काभ्रेका च्याङबा लामा सानै उमेरमा ‘टुहुराे’ भए। ‘बा’ बितेको कुरा उनलाई याद छैन। आमा दुई वर्षको छोरा छाडेर परपुरुष अँगालेर गइन्। बाआमा गुमाएर टुहुरो बनेका उनी बाजेबज्यैको साथमा हुर्किए।
गाउँको दुर्गम ठाउँमा जन्मिएका उनले आठ वर्षकै उमेरदेखि घरायसी काम गर्न सुरु गरे। स्कुल जाने कलिलो उमेरमा उनी खेतमा जान्थे। कलम समाउने उनको हातमा कोदालो र कुटो हुन्थ्यो। काँधमा स्कुले झोला बोक्ने उमेरमा उनी हलो बोकेर हिड्थे।
आफूसँगैका दौतरी स्कुल गइरहेकाे देख्दा उनलाई पनि लाथ्यो, ‘स्कुल गएर पढ्न पाए पनि हुन्थ्याे नि।’ तर गरिबीको कारणले उनले पढ्न त के स्कुल टेक्न समेत पाएनन्।
घरका कान्छाे छाेरा भएपनि उनी दिनभरि टन्टलापुर घाममा पसिना बगाइरहन्थे। कहिलेकाहीँ त उनी बगिरहेकाे पसिना पुछ्दै साेच्ने गर्थे, ‘मैले पढ्न नपाए पनि मेरो सन्तानलाई धेरै पढाउने छु। मैले जति दुख गरेपनि उनीहरूलाई सुखमै हुर्काउनेछु।’
भविष्यमा छोराछोरीलाई उच्च शिक्षा दिने सपना बुनेका उनी १७ वर्षको उमेरदेखि नै ‘थाङ्का’ पेशामा लाग्न थाले। उनको गाउँका अधिकांश मानिस नै थाङ्कामा आवद्ध थिए।
भलै, उनकाे पूख्याैली काम खेती किसानी थियाे तर थाङ्कामा च्याङबाकाे चासो बढ्दै गएकाे थियाे। गाउँका ‘जीजुबाजे’ हरूले गर्दैआइरहेकाे काम थियाे, थाङ्का। त्यहीँ काम देखेर आकर्षित भएका उनले पनि सिक्न थाले, थाङ्का कोर्न।
‘मेरो गाउँका धेरै जना मानिस थाङ्कामा लाग्नुभएको थियो, उहाँहरुले त्यहीँ काम गरेर पैसा कमाउनुहुन्थ्यो। त्यसैले मलाई पनि थाङ्का कोरेर पैसा कमाउने इच्छा लाग्यो’ उनले भने, ‘हाम्रो गाउँको आम्दानीको स्रोत नै थियो, थाङ्का।’
सादा सेतो कपडा, कमेरो माटो, कुची र थरिथरिका रङ नै उनकाे थाङ्का काेर्ने सामान थियाे। त्यहीँ सामानकाे प्रयाेग गरेर उनले सुरू गरे–कमेराे माटाेले बनाएकाे सेताे कपडामा कुचीले थाङ्का लेख्न।
‘थाङ्का लेख्नमा सबैभन्दा महत्वपूर्ण सामान कुची हुँदाे रहिछ, तर मसँग कुची किन्नका लागि पैसा थिएन। तर मलाई जसरी हुन्छ काम सिक्नु थियाे। त्यसैले कुचीकाे वैकल्पिकमा बाँसको चोया र बिरालोको रौँबाट अर्गानिक कुची बनाएँ’ उनले भने, ‘अनि त्यहीँ कुचीले थाङ्का काेर्न सुरू गरेँ।
घरकाे कामकाज सक्काएर फूर्सदकाे समय थाङ्का सिक्ने उनले त्यहीँ काममा तीन महिना बिताए। त्यसपछि उनी काठमाडाैं हानिए। गाउँबाट काठमाडाैं आउनु उनकाे एउटै लक्ष्य थियाे–त्याे हाे, थाङ्का काेरेर पैसा कमाउनु।
२०४० सालमा काठमाडौं आएका उनले पाटनमा नाम चलेकै गुरूबाट थाङ्का सिक्न थाले।
