अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीकी सर्वप्रिय उम्मेद्वार अरूणा

डा. प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकामा यही मंगलबार नोभेम्बर ८ मा मध्यावधि निर्वाचन हुदैछ । यो निर्वाचनमा ठूलो नेपाली समुदाय रहेको मेरिल्याण्ड राज्यको  चुनाव पनि हुदैछ । यही चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट लेफ्टिनेन्ट गभर्नरकी उम्मेद्वार अरूणा मिलरले यहाँका नेपाली मतदाताको ध्यान आकृष्ट गरेकी छिन् । उनको जोडीका रूपमा वेस मुर गभर्नरका उम्मेद्वार रहेका छन् ।

को हुन् अरूणा मिलर ?

अरूणा मिलर भारतीय मूलकी एक चर्चित अमेरिकी राजनीतिज्ञ हुन् । भारत हैदराबादको एक भारतीय परिवारकी सात वर्षीय सानी नानीका रूपमा सन् १९७२ मा उनी सपरिवार अमेरिका आएकी थिइन् । सुरूमा न्युयोर्क आएकी उनका पिता एक मेकानिकल इन्जिनियरका रूपमा आइबीएममा कार्यरत थिए । सन् १९६४ मा जन्मिएकी ५८ वर्षीय मिलर पेशाले एक सिभिल इञ्जिनियर हुन् । सुरूवाती शिक्षा न्युयोर्कमा पूरा गरेकी उनले उच्च शिक्षा मिजौरी युनिमर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट पूरा गरिन् । 

पेशाले एक सिभिल इन्जिनियर उनले मेरिल्याण्ड राज्यमा २५ वर्ष सेवा गरिन् । मिलर २००६ मा डेमोक्रेटिक पार्टी मेरिल्याण्डको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।

सन् १९९० मा मेरिल्याण्डको मोन्टेगोमेरी काउन्टीमा बसाइ सरेकी उनले आफ्ना कलेज सहपाठी डेभिड मिलरसँग विवाह गरिन् । सन्तानका रूपमा यो जोडीका तीन छोरी रहेका छन् । 

सन् २०११ मा मेरिल्याण्ड हाउस अफ एसेम्बेलीमा डिस्ट्रिक्ट १५ बाट निर्वाचित उनले मन्टिगोमरी काउन्टीको प्रतिनिधित्व गरिन् । सन् २०१८ मा डेमोक्रेटिक पार्टीको तर्फबाट  अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी जित्न प्राइमरी चुनावमा उत्रेकी उनलाई सफलता हात लागेन ।  मेरिल्याण्ड कंग्रेस डिस्ट्रिक्ट ६ का लागि उनी प्रतिस्पर्धामा थिइन् । घना नीलो डिस्ट्रिक्टमा उनी डेभिड ट्रोनसँग पराजीत भइन् । 

अहिले उनी डेमोक्रेटिक पार्टीका गभर्नर उम्मेद्वार वेस मुरको लागि लेफ्टिनेन्ट गभर्नरकी उम्मेद्वारका रूपमा राजनीतिको दोस्रो इनिङमा फर्केकी छिन् । यो जोडीले अत्याधिक बहुमतका साथ डेमोक्रेटिक प्राइमरी जितेको थियो ।

मंगलबार हुने आम निर्वाचनमा मुर- मिलरको यो जोडी रिपब्लिकन जोडी डन कक्स- गोर्डाना सिफनेलीसँग प्रतिस्पर्धा गर्दैछ । पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले इन्डोर्स गरेको यो जोडी रिपब्लिकन पार्टीभित्रको चरम दक्षिणपन्थी जोडी मानिन्छ ।

वेस मुर र अरूणा मिलरको जोडीले डेमोक्रेटिक पार्टीभित्रको मध्यमार्गी धारको प्रतिनिधित्व गर्दछ । शिक्षा, जलवायु र अर्थव्यवस्था तीन मुद्दालाई केन्द्रमा राखेर चुनावमा उत्रिएको यो जोडी आप्रवासीमैत्री नीतिको हिमायति हो ।  

डा. ह्यारी भण्डारी जीतको नजिक 

मेरिल्याण्डमा ठूलो संख्याको नेपाली समुदाय रहेको छ । अमेरिकाको आधिकारिक तथ्याङ्कअनुसार यस राज्यमा पाँचौं ठूलो संख्यामा नेपाली समुदायको बसोबास रहेको छ । यही राज्यले डा. ह्यारी भण्डारीका रूपमा पहिलो नेपाली समुदायको डेलिगेट दिएर इतिहास नै बनाएको छ । २०१८ को आमनिर्वाचनमा डिस्ट्रिक्ट ८ बाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यमा विजयी उनी दोस्रो कार्यकालका लागि उम्मेद्वार रहेका छन् ।

उनको निर्वाचन पनि मंगलबार नै हुदैछ ।  उनी जीतको नजिक पुगेका छन् । 

किन जिताउन चाहन्छन् मिलरलाई ?

अरूणा मिलर भारतीय मूलकी राजनीतिज्ञ भएकाले उनीप्रति नेपाली मूलका अमेरिकी मतदाताको एक किसिमको प्रोक्सिमिटी रहेको छ। 

पहिलो त उनी डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हुन् । केही अपवाद बाहेक धेरैजसो नेपाली-अमेरिकीले डेमोक्रेटिक पार्टीलाई नै आफ्नो पार्टी बनाएका छन् । यस अर्थमा पनि नेपालीले अरूणालाई स्वत: मतदान गर्ने नै भए ।

दोस्रो, उनी आफैं पनि एक आप्रवासी भएकाले उनी सधैभरी आप्रवासीमैत्री नीतिकै वकालत गर्दै आएकी छिन् । अमेरिकामा रहेका नेपालीहरू स्वभावत: आप्रबासीमैत्री नीतिकै पक्षपोषण गर्ने भएकाले पनि उनी मतदानको प्रिय सूचीमा चढेकी हुन् ।

मेरिल्याण्डका नेपालीमध्ये थोरै संख्यामा रहेका नेपाली अमेरिकी रिपब्लिकन मतदाताले पनि यसपटक डेमोक्रेटिक पार्टीका उम्मेद्वारलाई नै मतदान गर्ने भएका छन् । यसका दुई कारण छन्, पहिलो डेमोक्रेटिक लेफ्टिनेन्ट गभर्नरकी उम्मेद्वार अरूणा मिलरको भारतीय मूल । दोस्रो, आप्रवासीलाई घृणा गर्ने चरम दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेद्वार ।

मेरिल्याण्डमा ठूलो संख्याको नेपाली समुदाय रहेको छ । अमेरिकाको आधिकारिक तथ्याङ्कअनुसार यस राज्यमा पाँचौं ठूलो संख्यामा नेपाली समुदायको बसोबास रहेको छ । यही राज्यले डा. ह्यारी भण्डारीका रूपमा पहिलो नेपाली समुदायको डेलिगेट दिएर इतिहास नै बनाएको छ । २०१८ को आमनिर्वाचनमा डिस्ट्रिक्ट ८ बाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यमा विजयी उनी दोस्रो कार्यकालका लागि उम्मेद्वार रहेका छन् । उनको निर्वाचन पनि मंगलबार नै हुदैछ ।  

प्रकाशित मिति: : 2022-11-07 09:42:00

प्रतिकृया दिनुहोस्