फेसबुकमा प्रचार गरिदै नेपालको चुनाव : भैसक्यो ६७,०३६ डलर खर्च

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपालको आमचुनावको क्रममा फेसबुक प्रचारप्रसारका लागि ६७ हजार ३६ अमेरिकी डलर खर्च भएको छ । 

फेसबुकको प्यारेन्ट संस्था मेटाले आफ्नो मेटा एण्ड लाइब्रेरी रिपोर्टमार्फत् यो खर्च विवरण सार्वजनिक गरेको हो । 

रिपोर्टअनुसार सेप्टेम्बरयता पाँचहजार पाँचसय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन बुस्ट गरिएको छ । मेटाले यसलाई निर्वाचन र राजनीति क्षेत्रसँग जोडेर गरेको सशुल्क विज्ञापन भनेको छ । 

फेसबुक विज्ञापनका लागि सबैभन्दा बढी खर्च गर्ने उम्मेद्वारमा काठमाडौं ५ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्वार श्रीराम गुरूङ पहिलो स्थानमा रहेका छन् । उनले तीनहजार एकसय २५ डलर खर्च गरेका छन् । यसैगरी दोस्रो स्थानमा त्यही क्षेत्रका स्वतन्त्र उम्मेद्वार सुशील श्रेष्ठले दूई हजार दुईसय ३८ डलर खर्च गरेका छन् । तेस्रो स्थानमा भने एमालेका भोजपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेद्वार डा.सुरेश बस्नेत रहेका छन् । उनले एकहजार आठसय डलर खर्च गरेका छन् ।

यसगरी नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर, राष्ट्रिय स्वतन्त्र पार्टीकात काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीले नौ सय ३७ डलर, काठमाडौँ क्षेत्र नं ५ प्रदेश (ख) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले नौ सय चार डलर,  सोमप्रसाद पाण्डेले  आठ सय ४२ डलर, प्रदीप पौडेलले सात सय १७ डलर, अनुप बोहराले छ सय ७८ डलर, रन्जु दर्शनाले छ सय ६६ डलर र उपेन्द्र यादवले छ सय ५२ डलर,  रवीन्द्र मिश्रले पाँच सय ३५ डलर खर्च गरेका छन् ।

नेपालभित्र बसेका व्यक्तिले बढीमा वर्षमा पाँचसय डलरसम्म कानूनी रूपमै खर्च गर्न पाउँछन् । तर, यसपटकको चुनावमा एकैजना उम्मेद्वारले तीन हजारभन्दा बढी खर्च गरेको देखिन्छ । यो खर्च विदेशमा रहेका आफन्त र साथीभाइहरूले नै खर्च गरेको अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2022-11-15 07:14:00

प्रतिकृया दिनुहोस्