स्कुल पढ्दा मलाई कहिले पाइलट बन्न पाए हुन्थ्यो अनि कहिले इन्जिनियर बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। विज्ञान विषय पढाउँदा वैज्ञानिक नै बनिन्छ जस्तो लाग्थ्यो। तर त्यो सिकाइ कक्षा पास गर्न र राम्रो अङ्क ल्याउनमा मात्र सीमित रह्यो।
मेरा केही साथीहरुलाई पनि त्यस्तै लाग्थ्यो। अचेल म आफैँले साना नानीबाबुहरुलाई तिमीहरु पछि गएर के बन्छौ? भनेर सोध्छु र जवाफ मेरो वा मेरो बाल्यकालका साथीहरुको जस्तै तयारी अवस्थामा आउँछ। प्राय सबैलाई डाक्टर, इन्जिनियर वा पाइलट बन्नुपर्ने। तर हाम्रो वातावरण, राज्यको दीर्घकालीन सोच अनि विद्यालयको भौतिक अवस्था हेर्दा के हाम्रा सबै विद्यालयहरुले बालबालिकाहरुले सोचे जस्तै डाक्टर, इन्जिनियर वा पाइलट उत्पादन गर्न सक्ला त? निश्चित रुपमा यो कठिन छ।
खासगरी पर्याप्त रुपमा विद्यालयमा भौतिक संरचनाको कमी हुनु, विज्ञान प्रयोगशालाको एवम् उपकरणको कमी, खोज एवम् अध्ययनका लागि दक्ष जनशक्ति र वातावरण नहुनु, पर्याप्त सिकाइ सामाग्रीको अभाव आदि जस्ता न्यूनतम कुराको कमीले बालबालिकाहरुका ती सपनाहरु पुरा गर्न चुनौती छ।
प्रारम्भिक कक्षामा शुद्धसँग पढ्न सक्ने अनि पढेर बुझ्न सक्ने विद्यार्थीको संख्या नै न्यून छ। अनि राम्रोसँग पढ्नै नसक्ने ती कलिला नानीबाबुहरु कसरी बन्न सक्लान् त डाक्टर, इन्जिनियर, पाइलट? अचम्म लाग्ने कुरा सबैलाई वैज्ञानिक बन्नुपर्ने तर हामी विज्ञानसँग किन नजिक हुन सकेनौँ?
खासगरी विज्ञान विषय वा कक्षा-कोठामा सिकाइने विषयवस्तुमा मात्र सीमित रह्यो। त्यो प्रयोगात्मक बन्न सकेन। विद्यार्थीको दैनिक जीवनको आधार बन्न सकेन। विज्ञानलाई जटिल विषय बनाइयो।
ढुङ्गे युगमा आगोको आविष्कार पनि मानव जीवनको आवश्यकताकै निम्ति बनेको हो र यो समकालीन समाजका आवश्यकतासँगै निर्मित हुने कुरा हो भनेर बुझाउन सकिएन। जतिबेला प्रविधिको विकास भएको थिएन। सञ्चारमा सबैको पहुँच थिएन। फेसबुक, युट्युब, टिकटक, स्काइप, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुको विकास भएको थिएन। त्यतिबेला मान्छेहरु कसरी सञ्चार गर्दा हुन् र? यी विविध विषयमा अहिलेका बालबालिकाहरुले चिन्तन गर्छन् होलान् कि नाई? गर्नु पर्ला कि नाई?
