हारै–हारमाथि विश्वकाे जित !

सुदिप बराल

काठमाडौं

झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। शर्मा एमालेका उम्मेदवार अग्नि खरेललाई १४ हजार २ सय ७५ मतले पछि पार्दै विजयी भएका हुन्।

शर्माले ४९ हजार ६ सय २४ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्द्वी अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाए।

२०७० सालमा एमालेका रवीन कोइराला र २०७४ सालमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका शर्मा तेस्रो पटकको लडाइमा भने जित निकाल्न सफल भएका छन्।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माको यो जित धेरै हारपछिको जित हो। शर्मा निकै संघर्षशील र सहनशील नेता मानिन्छन्।

हार पनि सहजै स्वीकार्न सक्ने र कसैप्रति नकारात्मक भाव नराख्ने राजनीतिक संस्कारका कारण शर्मा परिचित छन्।

विश्वप्रकाश शर्मा निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। उनी बाहिर मात्र होइन, पार्टीभित्रका गलत कदमको पनि खुलेरै आलोचना गर्छन्।

विद्यालय तहदेखि नै राजनीति सुरु गरेका शर्मा ०४७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा जिल्ला सभापति हुँदै २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बने।

सदस्यबाट महामन्त्री, उपाध्यक्ष हुँदै नेविसंघको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए।

कांग्रेसको १२औं महाधिवेशनका लागि झापा जिल्ला अधिवेशनमा पार्टी सभापतिमा पराजय भोगे। शर्मा १३औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य हुँदै चौधौं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए। उनले कांग्रेस प्रवक्ताको भूमिका पनि निर्वाह गरिसकेका छन्।

शर्मा बहुआयामिक नेता हुन्। उनी राजनीतिका अलावा समाजसेवामा पनि सक्रिय छन्। गीत/संगीतको पनि रचना गर्छन्।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी राजनीतिसँगै व्यवसायमा पनि सक्रिय छन्। शर्मा काठमाडौंभन्दा धेरै समय झापामै बिताउँन रुचाउँछन्।

प्रकाशित मिति: : 2022-11-23 18:38:00

प्रतिकृया दिनुहोस्