राजनीतिक यात्रामा अघि बढिसकेँ, आफ्नाे ठाउँकाे विकास गरेरै छाड्छु: सोविता गौतम

ममता आचार्य

काठमाडौं
BreaknLinks
BreaknLinks

काठमाडाैँ क्षेत्र नं. २ निवार्चनकाे विशेष क्षेत्र अन्तर्गत पर्छ। प्रत्येक निर्वाचनमा क्षेत्रमा याे क्षेत्र चर्चामा रहन्छ। याे क्षेत्रमा देशका शीर्ष नेताहरुले पनि पराजय भाेग्दै आएका छन्। करिब ८२ हजार मतदाता रहेकाे याे क्षेत्र काठमाडाैँ महानगरपालिका र कागेश्वरी मनाेहराका केही वडा तथा शंखरापुर नगरपालिकामा पर्छ। याे निर्वाचन क्षेत्रमा यसपटक पनि राेचक प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ।

यही विशेष क्षेत्रकाे चुनावी प्रतिस्पर्धामा रहेकी छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी साेविता गाैतम। उनी अन्य पार्टीका शीर्ष नेताहरुलाई चुनाैती दिँदै चुनावी मैदानमा सक्रियताका साथ लागिरहेकी छन्। उनै सविता गाैतमसँग बिएल नेपाली सेवाकाे लागि ममता आचार्यले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ: 


तपाईंकाे उम्मेदवारी किन ?

म यसै क्षेत्रमा हुर्केको हुनाले यस क्षेत्रका समस्याको विषयमा बढी जानकार छु, यसकारण पनि म यो क्षेत्रका मुद्दा संसदसम्म पुर्‍याउन र आवश्यक कानुन निर्माणको लागि आवाज उठाउन चाहन्थेँ। त्यसमाथि पनि मेरो पार्टीले नै मलाई यहाँबाट उम्मेदवार बनाउने निर्णय गरेपछि मेरा लागि सहज भयो।

तपाईंकाे पार्टी पनि नयाँ, तपाईंकाे उम्मेदवारी पनि पहिलाे, मतदातामाझ कसरी प्रस्तुत भइरहनु भएकाे छ ?

पूर्णकालीन राजनीतिमा नहोमिए पनि स्कुल पढ्दादेखि नै म मा राजनीतिक चेत थियो। कुनै नकुनै दिन यहाँसम्म पुग्छु भन्ने मानसिकता अनुसार तयारीमा थिएँ। पार्टीको बृहत राजनीतिक अवधारणा र काठमाडौं क्षेत्र नं. २ मा विशेष योजनासहित म जनतामाझ प्रस्तुत भइरहेकी छु। त्यसरी जाँदा हामी पूर्णरूपमा निर्वाचन आयोगका आचारसंहिता पालना गर्दै हाम्रा कार्यक्रम लिएर गएका छौँ।

काठमाडौं क्षेत्र नं. २ का मतदाताले तपाईंलाई जिताउनुपर्ने कारण के हो ?

देशको राजधानी भनेर काठमाडौँलाई विकसित सहरको रुपमा परिभाषित गरिए पनि सिन्धुपाल्चोक जिल्लासँग सीमाना जोडिएका नाङलेभारे, पटाप आदि अतिविकट गाउँहरु पनि यसै क्षेत्रमा पर्छन्। उपत्यकाभित्रै यस्ता विकट गाउँ छन् भन्दा जो कसैले पत्याउँदैनन्। त्यस्तो अवस्था किन आयो ? फेरि पनि पुरानैलाई जिताएर यहाँका मतदाताले उहाँहरूबाट के अपेक्षा राख्ने ? म त कानुनको विद्यार्थी, राजनीतिमा आउनुभन्दा अगाडि एउटा अधिवक्ता र पत्रकारको रुपमा काम गरिसकेको छु। नीति निर्माणको तहमा बसेर कानुन बनाउने विषयमा योग्य छु। मैले आफ्नो बालापन बिताएको यो ठाउँका मुद्दाबारे म जानकार छु। यसर्थ, म यस क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गर्दै यहाँका स्थानीय मुद्दालाई नीति तथा बजेट निर्माणको तहसम्म पुर्‍याएर पैरवी गर्न सक्छु।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

मतदाताहरु आफ्ना पुराना प्रतिनिधिबाट दिक्छ हुनुहुन्छ। उहाँहरु नयाँ र क्षमतवान युवा नेतृत्व चाहनुहुन्छ। उहाँहरुले राजनीतिमा विकल्प खोजिरहनु भएको छ र हामी विकल्पको रुपमा आएका छौँ। यस अर्थमा उहाँहरु हामीप्रति सकारात्मक हुनुहुन्छ। जति जनासँग भेट भएको छ, उहाँहरु आफ्नै पार्टीमा रहे पनि यसपाली भोट चाहिँ परिवर्तन गर्छु भन्नुभएको छ।

सबैबाट राम्रो प्रतिक्रिया पाएको छु। योबाट मलाई अझ धेरै हौसला प्राप्त भएको छ।

चुनाव हार्नु भयाे भने तपाईं राजतीतिक यात्र कता जान्छ ?

म पूर्णरुपमा राजनीतिमा प्रवेश गरिसकें। त्यसकारण मेरो राजनीति चुनावी परिणामसम्म मात्र सिमित हुँदैन। परिणाम जस्तो आएपनि त्यसलाई शिरोपर गरेर यसै क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट निरन्तर लागिरहने छु।

अन्त्यमा, मतदातालाई के भन्नुहुन्छ ?

हामी सधैं परिवर्तन चाहियो, परिवर्तन चाहियो मात्र भन्छौँ तर आफू परिवर्तन हुन सक्दैनौं। अब हामी युवा राजनीतिमार्फत देशको मुहार फेर्न आइसकेका छौँ। यसपटक तपाईंहरू आफ्नो मत परिवर्तन गर्नुस्, तपाईंहरुले चाहेको परिवर्तन हामी गरेर देखाउँछौं।

प्रकाशित मिति: : 2022-11-14 21:55:00

प्रतिकृया दिनुहोस्