आज लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीबाट कार्य प्रारम्भ गर्दैछ। दिउँसो १२ बजे धुमधामका साथ औपचारिक कार्यक्रम गरेर कार्य प्रारम्भ गर्न थालेको हो।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानीको निर्णयको कार्यान्वयनलाई औपचारिकता दिँदै झण्डात्तोलन गर्नुहुने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिएका छन्।
उनका अनुसार औपचारिक कार्यक्रममा प्रदेश प्रमुख, हालका मुख्यमन्त्री, निवर्तमान मुख्यमन्त्री, निवर्तमान प्रदेश सभामुखको सम्बोधनको कार्यक्रम तय छ। आजै औपचारिक रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ। मंसिर ९ गते मात्र बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय देउखुरीमा स्थानान्तरणा गरिएको थियो।
कार्यक्रमलाई भव्य बनाउन स्थानीय कला–संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिँदैछ। जसका लागि स्थानीय तहलाई जिम्मेवारी दिइएको छ। स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर कार्यक्रमको तयारीलाई तीव्र बनाएको थियो।
जस अन्तरगत सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगन र मञ्च निर्माण लगायतको काम पूरा भएको राप्ती गाउँपालिका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक प्रकाश विष्टले जानकारी दिएका छन्।
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो। स्थायी राजधानी तोकेको दुई वर्षपछि देउखुरी उपत्यकामा प्रदेश सरकार स्थानान्तरण हुँदैछ। आजसम्म अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकारले काम गर्दै आएको थियो।
साविकको राप्ती प्राविधिक शिक्षालयको परिसरलाई प्रदेशको प्रशासनिक केन्द्र बनाइएको छ। जहाँ संसद भवनदेखि मुख्यमन्त्री कार्यालय र अन्य मन्त्रालयहरु रहनेछन्। मुख्यमन्त्री कार्यालय स्थापना भइसकेको छ भने अन्य मन्त्रालयलाई छिट्टै स्थानान्तरण गरिँदै छ।
यस शिक्षालयको परिसरभित्रबाट मुख्यमन्त्रीको कार्यालयसहित ६ वटा मन्त्रालयको काम हुनेछ। अन्य मन्त्रालयहरु परिसर बाहिर रहने प्रदेश सरकारले जनाएको छ।