दरबारकी धाईआमालाई घाइते बनाएर घरमा लुटपाट, ३५ लाखको सुनको गिलाससहित लाखाैँको धनमाल लुटियो

BreaknLinks
BreaknLinks

काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित बसुन्धारामा पर्खालले घेरिएको एउटा भव्य घर छ। केही समयदेखि त्यहाँ चार जना महिला मात्र बस्दै आएका छन्। प्रत्येक दिन साँझ परेपछि त्यो घरको ढोका बन्द हुन्छ। अर्थात ७ बजेपछि घरभित्र मानिसको आवतजावत कमै हुन्छ।

कार्तिक २७ गते साँझ साढे ६ बजेतिर घरको गेटमा कसैले घण्टी बजाउँछ। कोही आएछ भन्दै भित्र भएका मानिसले हेर्छन्। केही समय गेटमा नै भलाकुसारी चल्छ। तर बाहिरबाट पुगेका ७/८ जना मानिस एकाएक घरभित्र छिर्छन्। त्यसपछि केही घण्टा घरभित्र कोलाहल मच्चिन्छ। तर त्यो पर्खालभित्रको आवाज सुनेर बाहिरबाट कोही मानिस पुग्दैनन्।

केही घण्टापछि भित्र छिरेका मानिस घरभित्रको नगद र सुन चाँदी लुटेर निस्किन्छ। त्याे घर मधुर विक्रम खनालको हो। मधुर घरभित्र हुँदैनन्। उनकी श्रीमती नन्दा मल्ल मात्र हुन्छिन्। नन्दाले लामो समय दरबारमा धाईआमाको रुपमा काम गरेकी थिइन्।

लुटेरा हिँडेपछि पौने १० बजेतिर मात्रै प्रहरीलाई लुटपाट भएको सूचना आउँछ। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्छ। घरभित्र नन्दा घाइते अवस्थामा भेटिन्छिन्। प्रहरीले उनलाई तत्कालै अस्पताल पुर्याउँछ। अहिले पनि नन्दाकाे आइसियूमा राखेर उपचार गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहाेराले जानकारी दिए।

‘योजना बनाएर लुटपाट गर्ने गरी मानिस घरभित्र छिरेको देखियो। धारिलो वस्तुले प्रहार गरेर घरधनीलाई घाइते बनाइएको छ’, एसएपी बोहाेराले भने। लाखाैँको मालसामान र ज्यान मार्न खोजेपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सरु गर्याे। प्रविधिको प्रयोग गरेर महानगरीय प्रहरी वृत महाराजगञ्जबाट प्रहरी टोली खटियाे। त्यसको तीन दिनपछि प्रहरीले १० जनालाई पक्राउ गर्न सफल भयाे।

पक्राउ पर्नेमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २६ वर्षीय तिलक बहादुर शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, कालिकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्व राज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्र बहादुर शाही, २७ वर्षीय पन्च बहादुर सिंह रहेका छन्। यस्तै, सुर्खेत घर भएकी १९ वर्षीया कविता बुढा र २१ वर्षीया दिपिका मल्ल शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रकाउ परेकामध्ये केही व्यक्ति नन्दा मल्लका आफन्त भएको खुलेका प्रहरीले बताएकाे छ।

‘घरमा सम्पत्ति भएको थाहा पाएपछि घरभित्रकै केही व्यक्तिले सुचना दिएर घटना घटाएको देखिन्छ’, एसएपी बोहाेराले भने। घटनाको मुख्य योजनाकार पवन भन्ने पन्च बहादुर सिंह भएको खुलेको छ। त्यस्तै घरभित्र काम गर्न बसेकी कविता बुढाले लुटेरा समूहलाई सबै जानकारी दिएको अनुसन्धानमा खुल्न आएको पहरीले जानकारी दिएकाे छ।

कविताले परिवारका सदस्यहरु कतिखेर के गर्छन् भन्ने सम्पूर्ण जानकारी लुटेरा समूहलाई दिएको प्रहरीको प्राविधिक अनुसन्धानले पुष्टि गरेको एसएसपी बोहाेराले बताए। लुटेरा समूहले घरभित्र रहेको ३८ तोलाको सुनको गिलास, सुनको तिलहरी, हिरा जडित हार, नगद २ लाख १३ हजार रुपैयाँ लुटेका थिए।

प्रकाशित मिति: : 2022-11-24 18:31:00

प्रतिकृया दिनुहोस्