यसले राम्रो खेलाडी बन्ने खुट्टा लिएर आएको छ।’

उनका बुबा ओआओ रामोस डो नासिमेन्तो क्लब स्तरका फुटबलर थिए भने आमा सेलेस्त अरान्तेस गृहिणी थिइन्।

आफू फुटबलर भएको कारण उनी आफ्ना छोरा एडसनलाई पनि फुटबल खेलाडी बनाउन चाहन्थे। तर आमा भने उनलाई वकिल या डाक्टर बनाउन चाहन्थिन्।

बुबाका कारण फुटबलमा रुचि राखेका उनी बाल्यकालदेखि नै फुटबल खेल्थे। उनी फाटेका कपडाको बल बनाएर फुटबल खेल्थे भने कहिले नजिकै रहेको गुड्स ट्रेन स्टेशनबाट सामान चोरेर बल किन्न पैसा जम्मा गर्थे।

फुटबलमा लगाव भएकै कारण उनको नाम पेले राखियो। स्थानीय फुटबल क्लबका गोल किपरको नाम थियो, बिले। जो उनकै पिता भएको क्लबमा खेल्थे।

उनी आफ्नो क्षमता कारण निकै प्रख्यात थिए। यस्तै बाल्यकालमा एडसनले केही प्रतिस्पर्धामा गोल किपरको भूमिका निभाएका थिए। त्यसैले उनलाई मानिसहरूले दोस्रो बिले भन्दै सम्बोधन गर्थे। सोही नामबाट उनी ‘पेले’ बने।

फुटबलका महान हस्ती पेलेकाे बिहीबार ८२ वर्षको उमेरमा निधन भएको हाे। उनकाे निधनले विश्व नै स्तब्ध बनेकाे छ। फुटबलरहरुको चिनारी उनी अब सम्झनामा मात्र रहने छन्। हार्दिक श्रद्धाञ्जली महान फुटबलर पेले!

प्रकाशित मिति: : 2022-12-30 15:08:00

प्रतिकृया दिनुहोस्