वैदेशिक रोजगारीले निम्त्याएको क्रूरता: नरहे बाँस, नबजे बाँसुरी

फाइल तस्बिर
फाइल तस्बिर

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ ताक्मामा मंगलबार दिउँसै क्रूरर घटना घट्यो। ३८ वर्षीय अम्मरबहादुर आलेमगरले आफ्नै ३० वर्षीया श्रीमती मिना आलेमगरको क्रूररतापूर्ण हत्या गरे। दिउँसो ३ बजेतिर  हँसियाले श्रीमतीको टाउको छिनाएर प्लाष्टिकको झोलामा राखेर उनी घरबाट रक्ताम्ये निस्किए।

घरबाट निस्किएका अम्मरबहादुरलाई उनकै आमासहित भाउजु नाता पर्नेले देखे। भाउजुले कता जान निस्किएको सोधेपछि उनले प्लाष्टिकमा राखिएको टाउको देखाए। जुन दृष्य देखेर अम्मरबहादुरकी आमा बेहोस नै भइन्। अम्मरबहादुर भने रक्ताम्ये गाउँतिर निष्किए।

उनको गतिविधि शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। लगत्तै ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई बाटोबाटै पक्राउ गर्याे। अम्मबरबहादुर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छन्। 

मृतक मिनाको शव भने जिल्ला अस्पताल सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए। 

वैदेशिक रोजगारीले निम्त्यायो क्रूरर घटना

अम्मरबहादुर आलेमगर करिब एक दशक वैदेशिक रोजगारीमा बसेका हुन्। उनी ५ वर्ष दुबैमा र ४० महिना मलेसियामा बसे। मलेसियाबाट घर फर्किएर उनी ५–६ महिना भारतमा रोजगारी गरेर गएको बैशाखमा घर फर्किएका थिए। 

त्यसपछि उनीहरू सँगै भएको बताइएको छ। अम्मरबहादुरले श्रीमतीसँग आफ्नो कमाइको हिसाब किताब माग्दा नमिलेपछि क्रूरर घटना निम्तिएको प्रहरीको भनाइ छ। उनले विदेशमा रोजगार गरेर कमाएको पैसा घरमा पठाएको र उक्त पैसाको हिसाब श्रीमतीले नदिएपछि हत्या गरेको बयान दिएका छन्।

‘अभियुक्तले आफू ९ वर्ष विदेशमा बस्दा कमाएको पैसाको हिसाब मागेको र हिसाब बुझाउन नसक्दा झगडा भएपछि हत्या भएको बताउँछ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कार्कीले भने। साथै अम्मरबहादुरले श्रीमतीलाई परपुरूषसँग लागेको समेत प्रहरी समक्ष बयान दिएका छन्। ‘पैसाको विषय, मोबाइलमा आउने फोनको विषयमा झगडा भएको देखिन्छ,’ कार्कीले भने, ‘घटनाका विषयमा अनुसन्धान गर्न बाँकी नै छ।’

हत्या अभियुक्त अम्मरबहादुर घरका काँइला छोरा हुन्। उनका दुई जना छोराछोरी छन्। उनको ११ वर्षको छोरा र ८ वर्षीया छोरी रहेको पञ्चपुरी नगरपालिका–३ का वडाध्यक्ष बलबहादुर रोकायले बताए।

‘यस्तो घटना कसरी घट्न पुग्यो हामी पनि अचम्मित छौँ,’ उनले भने, ‘बाहिर पैसाका कारोबार नमिलेकाले श्रीमतीको हत्या गरेको भन्ने आएको छ।’ वडाध्यक्ष रोकायले घरपरिवारलाई उदृत गर्दै श्रीमान श्रीमतीबीचमा धेरै झगडा हुने गरेको पनि थाहा नभएको बताए। 

'वैदेशिक रोजगारमा गएकाहरूलाई पेन्सन व्यवस्था गर्नुपर्छ'

समाजशास्त्री माधव गौतम धन, सम्पत्ति, माया, प्रेममा मानिस आवेशमा आउने, उत्तेजित हुने स्वभाविक स्वभाव रहेको बताउँछन्। ‘मानिस धन, सम्पत्ति, माया, प्रेममा आफूले भनेको जस्तो भएन भने आवेशमा आउने, मार्ने, मर्ने गर्छन्,’ उनले भने, 'यो मानिसको स्वभाव हो र यहि स्वभाव अन्तरगर्त नै सुर्खेतको घटना घटेको हो।’

विदेशमा दुःख गरेर कमाएको पैसा नहुँदा कसैलाई रिस उठ्नु स्वभाविक रहेको उनको तर्क छ। जुन स्वभावले ‘नरहे बाँस, नबजे बाँसुरी’ भन्ने गरी मानिस जे पनि गर्न तयार हुने उनी बताउँछन्। यस्तो स्वभाव विशेष गरेर पश्चिमा संस्कृतिको नेपालमा पारेको असरका रूपमा उनी बुझ्छन्। 

अझै पनि यस्तो घटना बढ्दै जाने समाजशास्त्री गौतमको भनाइ छ। उनले यस्ता घटना घटाउन पश्चिमा संस्कृतिको प्रभाव रोक्नु पर्ने, नेपालमा रोजगार सृजना गर्नु पर्ने बताउँछन्। साथै विदेशबाट फर्किएकाहरूलाई वा घरमा वैदेशिक आयश्रोत उपभोग गरिरहेकाहरूलाई सचेतना जगाउनु पर्ने गौतमले बताए। 

विशेष गरेर वैदेशिक रोजगारमा गएकाहरूको पेन्सनको व्यवस्था गर्न सके आवेशमा आउने घटनामा कमि हुने उनी बताउँछन्। 

‘सरकारले हस्तक्षेप गरेर भए पनि कसले कति पैसा पठाउँछ, त्यसैअनुसार अब वैदेशिक रोजगारमा गएकाहरूको पनि पेन्सनको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसले घरमा फर्कदा कत्ति पनि पैसा छैन भन्ने हुने छैन र यस्ता घटनामा कमि ल्याउन सहयोग गर्नेछ।’

प्रकाशित मिति: : 2022-12-07 22:25:00

प्रतिकृया दिनुहोस्