प्रदेश १ मा एमालेले आज दलको नेता छान्दै

प्रदेश १ को सबैभन्दा ठुलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचित संसदहरुको बैठक बोलाएको छ।

प्रदेशसभामा एमालेले ४० सिट जितेको छ। प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ संसद जितेको एमालेले संसदीय दलको नेता चयन गर्ने लगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाएको बताएको छ।

एमालेले दलको नेतामा झापा ५(१) बाट निर्वाचित भएका स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई सर्वसम्मत चयन गर्ने तयारी गरेको छ। २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका कार्की प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना आवश्यक पर्छ। प्रदेशमा एउटै दलसँग स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था छ।

निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएको सत्ता गठबन्धनको ४६ संसद छन्। एमाले र राप्रपा मिल्दा पनि ४६ संसद पुग्छन्। समानुपातिकबाट एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) प्रदेशमा सरकार गठनका लागि निर्णायक बनेको छ।

प्रदेशमा जसपाले जता समर्थन गर्छ त्यही गठबन्धनको सरकार बन्छ।

प्रकाशित मिति: : 2022-12-25 08:07:00

प्रतिकृया दिनुहोस्