‘मलाई गुरुहरुले नै थाङ्का सिक्न काठमाडौं पठाउनुभएको थियाे’ उनले बिएल नेपाली सेवासँग भने, ‘गुरूहरूकाे कुरा मानेर म थाङ्काको सिलसिलामा काठमाडौं आएँ।’
काठमाडाैं आएर निशुल्क थाङ्का सिक्न थालेका उनले वर्ष दिनपछि तलबमा काम गर्न थाले। उनकाे पहिलाे तलब थियाे–तीन सय रुपैयाँ। ‘काठमाडाैंमा मैले निशुल्क काम गरेँ, गुरूहरूले काम सिकाउँछु भन्दै घरायसी काममा लगाउनुभयाे’ उनले भने, ‘तर मैले काम जानेरै तलबमा थाङ्का लेख्न थालेँ।’
०४१ सालमा पहिलो पटक तलब पाउँदाको अनुभव उनलाई अझै याद छ। ‘मैले पहिलो पटक त्यतिधेरै रुपैयाँ हातमा लिएको थिए’ भावुक हुँदै उनी सम्झन्छन्, ‘पहिलो तलब हातमा पाउँदा म निकै भावुक भएको थिएँ। मेरो आँखाबाट खुसीको आँसु झरेकाे थियो।’
थाङ्का कोरेर कमाएको पहिलाे तलब उनले गाउँमा पठाइदिए। अनि त्यसबाट बचेकाे केहीँ रूपैयाँ लिएर उनी सिनेमा हल पुगे। ‘त्यो बेला पाँच रुपैयाँमा हल गएको थिएँ’ हाँस्दै उनी भन्छन्, ‘उबेला सबै सामानहरु नै सस्ता थिएँ।’
थाङ्का लेखेर अनुभव बटुल्दै गएपछि उनकाे तलब पनि बढ्दै गयाे। तीन सयबाट उनकाे तलब पाँच हजार पुग्याे। थाङ्का पेशामा उनले पाँच वर्ष बिताए त्यसपछि आफैँ थाङ्काको ‘ठेक्का’ गर्न थाले।
‘अरुको तलबमा कत्ति बस्नु भनेर आफैँले थाङ्काको ठेक्का लिन थालेँ। जसका लागि मैले पाँच जना कामदार नै राखेको थिएँ’ उनले भने, ‘मैले उहाँहरुलाई २५ हजार रुपैयाँ तलब दिएर राखेको थिएँ।’
राम्राेसँगै चलिरहेकाे थियाे, थाङ्काकाे व्यापार तर ०७२ सालकाे भूकम्पले उनकाे व्यापारलाई लथालिङ बनाइदियाे। उदाउँदै गरेकाे उनकाे व्यापार अस्ताउन थाल्याे। 'भूकम्पले गर्दा मेराे व्यापार छरपस्ट भयाे, थाङ्का बनाउनका लागि आउने अर्डर पनि बन्द हुँदै गयाे।’
भूकम्पबाट उस्कदै गएकाे उनकाे व्यापारलाई अर्काे नाेक्सान भयाे, जब ०७६ सालमा देशभर महामारीकाे रूपमा काेराेना भाइरस फैलियाे। त्यसैकाे चपेटामा पर्याे थाङ्काकाे व्यापार।
‘कोरोनाको कारण कहीकतै जान पाइएन, सबै ठाउँ ठप्प थियो’ तीन वर्षको अघिको कुरा स्मरण गर्दै उनले भने, ‘त्यपछि मेरो काम पनि ठप्प भयो।’
भूकम्प र कोरोनाले थलिएको उनको व्यापार विस्तारै घाटामा जान थाल्यो। ‘यी दुई कुराले गर्दा मेरो व्यापार घाटा गयो, त्यसपछि कहिले पनि विगतमा जस्तो फस्टाउन सकेन’ उनले भने।
च्याङबाले थाङ्का कोरेर छोरालाई अष्ट्रेलिया पठाए
तीन दशक थाङ्का काेरेर उनले कराेडाैं रूपैयाँ कमाए। तर उनले ती सबै पैसा छाेराछाेरीकाे शिक्षामा खर्चिए। आफूले पढ्न नपाएपनि उनले छाेराछाेरीलाई काठमाडाैंकाे उच्च कलेज ‘गोल्डेन गेट’ मा पढाए। १२ पढिसकेका छाेरालाई उनले अष्ट्रेलिया पठाए।
