भनिन्छ, राजनीति सम्भावनाहरुको खेल हो। राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन्। राजनीतिको हरेक मोडमा शत्रु र मित्र परिवर्तन भइरहन्छन। हो, यही राजनीतिलाई सम्भावनाहरुको खेल बनाउने र अप्रत्यासित तरङ्ग पैदा गराउने एउटा शक्ति छ, जसको नाम हो सत्ता।
सत्ता यस्तो चिज हो जसले हरकोहीलाई मोहनी लगाउँछ, आफूतर्फ आकर्षित गराउँछ। कुनै पनि राजनीतिक दल सत्ताबाहिर बस्नु परे पानीबिनाको माछाझैं छटपटिन्छन्। सत्ता मोहले लालची बनेका दलहरु सत्तामा पुग्नका लागि जस्तोसुकै हर्कत गर्न पछि पर्दैनन्।
नेपालको राजनीति पनि सत्तामोहबाट अछुतो छैन। दलहरु सत्ता स्वार्थका लागि विपरित विचारधाराका दलसँग अप्राकृतिक गठबन्धन गर्नेदेखि पार्टी फुटाउनसमेत पछि पर्दैनन्।
बिहीबार निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मत परिणामको विवरण राष्ट्रपतिसमक्ष बुझाएको छ। योसँगै नेपालमा सरकार गठनको बाटो खुलेको छ।
कसको नेतृत्वमा सरकार बन्ने अझै निश्चित भइसकेको छैन। दलहरु सत्ता समिकरणका लागि दौडधुप गरिरहेका छन्। केही दलहरु आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छन् भने केही साना दलहरु कसको नेतृत्वमा सरकार बन्दा धेरै लाभ लिन सकिन्छ भन्दै नापतौल गरिरहेका छन्। सत्ताका आकांक्षीको लाइन हेर्दा लाग्छ संसद प्रतिपक्षीविहीन हुँदैछ। भइहालेतापनि कमजोर प्रतिपक्ष हुने निश्चित छ।
चुनाव जित्नका लागि मित्रता गाँसेका माओवादी केन्द्र, काँग्रेस गठबन्धनमा सरकार गठन हुने बेलामा खटपट सुरु भएको छ। यता निर्वाचनका बेला कडा शत्रुता भएका एमाले, माओवादीहरु सरकारमा सहकार्यका लागि छलफलमा व्यस्त हुन थालेका छन्।
आम निर्वाचनमा ८९ सिट जित्दै संसदको सबैभन्दा ठुलो दल बन्न सफल नेपाली कांग्रेस जसरी पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने दाउमा छ। जसका लागि उसले चुनावी तालमेल गरेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चा लगायतका दलहरुलाई रिझाइरहेको छ।
अझ सत्ता स्वार्थका लागि कांग्रेस गठबन्धनले भर्खरै संसदमा उदाएका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरुलाई रिझाउन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता लिने गरी सर्वाधिक विवादित मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ ल्याउने चेष्टा समेत गर्याे। दलहरु सत्ता स्वार्थका लागि गम्भीर प्रकृतिका फौजदारी अपराधलाई राजनीतिक रङ दिएर अपराधीलाई उन्मुक्ति दिनसमेत पछि पर्दैनन् भन्ने गतिलो उदाहरण हो यो।
यता ३२ सिट जितेको माओवादी केन्द्र पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने वा आलोपालो सरकार सञ्चालन गर्न पाउनुपर्ने भन्दै एमालेसँग छलफल गर्दै कांग्रेसलाई घुर्की लगाइरहेको छ। भने, काँग्रेस पनि एमालेसँग पनि सहकार्य गर्न सक्छौँ भन्दै माओवादीलाई धम्क्याइरहेको छ।
त्यस्तै ७८ सिट जितेको एमाले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भन्दै कहिले कांग्रेस त कहिले माओवादीलगायत अन्य साना दलहरुसँग संवादमा छ। फकाइरहेको छ।
यता साना दलहरु पनि सत्ता सहकार्यका लागि आफ्ना स्वार्थहरुको लिस्ट तयार गर्दैछन्। भर्खरै राजनीतिका आएर २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्छ भन्ने धेरैको आंकलन थियो। तर, रास्वपा पनि सरकारमा जाने मनसाय व्यक्त गरिरहेको छ। दलहरु रास्वपासँग सहकार्यका लागि अनिच्छुक देखिएका छन्। तर, रास्वपा भने सत्ताका लागि दलहरुले मुख ताकिरहेको छ।
१४ सिटे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा सहकार्य गर्न सकिने अभिव्यक्ति दिइरहेको छ। यता ६ सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टी र ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जाने घोषणा गरिसकेका छन्। ३ सिट जितेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जानका लागि बर्गेनिङ गर्दैछ। १० सिट जितेको नेकपा (एस) त झन सरकारको नेतृत्वमा समेत आफ्नो दाबी गरिरहेको छ।
यी त भए सत्तामा जानका लागि तम्तयार दलहरु। दलहरुभित्रै पनि सत्ताका आकांक्षीहरु धेरै छन्। नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। संसदीय दलको नेताका लागि बहुमत जुटाउने कसरतमा छन्।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाउमा छन्। असन्तुष्ट दलहरुलाई फकाइरहेका छन्। वाम–लोकतान्त्रिक गठबन्धन फुटाउन सके सत्तामा पुग्न सहज हुने देखेका ओली गठबन्धन फुटाउन भरपुर प्रयास गरिरहेका छन्।
यता माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार बताइरहेका छन्। विभिन्न कार्यक्रममा बोल्दै आफूले छिट्टै देशको नेतृत्व गर्ने दाबी गरिरहेका छन्।
यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत एकपटक आफूले पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन्। सबैको ध्यान सत्तामै केन्द्रित छ।