नेपाली समाजमै दही जमाउन ठेकीको प्रयोग, धान कुट्न ढिक्की, पिठो बनाउन पानीघट्ट, शिकार गर्न गुलेली वा तेल पेल्न दुनाको निर्माण गर्छन्। के हाम्रा पुर्खाहरुले कुनै चिन्तन, आविष्कार र परिकल्पना नगरिकनै बनाएका हुन् त? पक्कै होइनन्। ती मानवीय जीवनका आवश्यकता पूर्ति गर्न बनेका हुन्। खोज, अध्ययन मानव जीवनको एक विशिष्ट क्षेत्र हो।
ग्रामबेलले सञ्चार टेलिफोनको आविष्कारको नगरी दिएको भए के हुन्थ्यो होला? कोलम्बसले अमेरिका पत्ता नलगाएको भए के हुन्थ्यो होला? राइट दाजुभाइले जहाज नउडाएको भए के हुन्थ्यो होला? के हामी अहिले अमेरिकाका लागि डि.भी. भर्न भिडमा बस्थ्यौं होला त? आइस्टाइनले गुरुत्वाकर्षणको नियमको पत्ता नलगाएको भए हामी सबैका टाउकामा कति चोट लागिसकेको हुन्थ्यो होला सोचौं त? ढुङ्गे युगमै आगो बाल्ने तरिकाको विकास त भएकै हो। समकालीन समाजका आवश्यकताहरुलाई सहज बनाउन विज्ञानले सहायता गर्दछ।
मानव जीवनको विकासक्रमसँगै विज्ञानले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिराखेकै हुन्छ। विज्ञानले सबैकुरालाई सहज बनायो तर हामीले विज्ञानलाई कसरी प्रयोग गर्यौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। विशेषतः बालबालिकाहरुले सानै उमेरदेखि विज्ञान र प्रविधिको उच्चतम प्रयोग कसरी गर्छन्? अभिभावकहरुले यसको व्यस्थापन गर्न कस्तो भुमिका निर्वाह गर्छन् त्यो कुरा महत्वपूर्ण छ।
अधिकांश अभिभावकहरु मेरो छोराछोरी त युट्युब नहेरी खानै खान्न भन्छन्। हो, क्षणिक रुपमा यसले खाना खुवाउन सहज होला तर यसले दीर्घकालीन रुपमा कस्तो असर गर्छ भन्ने कुराप्रति हामी त्यतिकै सचेत हुन पनि आवश्यक छ। क्षणिक समयमा हुने मनोरञ्जन वा गराइने मनोरञ्जनले भविष्यमा पर्ने असरप्रति सचेत नभइदिँदा विज्ञान वा प्रविधिप्रति हाम्रो वितृष्णा बढेको छ तर ढुङ्गे युगबाट एक्काइसौं शताब्दीमा आइपुग्दा मानव जीवनमा पारेको सकारात्मक असरबारे पनि कृतज्ञ हुनुपर्छ।
विज्ञानप्रति हाम्रो सोचाइ संकिर्ण भयो र हाम्रो वातावरणले हामीलाई प्रभाव पार्यो। जसले गर्दा कुनै पनि क्षेत्रमा चिन्तन गर्ने, खोज गर्ने बानीको विकास हुन सकेन। विद्यालयस्तरमै विज्ञानप्रति अभिरुचि जोगाउन आवश्यक छ। हामीले स्मार्ट बोर्ड, प्रोजेक्टर र कम्युटरबाट गरीने शिक्षण सिकाइलाई मात्रै विज्ञान र प्रविधिको विकास मान्यौं। तर ती वस्तुहरु के बाट निर्मित छन्? कसरी बन्दछन्? र ती वस्तुहरु बिग्रिए भने कसरी निर्माण गर्ने? भन्ने कुरा सिकाउन सकेनौं।
आज हरेक दिन तीव्र रुपमा विज्ञान र प्रविधिको विकास भइरहेको छ। विकसित देशले त्यसलाई आफ्नो अर्थतन्त्र सुधारसँग जोडेका छन्। जटिल किसिमको श्रममा संलग्न श्रमिकहरुको कार्यभारलाई कम मात्र गरेका छैनन्, त्यसले श्रमिकहरुलाई सुरक्षित राख्ने र मानव अधिकारको प्रत्याभूति गराउने काम पनि गरेको छ। तर अति कम विकसित वा विकासोन्मुख देशले उनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा झन् गरीब हुँदै जाने सम्भावना बढी छ।
बढ्दै गइरहेको विश्वव्यापीकरण विशेषतः शिक्षा क्षेत्रमा भएको विश्वव्यापीकरण र मस्तिष्क पलायनले असमानताको गहिरो खाडल बनाएको छ। त्यसको प्रत्यक्ष रुपमा कम विकसित देशका नागरिकको जीवनमा असर पर्न जान्छ। नेपालकै उदाहरण दिने हो भने हाम्रो वैदेशिक ऋण बढ्दै गइरहेको छ तर देशमा उद्योग कलकारखाना वा उत्पादन हुन नसक्दा निर्यातभन्दा आयात बढ्दै जाँदा अर्थतन्त्र झन् कमजोर बन्दै गइरहेको छ।
