अर्जुन अफिसबाट आएर सरासर आफ्नो बेडरुमतिर पस्छन् र अफिस ब्यागलाई टेबुलमाथि राख्दै यता-उता आँखा डुलाउँछन्। किन होला एक हप्ता जति भो उनलाई यो बेडरुम उनकै बेडरुमझैँ लागेको छैन। कोठाभित्र एक प्रकारको ताजापन हुन्थ्यो, त्यो निकै दिनबाट हराएको छ। त्यसैले आज उनले कोठाको वातावणलाई राम्ररी आँखा घुमाएर हेर्छन्।
अरे...! आज हाम्रो कोठाको झ्याल बन्द पो रहेछ। उनी छक्क पर्छन्। गीताले (उनकी श्रीमती) झ्याल खोल्न बिर्सिछिन् कि क्याहो! त्यसैले निकै दिनबाट कोठाको रौनक हराएको होला! तर गीतालाई यो झ्याल बन्द गरेको पट्टकै मन पर्दैन थियो। बिहान रिमरिम उज्यालोमै झ्याल खोल्ने गर्थिन् र राति अबेरसम्म झ्यालमा बसेर केही गुन्गुनाउने गर्थिन्। ऊ निदाइ सकेपछि बल्ल झ्याल बन्द गर्ने गर्थिन्। जति नै ऋतु मौसम परिवर्तन भए पनि गीताको यो बानी भने कहिल्यै बदलिएको थिएन। तर...केही दिनदेखि किन यो परिवर्तन आयो उनमा?
गीता र उनको ‘लभ म्यारेज’ थियो। गीता एक सिधासाधी, बि.ए पास र ऊ एक सिविल इन्जिनियर थिए। उनीहरू एकअर्काका ‘फस्ट लभ’ थिए। उनीहरुको दोस्ती जीवनमा पनि कहिल्यै मनमुटाव आएन। एकअर्काप्रति विश्वास थियो। अर्जुनले पनि गीताका हरेक कुरामा सहमति दिन्थे। आज उनीहरू विवाह बन्धनमा बाँधिएकाे पनि पाँच बर्ष पूरा भइसकेको छ।
अर्जुनले कोठाबाट गीतालाई प्रश्न गर्छन्, ‘गीता...यो झ्याल किन बन्द छ हँ?’ उताबाट कुनै उत्तर आउँदैन। गीताले सुनिन होला भन्दै उनी किचेनतिर जान्छन्। गीता मौन भएर अर्जुनको लागि खाना तयारी गर्दै हुन्छिन्। अर्जुन गीताको छेउमा आएर सोध्छन्, ‘गीता तिमीले कोठाको झ्याल किन बन्द गरेकी हँ? कि खोल्न बिर्सिछ्यौ?’ तर कुनै प्रत्युत्तर आउँदैन। अर्जुनलाई झनक्क रिस उठ्छ र अलिक रिसाएको स्वरमा भन्छन्, ‘के भएको छ तिमीलाई हिजोआज? मेरो प्रश्नको उत्तर दिन जरुरी सम्झ्न्नौ?’ गीता फेरि पनि चुप।
आखिर अर्जुन पनि चुपचाप खाना खान्छ्न्। तर अर्जुनको मनमा कौतुहल जागेर आउँछ। गीताले झ्यालबाट केही नदेख्नु पर्ने कुरा पो देखिन् कि? कि त झ्यालबाट कसैले उनलाई मजाक-ठट्टा पो गरे कि? तर यो पनि हुन सक्दैन। किनकि, उनीहरू बसेको कमरा पाँच तल्ला माथि हो। छेउछाउका फ्ल्याटभन्दा उच्च छ। झ्यालबाट हेर्ने हो भने सबैका छतहरु मात्र देखिन्छ। फेरि उनीहरू बसेको वातावरणमा त्यस्तो अल्लारे केटा पनि छैनन्। झ्यालबाट हेर्दा खुला आकाश, हरिया सिमलका रूख, निकै शितल छाँया र चिसो हावा दिने रूखहरू देखिन्छन्। अनि बाटोको पल्लोपटी ‘ब्ल्याक क्याफे’ भन्ने ठुलो ब्यानर टाँसेको ‘कफी सप’ मा कालो क्याप लगाएका वेटरहरू आफ्नै काममा व्यस्त भएका दृश्यहरू छन्। यीबाहेक अन्य केही रहस्यमय कुरा त छँदै छैन । उसो भए गीताले किन झ्याल बन्द गरिन्? अनि किन मेरो प्रश्नको उत्तर दिन जरुरी ठानिनन्?
