राजधानी खोसेर लैग्यो डोटी दिपाइलको, फर्काइ ल्याउने नेता कोइ छ कि जन्म्याको ?

हेमन्त विवश

काठमाडौं

विगत लामो समयदेखि राजधानीका विभिन्न संञ्चार गृहमार्फत् डेउडा गीतको कार्यक्रम सौंराई चलाइरहेका मेरा मित्र कृष्ण मल्लले एउटा गीत पठाए। गीत धेरैपल्ट सुनेँ, जति सुने पनि मन अघाएन। कृष्ण मल्ल डेउडा गीतका पारखी मात्र नभएर काठमाडौँका एफएममा डेउडा कार्यक्रम चलाउने पहिलो कार्यक्रम सञ्चालक पनि हुन्। रेडियो एचबिसीमा उनको कार्यक्रम सुन्ने स्रोताको संख्या ठूलै थियो। त्यो कार्यक्रम सुनेरै गायन क्षेत्रमा प्रवेश गरेका केही गायक गायिकाहरू पनि छन्। त्यो पाटो आगामी दिनमा  प्रष्ट्याउला। यतिखेर ठाडी भाकाका चर्चित गायक भुवन दाहाल र समाजको बेथिति र बिसङ्गतिविरुद्ध आफ्नो बुलन्द आवाज पस्किदै आएका गायक गोपाल सुचिकारको गीत बजारमा नआउँदै सुन्ने मौका दिएका छन् मल्लले। जहाँ जीवन छ। जगत छ। अन्तमा यो समयको जवरजस्त प्रश्न छ डोटेली जनताका लागि।

उसो त जिन्दगी स्वयम प्रश्नहरूको थुप्रो हो। यहाँ जन्मदेखि मृत्युसम्म कैयौं प्रश्नहरूले बास गरिरहेका हुन्छन्। प्रश्न उब्जिन्छन् र त उत्तरको खोजी गर्छ मान्छे। प्रश्नले नै त देखाउँछ जवाफी मार्ग। संघर्षको चौतारो अनि मनन्योग्य समय। चर्चित डेउडा गायक भुवन दाहाल र गोपाल सुचिकारले यसपटक समाजलाई छोडेको प्रश्न हो, जन्मभूमि र विगतको इतिहास झझल्को। यी दुई जना गायकले आफ्ना कर्णप्रिय स्वरले श्रोताको मन छुने काम त अन्य गीतमार्फत पहिले पनि गरेकै थिए। यसपटक इतिहास सम्झाउँदै हृदय तरलित पार्ने गरी तयार पारिरहेका छन् ठाडी भाकाका माध्यमबाट जन्मभूमिको सुन्दरता, विगतको याद, र पर्यटकीय स्थलको महिमा। सुरुदेखि अन्तसम्म पूरै गीत सुन्दै जाँदा एउटा गजबको कथा भेटिन्छ गीतभित्र। डोटेली संस्कृति र सभ्यताको पाटो बोकेको छ गीतले। डोटेली संस्कृति र पर्यटनका गन्तब्यहरूको गोरेटो देखाउँदै ९ वटै पालिका र त्यहाँ भएका मनमोहक पर्यटकीय स्थलहरूको चर्चा गरिएको छ। यसरी चर्चा गर्ने क्रममा अन्तमा संवेदनशील मनहरूलाई सोच्न बाध्य तुल्याएर प्रश्न तेस्र्याइएको छ। जुन एउटा गहन र मर्मस्पर्शी प्रश्न कलात्मक ढंगले तेर्सिएको छ।

राजधानी खोसेर लैग्यो डोटी दिपाइलको 
फर्काइ ल्याउने नेता कोइ छ कि जन्म्याको ?