दैनिक हजारौं युवाहरु पलायन हुँदैछन्। यसले राज्यको समग्र प्रणालीलाई निष्क्रिय पार्न सक्छ। यसका लागि हाम्रा बालबालिकाहरुलाई सानै उमेरदेखि राज्यप्रति नागरिकको दायित्वका विषयमा प्रशिक्षित गरिनु पर्दछ। आविष्कार एवम् अध्ययन अनुसन्धानलाई अर्थतन्त्रको सुधारसँग जोड्न नसक्दा राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीले परिणाम दिन असफल छ।
एकातिर विज्ञान वा प्रविधिमा राज्यले फड्को मार्न नसक्दा अर्थतन्त्रमा सुधार हुन सकेको छैन भने अर्कोतिर हाम्रा बालबालिकाहरु बालविवाह, बालश्रम, छाउपडी प्रथा, लैङ्गिक विभेद वा लिङ्गका आधारमा हिंसा, कुपोषण, आत्महत्या जस्ता विकराल समस्याहरुको शिकार हुन बाध्य छन्। प्राकृतिक प्रकोप, सशस्त्र युद्ध, रासायनिक पदार्थको उचित व्यस्थापन नहुँदा अकालमै ज्यान गुमाउन बाध्य भएका छन्।
प्रभावकारी शिक्षण सिकाइ नहुँदा अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न सकेका छैनन्। त्यसले जीवन पर्यन्त सिकाइ वा दिगो सिकाइ हुन सकेको छैन। यसका साथै न्यूनतम गणितीय सीप एवम् भाषिक सीपमा दक्षताको विकास हुन नसक्दा विद्यालय तथा विश्वविद्यालयस्तरको शिक्षासम्म पुग्न सकेका छैनन्। जसले गर्दा गलत बाटोतिर लाग्न बाध्य भएका छन् वा बाध्य पारिएका छन्। विश्वव्यापीकरणको यो समयमा विश्वबजारमा आफूलाई प्रतिस्पर्धी बनाउन सकिरहेका छैनन्।
खासगरी अभिभावकहरुमा निरक्षरता, परम्परागत हानिकारक अभ्यासहरु विद्यमान रहनु, चरम गरिबी, रोजगारमूलक एवम् जीवन उपयोगी प्राविधिक शिक्षाको कमी हुनुले पनि बालबालिकाको उचित विकासमा टेवा पुग्न सकेको छैन। अशिक्षा र गरिबी प्रमुख कारण मानिन्छन्। यसका साथै राज्यले बालबालिका माथिको उचित लगानी नगर्नु, बनेका नीतिको प्रभावकारी कार्यान्वयन एवम् स्रोतको असमान वितरणले समतामूलक विकासमा गम्भीर असर पारेको छ।
आफ्नो स्रोत, साधन एवम् क्षमताको विश्लेषण नगरी अन्तर्राष्ट्रिय स्तरमा सन्धि-सम्झौता गरिनु तर सोअनुसार बनेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि राज्यका लागि चुनौती रहेको छ।
नेपाल जस्ता कम विकसित राष्ट्रहरु जो गरिबीको कुचक्र एवम् वैदेशिक ऋणको मारमा छन्। त्यस्ता मुलुकहरुमा विद्यालयस्तरबाटै बालबालिकाहरुका लागि कमाइ खाने शिक्षाको प्रावधान गरिनु आवश्यक छ। खोज एवम् अनुसन्धानलाई तल्लो कक्षाबाटै सुरु गरिनु पर्दछ। वैज्ञानिक आविष्कार एवम् अन्वेषणका क्षेत्रमा उचित बजेट विनियोजन गरिनु पर्दछ। अब शिक्षा विद्यालयमा होइन, खेतबारीमा गएर दिइनुपर्दछ। कृषिमा आधुनीकीकरण एवम् नविनतम् सोचका बारेमा बहस गर्ने वातावरण सृजना गरिनु पर्दछ।
जलस्रोतको सम्पन्न देश बालबालिकाहरुलाई खोलामै लगेर सिकाइनु पर्दछ। बालबालिकाहरुको नेतृत्व विकासका लागि अभिभावक एवम् स्थानीय समुदायको भूमिकालई सशक्त बनाइनु पर्दछ। स्थानीय ज्ञान, सीप एवम् उपलब्ध स्रोत साधनबाट स्थानीय पाठ्यक्रमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त विज्ञबाट निर्माण गरिनु पर्दछ। जसको प्रभावकारी कार्यान्वयन हुन सकोस्। जलवायु परिवर्तनको प्रभाव मानव जीवनमा प्रत्यक्ष रुपमा परिराखेको सन्दर्भमा अब बालबालिकाहरुलाई सोअनुसार अनुकुल हुन सक्ने ज्ञान, सीप र कलामा निपूर्ण गरिनु पर्दछ।
बालबालिकाहरुको सशक्तिकरणका लागि विभिन्न निकायहरुबीच साझेदारीका माध्यमबाट शिक्षा, स्वास्थ्य, जीवनोपयोगी सीपमा आधारित शिक्षाको प्रावधान गरिनु आवश्यक छ। विज्ञानको तीव्र विकाससँगै परम्परागत मूल्यमान्यताको निराकरण गर्न राज्यले सन्तुलित नीति, कार्यक्रम एवम् मापदण्डहरु निर्माण गर्नु पर्दछ। सरोकारवाला निकायहरुलाई थप जिम्मेवार बनाउन एवम् सेवा प्रवाहको प्रणालीमा सुधार ल्याउन निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागीता एउटा उत्तम विकल्प हुन सक्छ।