भोलिपल्ट पनि उनीहरूको घरको परिस्थिति उही नै छ। बन्द झ्याल र गीताको मौनता। अब भने अर्जुनको सहन शक्तिले सीमा नाघिसकेको छ र उनले गीताको दुबै पाखुरा समाएर आँखामा आँखा जुधाउँछन्। तर गीताले मुख फेरिदिन्छिन् र भन्छिन्, ‘हेर अर्जुन! यो रहस्य, रहस्य नै राखिदिए हामी दुवैको लागि राम्रो हुनेछ। किनकि, यथार्थ कुरा थाहा पाए न तिमी खुसी हुने छौ, न मेरो लागि केही उपल्बधि हुने छ।’ गीताको कुराले अर्जुनलाई झन् आक्रोशमा पार्छ र गीतको पाखुरामा समाएर हुत्याइ दिन्छन्। ठुलो स्वरमा चिच्चाउँदै भन्छन्, ‘के त्यो झ्यालबाट तिम्रो पुरानो आशिक, तिम्रो पुरानो यार, तिम्रो पुरानो प्रेमी भेट्न आउँछ? तिम्रो पुरानो प्रेम कथाको च्यापटर फेरि सुरु हुनेछ? तिम्रो घिन लाग्दा कर्तुतहरू कसैले देख्छ कि भन्ने डरले झ्याल बन्द गरेकी हौ?’ बेलुका पिएर आएको नशाको दास बन्दै अर्जुनले गीतालाई अनेकौँ आरोप लगाउँछन्।
अर्जुनका कुराले गीताको मुटुको गहिराइबाट बेदना भरिएका शब्दहरु विष्फोट भएर आउँछन्। अनि भन्न थाल्छिन्, ‘हो...। तिमीले ठिक भन्यौ अर्जुन। तिमीसंग बिहे भएको एक वर्षपछि मैले त्यो झ्यालबाट मेरो पुरानो प्रेमीको प्रतिक्षा गरिरहेकी छु। हाम्रो त्यो रमाइलो, प्रेमले भरिएको अतीत खोजिरहेकी छु। जसले मलाई धेरै माया गर्थ्यो, म उसैलाई पर्खिरहेकी छु। तिमीलाई थाहा छ अर्जुन, ऊ कहिल्यै रक्सी पिउँदैनथ्यो। उसले मेरो हरेक चाहना पुरा गरिदिन्थ्यो। हामी बीचमा धेरै विश्वास थियो। मलाई प्रेम भरिएको म्यासेज पठाइ रहन्थ्यो। घर अबेर आउँदैनथ्यो। मेरो खुसी र मेरो पीडाहरुमा सहभागी हुन्थ्यो। मलाई कहिल्यै दर्द दिँदैनथ्यो। मेरा प्रत्येक वर्षको जन्मदिनमा मलाई शुभकामना पठाउँथ्यो। मलाई लाग्छ, उसले बिहेको बन्धनमा बाँधिएर पछि पनि नारीलाई एउटा रोबट ठान्ने छैन। हो, म सधैँ त्यो झ्यालबाट उसैलाई प्रतिक्षा गरेर बसेकी हुन्थेँ। ऊ एकदिन मेरो जीवनमा अवश्य फर्केर आउला उही पुरानो प्रेमिल संसार बोकेर भन्ने विश्वासमा। तर म गलत रै छु। ऊ मेरो जिन्दगीमा कहिल्यै फर्केर आएन र आउने पनि छैन।तिमीले मेरो सिउँदो त रङ्गायौ, तर मेरो जीवनमा रङ भर्न सकेनौ अर्जुन, रङ भर्न सकेनौ। त्यसैले अब त्यो झ्याल पनि कहिल्यै खुल्ने छैन अर्जुन...कहिल्यै खुल्ने छैन। तिमी नै भन अर्जुन के तिमीले मेरो पुरानो प्रेमी ल्याइदिन सक्छौ? बिहेको बन्धनमा बाँधिएको एकै वर्षपछि ऊ हराएको छ। मैले माया गर्ने अनि मलाई माया गर्ने मेरो त्यो जीवन साथी ल्याइदिन सक्छौ? भन अर्जुन, ल्याइदिन सक्छौ?’ प्रश्नै प्रश्नका बीच गीताको स्वर आँसुका छालहरूमा भासिँदै जान्छ।