उम्मेदवारकाे दम्भ, आचारसंहिता भङ्ग

सुदिप बराल

काठमाडौं

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदश्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयरहित बनाउन भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बनाएर उमेदवारहरूलाई सचेत गर्दै आएको छ। तर कडाइका साथ लागु नहुँदा उमेदवारहरूले आचारसंसहिताविपरीतका गतिविधिहरू गर्दै आएका छन्।

यसैमध्येका उम्मदवार हुन्, काेमल वली र हुकुम बस्नेत। नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार वली र प्रदेशसभा ३ (ख)का उम्मेदवार बस्नेतले दाङमा विद्यार्थीहरू प्रयाेग गरेर मत मागेको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ।

वली र बस्नेतले बबई गाउँपालिका–१ गँगटेमा रहेको सरस्वती जनता माविमा पुगेर विद्यार्थीहरूलाई पोस्टर–पम्प्लेट बाँडेका थिए। दलबलसहित विद्यालय पुगेका उनीहरूले नाचगानसहित ब्ल्याकमेल गर्दै बालमस्तिष्कलाई प्रभावित बनाएर आफ्नो घरमा बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न अह्राए।

गर्वका साथ सामाजिक सञ्जालमा विद्यार्थीहरूसँगको फोटो हालेको वलीको सचिवालयले व्यापक आलोचना भएपछि हत्तपत्त डिलिट गरेको थियो।

आचारसंहिता उल्लङ्घन गर्नेहरूमा उनीहरू मात्रै छैनन्। निर्वाचन आयोगले आचारसंसहिता उल्लङ्घन गरेको भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), कांग्रेका महामन्त्री गगन थापा, एमालेका सचिव योगेस भट्टराई, नेकपा एकीकृत समजवादी पार्टीका नेता मेटमणी चौधरीलगाएका धेरै उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको छ।

राजनीतिक शक्तिको दम्भ र अहंकारले उन्माद उम्मेदवारहरू आयोगको आचारसंहिताको धज्जी उडाउन उद्धत छन्। आयोग पनि उनीहरूसँग नतमस्तक हुने गरेको छ। कारवाहीकाे नाममा स्पष्टीकरण सोधे जस्ताे गरेर औपचारिकता मात्र पुरा गर्छ। स्पष्टीकरण सोध्नुलाई नै आयोगले ठुलो उपलब्धि ठानिरहेको हुन्छ। आयोगले कारवाहीलाई स्पष्टीकरणमै सिमित गर्दा आचारसंहिता उल्लङ्घनका घटना घट्नुको साटो उल्टै बढिरहेको छ।

यता निर्वाचन आचारसंहिता, २०७९ काे परिच्छेद २ मा कुनै सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय वा विद्यालयकाे क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने प्रावधान छ।

प्रकाशित मिति: : 2022-11-04 22:05:00

प्रतिकृया दिनुहोस्