मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- मतदान कसरी गर्ने थाहा छैन

File photo
File photo

मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन्। मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्।

उनले भनिन्,´यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन। पहिले पहिले त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो। यसपालि त काेही आएनन्।' 

राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताइन्। उनले भनिन्,´मलाई भाेट हाल्नु भनेर त धेरै आए। तर, मत कसरी हाल्ने कसैले सिकाएनन्।' सिंगाे परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उनको भनाइ छ।

पाँच वर्षमा चुनाव आउँछ। मत हाल्ने तरिका सधैं फरक हुन्छ। उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूकाे भनाइ छ। राजविराज- २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भाेट खसाल्न जानु की नजानु भएकाे बताइन्।

उनले भनिन्,´हामी त झन वृद्धाअवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन्।' तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्याधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको  उनको भनाइ रहेको छ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकाले मतहाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिका बारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2022-11-19 15:22:00

प्रतिकृया दिनुहोस्