त्यो त्यही प्रश्न हो जसको खोजीमा विगत केही वर्षदेखि प्रश्नमाथि प्रश्न तेस्र्याइरहेका छन् उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्का पनि। खड्काले सामाजिक संञ्जालमार्फत बारम्बार उठाएको प्रश्न पनि यस्तै थियो। प्रदेश राजधानी किन खोसियो ? कसले खोस्यो ? दोषी को-को हुन् ? यहाँ किन नेता जन्मेनन् ? लगायतका तमाम प्रश्न। आजको मितिसम्म तेस्र्याइरहेकै छन् नरेन्द्र खड्का। यसरी प्रश्न तेस्र्याउँदा तेस्र्याउँदै उनी यसपल्ट आफैं स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मौदानमा उत्रेका छन्। खुकुरी उनको चुनाव चिन्ह हो। खुकुरी गोर्खालीको शान हो। पूर्खाको निशानी हो। अन्यायका विरुद्धमा उठाइने हतियार पनि हो, यहाँ भन्न खाेजिएकाे खुकुरी स्वाभिमान र विचारकाे खुकुरी हाे। त्यसैले यहाँ खुकुरी आफैंमा एउटा जवरजस्त प्रश्न बनेर देखा परेकाे छ। उनी चुनावी खुकुरी चलाउन कतिको सफल हुन्छन् हेर्न बाँकी नै छ। यतिखेर उनी घरघरमा गएर प्रश्न गरिरहेका छन्। उनका हालसम्मका क्रियाकलाप हेर्दा उनी एक इमानदार, स्वाभिमानी, अन्याय, अत्याचार र माटोको अस्मिता माथिको आक्रमणविरुद्ध आवाज उठाउने मध्यमा पर्दछन्। नरेन्द्र प्रतिनिधि पात्र हुन् त्यस समाजका जो बारम्बार प्रश्न गरिरहेका छन्।

डोटी शब्दले हालको डोटी जिल्लालाई मात्रै जनाए पनि विगतमा डोटी शब्दले डोटी राज्यलाई जनाउँथ्यो जसले हालको मध्य तथा सुदूरपश्चिमका कैयौ क्षेत्रदेखि हालको भारतमा पर्ने सिङाई, कुमाऊँ र गढवालको केही भूभाग समेत ओगटेको थियो। केही विद्वानका भनाइ अनुसार डोटी बाइसे चौबिसे राज्य अन्तर्गतको राज्य थिएन। जुन छुट्टै शक्तिशाली राज्य थियो। तेडीको चैतमा बर्णन गरिए अनुसार सुरुमा डोटी राज्य जुम्लाको सिंजा राज्यको अधिनमा थियो। जुन १४औं शताब्दीको अन्ततिरको समय हुन आउछ। पछि राजा निरयपालका पालामा डोटीराज्यलाई सिँजा राज्यबाट स्वतन्त्र बनाई दिपायल राजधानी बनाइएको कुरा बुझ्नमा आउँछ। विगतमा राज्य संचालन गर्ने क्रममा कुनै शासकले राम्रा कार्यको थालनी गरे होलान् त कसैका केही कमी कमजोरीहरू पनि देखिए होलान। तर, यहाँ शासकभन्दा पनि शासित भूगोलको महत्व दर्साउन खोजएको हो। त्यति लामो कालखण्डदेखि शासन चलाउँदै आएका ती कैयौ शासकहरूले आखिर किन रोजे दिपायललाई यो एउटा गम्भिरतापूर्वक सोच्नुपर्ने विषय पनि हो। हरेक क्षेत्रको विकासको मार्ग तय गर्दा विगतलाई आधार मान्नु बुद्धिमता ठानिन्छ। फेरि वर्तमानकै सेरोफेरोमा रुमल्लिदा पनि क्षेत्रीय सदरमुकामका रुपमा देखापरेर आफ्नो पुरानो पहिचानलाई थोरै मात्रामा भए पनि उजागार गरेकै थियो त्यस क्षेत्रले।

पर्यटकीय क्षेत्रका हिसावले पनि पौराणीक कालको कालो पातल र कालो झाड त्यतै छ। शैलेश्वरी, कफल्लेकी केदार, सालमनी, भागेश्वर, काफली, बुढा केदार, बन्थडीजस्ता हाम्रा पूर्वजले पुज्दै आएका थुप्रै शक्तिपीठहरू त्यतै छन्। पौराणीक कालमा सीता नदीका नामले चिनिएकी सेती स्वच्छ हावा र पानी उपलब्ध गराइरहेकी छन्। मानव सभ्यताको सुरुवात पनि नदी किनार बाटै भएको हो भन्छन जानकारहरू। त्यसैले भन्न सकिन्छ सेती काली, कर्णाली र बुढी गंगाले सुदूरपश्चिमको सभ्यता बोकेका छन्। खप्तडको रमणीय दृश्यले उस्तै मन्त्रमुग्ध तुल्याउँछ कैयौ मनहरूलाई। जुन दिपायल सिलगढीबाट त्यति टाढा छैन। अछामको रामारोशनदेखि बाजुराको बडीमालिका सम्मका कैयौ पर्यटकीय स्थलको यात्रा गर्दा केन्द्रमा दिपायल सिलगढी नै देखिन्छन। क्षेत्रीय सदरमुकाम भएका कारण पनि चिनिएको र राज्यले निर्माण गरेका विगतका कैयौ भौतिक संरचनाहरू समेतको उपयोग गर्न सकिने सदियौ देखिको इतिहास बोकिरहेको त्यो भूभागको वास्ता गरिएन। यसै सन्दर्भमा गोपाल बताउँछन्, ‘ठाउँको लागि गर्ने नगर्ने नेताहरूको विवेकको कुरा हो। हामी कलाकार भएपछि ठाउँको लागि केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्छ। यो गीत पनि ठाउँको लागि केही गरौं भन्ने सोचले तयार गरिएको हो।’

