प्रचण्ड चरित्रः खुम्चिँदै ‘बार्गेनिङ पावर’, ताक्दै सिंहदरबार

सुदिप बराल

काठमाडौं
File Photo
File Photo

नेकपा माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिमागमा सम्भवतः अन्तिम ‘कुर्सी संघर्ष’ चलिरहेको छ। उनी फेरि सिंहदरबार छिर्नका लागि संघर्षको मैदानमा उत्रिएका छन्।

कुर्सी प्राप्तिका लागि सत्ता गठबन्धनकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेस र नेकपा (एमाले)सँग उनको ‘लबिङ’ जारी छ। नेपाली राजनीतिको शक्तिकेन्द्र ‘दिल्ली दरबार’ बाट फर्केलगत्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तीव्र दाैडधुप थालेका छन्। यतिबेला माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने तीव्र चाहना प्रकट गरिरहेका छन्।

सत्ता राजनीतिका चतुर खेलाडी उनी निर्वाचनपछि निकै खुम्चिएका छन्। तरपनि प्रधानमन्त्री खाेजिरहेका छन्। आजकल प्रचण्ड दैनिक जसो बालुवाटारदेखि कोटेश्वरसम्म दौडिरहेका छन्। उनी निर्वाचनको अंक गणितमा निकै तल परेका छन्। तरपनि आगामी नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने दावी गर्दै आइरहेका छन्।

प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईलाई साथमा लिएर हिँडिरहेका छन्। जनमाेर्चासहितकाे वामपन्थी शक्ति एक ठाउँमा भएकाे सन्देश लिएर कांग्रेस सभापति तथा प्रधानमन्त्रीसामु दिनदिनै धाउँछन्। बेलाबेला फकाउँछन्। पार्टी उपाध्यक्ष कृष्णबहादुर महारमार्फत् नयाँ–नयाँ कार्ड फ्याँक्छन्। देउवालाई तर्साउँछन्।

प्रचण्डले प्रधानमन्त्री देउवासँग शक्ति सन्तुलनका लागि माधव नेपाललाई छेउमा राखेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति र उपसभामुखकाे भागबण्डा खाेज्छन्। आलोपालो प्रधानमन्त्रीका लागि तम्तयार उनी संसदकाे पहिलाे कार्यकालमा साढे दुई वर्ष प्रधानमन्त्री माग्छन्। अध्यक्ष प्रचण्ड फेरि पनि कुर्सीको भारी बोकेर गठबन्धनको संवादमा जुटेका छन्।

अक्करै–अक्करको यात्रामा हिँडिरहेका छन्, प्रचण्ड। २०७४ सालकाे आम निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेकाे माओवादी अहिलेकाे निर्वाचनमा १८ सिटमा खुम्चिएकाे छ। नेपाली सत्ता राजनीतिको ‘ब्राण्ड’ उनी पदभोगी, अवसरवादी, परिवारवादी र विचौलिया पात्रहरूको महाभेलामा उभिएका छन्।

‘दिल्ली दरबार’भित्र अनेकौं खेलोमेलो गरिरहेकी देउवा पत्नी डा. आरजु राणा लैनचौरसँग निकट छिन्। गठबन्धन कायम राखेर आलोपालो भएपनि प्रधानमन्त्री हुने ध्याउन्नमा लागेका प्रचण्ड दिल्लीको समर्थन खोजिरहेका छन्। तर उनै आरजुले राेकिरहेकी छन्।

‘एक तीर दुई शिकार’ प्रचण्डको परिचित स्वभाव हो। उनी देउवा अर्थात् कांग्रेस र ओली अर्थात् एमालेसँग सत्ता गठबन्धनका लागि पनि खुला छन्। प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाको यतिबेला सारथी बनिरहेका छन्, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई। तर देउवा छाेड्न तयार छैनन्।

‘प्रचण्ड चरित्र’ स्थापित ‘सत्ताभोगी चरित्र’ हो। आलोचकहरू भन्छन्, ‘उनी नयाँदिल्लीको मन जित्न जे पनि गर्न सक्छन्। प्रचण्डको पछिल्लो ध्यान एकै ताल, एकै सुर र एकै लयमा सिंहदरबारतिरै केन्द्रित छ। वाम-लोकतान्त्रिक गठबन्धन बाेकेर उनी सिंहदरबार वरिवारि दौडिरहेका छन्। सत्ता प्राप्तिका लागि उनी कुन बाटो लाग्छन्, तस्वीर अझै प्रष्ट भइसकेको छैन। सम्भवतः स्वार्थमा देखिने केही संकेतमार्फत् आगामी बाटो तय गर्ने छन्।

प्रकाशित मिति: : 2022-12-11 08:44:00

प्रतिकृया दिनुहोस्