अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध विद्रोहको अभियोग, जालान् त जेल ?

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध चारवटा अपराधिक आरोपमा मुद्दा चलाउन सिफारिस गरिएको छ। आरोपहरूमा आधिकारिक कार्यवाहीमा अवरोध, संयुक्त राज्य अमेरिकालाई धोका दिने षडयन्त्र, गलत बयान गर्ने षड्यन्त्र र विद्रोह रहेका छन्। 
सन् २०२० को राष्ट्रपति चुनावको परिणाम उल्टाउन लागिपरेका ट्रम्पको समर्थनमा जनवरी ६ मा भएको संसद आक्रमणको छानबिन गर्न गठित जनबरी ६ संसदीय समितिले यस्तो सिफारिस गरेको हो। 

समितिले अमेरिकाको कानून विभागलाई ट्रम्पविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। सिफारिस संसदका दुबै दलका सदस्य सम्मिलित समितिले गरेको लामो छानबिनमा आधारित छ। 

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध विद्रोहको संगीन आरोपसहित चार अभियोगमा अपराधिक मुद्दा चलाउन सिफारिस गरिएको छ।  यो सिफारिससँगै ट्रम्पको भाग्यमाथि ग्रहण र भविष्यमाथि प्रश्नचिन्ह लागेको छ। 

सोमबार बसेको समितिको अन्तिम बैठक यो निस्कर्षमा पुगेको हो। 

सन् २०२० को चुनावमा आफ्नो जीत भएको दाबी गर्दै हार स्विकार नगरेका ट्रम्पविरूद्ध  मुद्दा चलाउन गरिएको यो सिफारिस कानून विभागले अब कसरी अगाडि बढाउँछ? ट्रम्पको भविष्य धेरै अर्थमा त्यसले निर्धारण हुने छ। 

तर, अमेरिकी राजनीतिक पण्डितहरू कानून विभागले समितको सिफारिस अनुसार नै मुद्दा चलाउने बताइरहेका छन्। यसले कम्तीमा पनि ट्रम्पको २०२४ मा राष्ट्रपति चुनाव लड्ने इच्छामाथि ब्रेक लगाउँने जस्तो देखिन्छ। अझ केही राजनीतिक पण्डितहरू त बिद्रोहजस्तो संगीन आरोपका कारण उनी जेलको नजिक पुगेको पनि बताइरहेका छन्।

प्रकाशित मिति: : 2022-12-20 03:18:00

प्रतिकृया दिनुहोस्