गोरख विष्ट र गोपाल सुचिकारको शब्द सङ्गीतमा तयार पारिएको उक्त गीतले एउटा कथा बोकेको छ। कथा भन्छ, वचपनमै विदेशिएका दुईजना युवा वर्षौपछि परदेशबाट घरदेश फर्किन्छन्। आफ्नो जन्मभूमिको प्राकृतिक सुन्दरता, सांस्कृतिक गरिमा र धार्मिक पर्यटकीय गन्तब्य बोकेका स्थलहरूले मोहित तुल्याउँछ तिनलाई। अनि, ती दुई जनाले महशुस गर्न थाल्दछन्, हामी त कृत्रिम पनमा, विदेशीको रङ्गीचङ्गीमै रमाएछौं। असली जिन्दगी त यतै रहेछ। यसै क्रममा ती दुई जनाले एकअर्कालाई डोटीका विभिन्न ठाउँ घुम्ने निम्तो दिन्छन्। यसरी पुरै जिल्ला घुमेर अन्तमा दिपायल पिपल्लामा भेट्ने सल्लाह हुन्छ।

केआईसिंह गाउँपालिका शिखर बड्डीकेदार
जोराइल घुमेर आउनु पिपल्ला बजार

दिपायल पिपल्ला भन्ने बित्तिकै तिनलाई पुरानो राजधानीको याद आउँछ र प्रश्न गर्छन् गीतकै माध्यमबाट।

गीत रेकर्डिङको अन्तिम चरणमा छ। शायद मिक्सिङ हुन बाँकी छ। झण्डै १३ मिनेटसम्म आ-आफ्ना कर्णप्रिय स्वरका माध्यमबाट एउटा नौलो प्रयोग गरी गीतमा सुन्दरता भरेका छन् दुबै जनाले। गीतको बीचबीचमा संगीतको धूनसँगै बोलिएको डाइलग उस्तै सुन्दर छ। ठाडी भाकामा दुईजना पुरुषले यसरी सवाल जवाफ गरेका गीतहरू निकै कम छन्। अझैं भन्नु पर्दा औंलामा गनिने छन्। जसमध्येको एउटा मर्मस्पर्षी, कर्णप्रिय गीत हो यो।

यतिखेर गाउँ-गाउँमा चुनावी दौड चलिरहेछ। भुवन र गोपाल आफ्नै साङ्गीतिक दौडमा छन्। नेताहरूका आमसभा भन्दा निकै बृहत आमसभा श्रोताको मनमा उब्जाउने क्रममा छन्। गीत सङ्गीतका माध्यमबाट परिवर्तनको मार्ग तय गर्दैछन्। गोपाल दिपायलमा सानो पसल खोलेर कलाको काम गरिरहेका छन्। भुवन विभिन्न कार्यक्रममा आफ्नो कला पस्किरहेका छन्। यी दुई उच्च सोचका साथ सामान्य जीवन व्यतित गरिरहेका कलाकार हुन्। तडकभडकका साथ  झुटो आश्वासन दिँदै हिँड्नु भन्दा स्वतन्त्रतापूर्वक गीत गाएर हजारौं मनलाई झङ्कृत गर्न सक्ने कार्य निकै नै गरिमामय हुन्छ, पवित्र हुन्छ। यी दुई गायकले पवित्र कार्य गरिरहेका छन्। दुबै जनालाई शुभकामना।

प्रकाशित मिति: : 2022-11-10 21:25:00

प्रतिकृया दिनुहोस्