नेपाली कांग्रेस पार्टी सजिलै सुध्रिने ताल देखिएन। एक किसिमको यो बेताल देखेर लाग्छ, यो कम्युनिष्टविरोधी मतको बक्साछाप पार्टी मात्र हो, त्यही बक्सामा जे जति मत जम्मा हुन्छ, त्यही देखाएर वर्षौदेखि यसको रोजीरोटी चलिरहेको छ।
झट्ट पढ्दा कंग्रेसजनलाई यो टिप्पणी अप्रिय लाग्न सक्छ तर अति भएपछि योभन्दा प्रिय टिप्पणी पनि गर्न नसकिने रहेछ। किनकि, अहिलेको कांग्रेस योभन्दा पनि खराब टिप्पणी डिजर्ब गर्छ।
प्रसङ्ग नेपाली कांग्रेसको संसदीय दलको चुनावको हो। यो पार्टीले पाँचपटकसम्म शेरबहादुर देउबाका रूपमा उही एक थान प्रधानमन्त्री दोहोर्याउँदै आएको छ। न पार्टालाई विकल्प दिन्छ, न देशलाई। नेपालको सबैभन्दा पुरानो पार्टीसँग यही एक थान प्रधानमन्त्रीबाहेक अर्को थान जिवित प्रधानमन्त्री पनि छैन। कति तन्नम हुँदैछ यो पार्टी। यताति हेक्का राख्ने फुर्सद कांग्रेसीजनलाई पटक्कै छैन।
यसपटक त अर्को थान प्रधानमन्त्री देला कि भनेको उही पुरानै थानलाई छैठौ पटक दोहोर्याउने लगभग निश्चित छ। त्यो एक थान को हो ? ऊ कुन अतिरिक्त र नभइ नहुने विशेषताका कारण कांग्रेसका लागि आवश्यक मात्र हैन, अपरिहार्य नै भएको हो बुझिनसक्नु छ। उसले कांग्रेस र देशलाई कता लागिरहेको छ, जगजाहेर छ। तैपनि कांग्रेस जबर्जस्ती उसैलाई थोपरिरहेको छ।
लाग्थ्यो, त्यही थानको जगजगीबीच पनि चुनावपूर्व प्रधानमन्त्रीको उम्मेद्वारी नै घोषणा गरेका गगन थापालाई यसपटक कम्तिमा विकल्पका रूपमा कांग्रेसले प्रस्तुत गर्ला। तर, समय घर्किदै जाँदा उनलाई प्रधानमन्त्री त टाढाको कुरा संसदीय दलको नेताको उम्मेद्वार पनि हुन नदिने सम्भावना बढ्दो छ।
नेपाली सत्ता राजनीतिका वाचाल खेलाडी देउबाले कांग्रेस भन्ने पार्टी नै कब्जा गरेर आफूजस्तै यति भुत्ते बनाए कि त्यहाँको अंकगणितमा उनले नछोडेसम्म अर्को विकल्प नै बन्न सक्दैन। यसपटक पनि उनले अंकगणित पूरापूर आफ्नै पक्षमा बनाएका छन्।
गगन थापाको उम्मेद्वारी घोषणा र विश्वप्रकाश शर्माको पैरवीले कांग्रेसमा केही तरङ्ग ल्याउन लागेको थियो, त्यो पनि बीचैमा तुहिने सम्भावना बढेको छ। त्यो तुहाउन शिखण्डी भएर आएका छन्, शेखर कोइराला। कांग्रेसको पछिल्लो महाधिवेशनमा काकतालीले देउबा विपक्षी कोइराला खेमाको उम्मेद्वार भएका उनले आफूलाई के के न हुँ भन्ने ठानेका छन्। त्यतिबेला उनलाई जुन संख्या प्राप्त भयो, त्यसमा गगनको उल्लेखनीय योगदान रहेको घामजत्तिकै छर्लङ्ग छ । गगनले लोकप्रिय मतका साथ महामन्त्रीमा जित्दा सभापतिमा शेखर पराजित हुनु नै त्यसको ऐना हो।
तर, उनै शेखर गगनलाई संसदीय दलको नेताको चुनावमा छिर्के हान्न आइपुगेका छन्। उनले महाधिवेशनमा गगनसहितको टिमकै सभापतिको उम्मेद्वार आफू भएकाले देउबाको विपक्षमा उठ्ने हकदैया आफ्नै भएको अजबको तर्क गरिरहेका छन्।