‘छाेराले नेपालमा पढ्न मानेन त्यसैले बाहिर पठाइदिएँ’ उनले भने, ‘छाेराकै कुरा मानेर उसलाई अष्ट्रेलिया पठाएका हाैँ। छाेराछाेरीकाे खुसी नै त हाम्राे खुसी हाे नि।’
छाेरालाई आत्मनिर्भर बनाएका उनले छाेरीलाई पनि छाेरा पढेकै कलेजमा पढाए। गाेल्डेन गेटबाट स्नातक दिएर बसेकी छाेरी अहिले एक कार्यालयमा जागिरे छिन्।
‘छोरा त अष्ट्रेलिया गइहाले, उसकाे भविष्य त राम्रै छ। यदी मेरी छोरी पढ्न चाहन्छिन् भने उसलाई घुडा टेकेर भएपनि मास्टर्स डिग्रीसम्म पढाउने छु’ उनले भने, ‘मेराे सपना नै थियाे, मेराे सन्तानहरूलाई उच्च शिक्षा दिनू। ’
परिवारकाे उज्वल भविष्यका लागि उनले आफ्नाे तीन दशक थाङ्का लेख्नमा बिताए। त्यसैले त उनलाई हिजोआज छोराछोरीहरुले भन्ने छन्, ‘काम नगर्नू बाबा, तपाईले हाम्राे लागि धेरै दुख गर्नुभयाे, अब हामी तपाईंलाई पाल्छौँ।’
पढ्न नपाएकोमा पछुताएका छन् च्याङबा
सानै बेलादेखि स्कुल जानमा चासाे भएपनि पढ्न नपाएकाेमा पछुताइरहेका छन् च्याङबा। उनीसँगै थाङ्कामा लागेका उनका दौतरीहरुले अहिले काठमाडौंमा घर ठड्याएका छन्। तर उनी नयाँ बानेश्वरको गल्लीमा डेरा लिएर बसेका छन्।
उनी भन्छन्, ‘पढे लेखेका मेरा साथीहरुले थाङ्कामै लागेर ३–४ वटा घर बनाए तर नपढेकाे म जस्ताकाे त्यस्तै छु।’
आफू नपढेकै कारण थाङ्कामा प्रगति गर्न नसकेको उनको बुझाई छ। करोडौं–करोडौंको लगानीमा आफूले हिसाब गर्न नसक्ने बताउँदै उनी भन्छन्, ‘मलाई ठूलाे हिसाब गर्न आउँदैन, त्यसैले सबै जनाले ठग्नु हुन्छ। पढ्न नपाएकाे कुरामा मलाई धेरै पछुतो लाग्छ।’
थाङ्काकाे व्यापार गर्ने उनलाई धेरै जनाले पैसामा ठगिसकेका छन्। ‘मेराे पैसा धेरै ठाउँबाट उठाउनु छ, तर कसैले दिनु मान्नु हुँदैन दिएपनि पैसा बिनाकाे चेक दिनुहुन्छ’ उनी सुनाउँछन्,‘सबै जनाले मेराे साेजाेपनाकाे फाइदा उठाएर मलाई घाटा लगाइदिनु हुन्छ।’
काम गरेर पनि हेपिएका च्याङबालाई घर परिवारले काम नगर्नु भन्दै सम्झाइरहन्छन् तर पनि उनी थाङ्का बनाउनमा रमाइरहेका छन्।
‘थाङ्का काेरेरै मेराे शरीर कमजाेर भइसकेका छन्, यहीँ कामकाे कारण तेजिलाे मेराे आँखामा चश्मा लगाउनु परेकाे छ। तर म पनि थाङ्का लेखेरै खुसी छु। किनकी मैले मेराे परिवारलाई थाङ्का बनाएरै पालेकाे हुँ’ पाँच फिट अग्लाे थाङ्कामा रङ भर्दै उनी भन्छन्, ‘मेराे पहिचान नै थाङ्का हाे, त्यसैले म बाँचुन्जेल यहीँ काम गरिरहनेछु।’
छाेराछाेरीलाई स्वाभलम्बी बनाइसकेका लामा अब आफ्नै थाङ्का पसल खाेलेर खुसी हुन चाहन्छन्।