कांग्रेस संसदीय दलको अंकगिणत हेर्दा कुनै नाटकीय मोड आएन भने देउबाले जित्ने लगभग पक्का छ। उनको विपक्षमा एकजना मात्र उम्मेद्वार हुँदा त त्यस्तो अंकगणित छ भने झन दुईजना उठ्दा के होला ? निश्चित छ, लज्जास्पद हार हुने छ। तर, देउबाविरोधी सबै एक भए र जनताले कांग्रेसलाई वैकल्पिक नेतृत्व दिन दिएको जनादेश महसुस गर्दै गगनलाई उठाए भने उनले कडा टक्कर दिन सक्छन् र जित्न पनि सक्छन्। यसबाट कांग्रेसको त भलो हुन्छ नै, देशको पनि भलो हुन्छ।
नेपाल बन्नका लागि कांग्रेस पनि बन्नु पर्छ। यो सत्य हो कि कांग्रेस बिग्रेर देश बन्दैन। तर, देशलाई चाहिएको देउबा-कांग्रेस हैन, नेपाली कांग्रेस हो। कांग्रेसीजनले जति चाँडो यो सत्य बुझेर देउबाको विकल्प दिन्छन् कांग्रेसको त हित हुन्छ नै, नेपाल र नेपाली पनि भलो हुन्छ।
नेपाल बन्नका लागि कांग्रेस पनि बन्नु पर्छ। यो सत्य हो कि कांग्रेस बिग्रेर देश बन्दैन। जतिसुकै बिग्रे पनि कांग्रेस भनेको ब्राण्ड हो। नेपालमा दक्षिणपन्थी रूझानको प्रजातान्त्रिक विचारको मियो कांग्रेस नै हो। जब कांग्रेस बलियो हुन्छ, त्यसलाई टक्कर दिन वामपन्थी विचार बोक्नेहरू पनि एक ठाउँमा आउन बाध्य हुन्छन्। त्यसो भयो भने मुलुक वैचारिक धरातलमा दुई ध्रुवीय ध्रुवीकरणमा जान्छ। र, यस्तो ध्रुवीकरण बाहेक अन्य कुनै पनि किसिमको राजनीतिक खेती र अभ्यासले नेपाल र नेपालीको भाग्य र भविष्य तय गर्न सक्दैनन्।
त्यसका लागि पहिलो शर्त भनेको जतिसक्दो चाँडो कांग्रेसले शेरबहादुरको विकल्प खोज्नु नै हो। यदि उसले देशलाई सधैंभरी देउबा मात्र दिइरहन्छ भने नेपाली जनता सधैभरी सहन बाध्य हुदैनन्। उनीहरू त्यस्तो अटेरी कांग्रेसकै विकल्प पनि खोज्न सक्छन्।
तर, दु:खका साथ भन्नुपर्छ, न कंग्रेसको संस्थापन पक्षले समयको यो पदचाप बुझेको छ न यो वा त्यो कोटरीका कंग्रेसीहरूकै चेत पलाएको छ। कांग्रेस चेत्दैन भन्ने पछिल्लो दृष्टान्त बुधबार हुन लागेको संसदीय दलको नेताको चुनाव र त्यसमा देखिएको सम्भावित परिदृश्य हो।
हार्ने चुनावका लागि त प्रतिस्पर्धा छ भने जित्ने चुनावको कुरै भएन। देशले कांग्रेसमा चाहेको समयको पदचाप बुझ्ने नेता हो। अहिलेका लागि त्यो देउबा हुँदै हैनन्। उनले जे गर्न सके, उनको जे क्षमता थियो, त्यसमार्फत् पाँचपाँचपटक प्रधानमन्त्री हुँदा देखाए, गरे। अब पिना हैन, सिना भैसकेका देउबाबाट तेल आउँछ भन्नु बेकारको कुरा हो।
त्यसैले कांग्रेसले सर्वसम्मतिबाट होस् वा चुनावी प्रक्रियामार्फत् देउबाको बिकल्प दिएर देशलाई निकास दिनुपर्छ। अहिलेका लागि देउबाको विकल्प शेखर हुदै हैनन्। त्यसैले उनले मैदान खालि गरेर गगनका लागि मार्गप्रशस्त गरिदिनुपर्छ। यसो भयो भने कतै मुलुकले देउबाको विकल्प पाउला कि ?
अन्यथा, देशले नै कांग्रेसको विकल्प खोज्न थाल्छ। जनता जनार्दन नहुदाँ समय बलवान हुन्छ। त्यसपछि समाजमा यो वा त्यो नाममा रहेका सबैखाले कुँडाकुर्कुटामाथि समयले निर्ममतापूर्वक कुचो लगाउँछ।