वैदेशिक रोजगार विभागका निर्देशकलाई प्रश्न : श्रमिक ठग्ने म्यानपावरलाई कारबाही खोइ ? (भिडियाे)

उमेश थापा

काठमाडौं

नेपालबाट राेजगारीकाे लागि विदेश जाने युवाकाे संख्या अधिक छ। वैदेशिक राेजगारीमा जाने युवा भने पाइलैपिच्छे ठगीमा पर्छन्, तर सरकारी निकाय भने जहिले माैन।

सरकारले वैदेशिक राेजगारीमा जाने युवाकाे लागि सजिलाे बाटाे बनाइदिए पनि म्यानपावर कम्पनीले त्याे बाटाे घुमाउराे बनाएर साेझा जनतालाई लुटिरहेका छन्। वैदेशिक राेजगारीकाे समस्या समाधान समस्याकाे काम गर्ने वैदेशिक राेजगार विभागले यस्ताे अवस्थामा कसरी काम गरिरहेकाे छ ? वैदेशिक राेजगारीकाे काम कति प्रभावकारी छ ? यी र यिनै विषयमा रहेर वैदेशिक राेजगार विभागका निर्देशक कृष्ण भुसालसँग बिएल  नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे संम्पादित अंश प्रस्तुत छ:   


विभागले अनुगमनकाे काम कसरी गरिरहेकाे छ ?

वैदेशिक रोजगार विभागको महत्पूर्ण काम भनेको अनुगमन गर्नु हो। गत वर्षदेखि अनुगमन गर्ने कार्यलाई निकै प्रभावकारी ढङ्गबाट अगाडि बढाइरहेका छाैँ। काठमाडौँमा मात्र नभई हामी बाहिरका म्यानपावरहरूलाई पनि अनुगमन गरिरहेका छाैँ। गत वर्षको उजुरी हेर्ने हो भने व्यक्तिगत र संस्थागत गरेर दुई हजार बढी उजुरी परेका थिए। झण्डै ६५ करोड बिगो दाबी गरेको थियो भने हामीले मिलोमतो गराएर ५० करोडभन्दा माथि असुल उपर गर्‍याैँ।

हामी उजुरी आउने बित्तिकै तुरुन्तै काम कारबाहीको लागि अगाडि बढ्छौँ। अनुगमनकाे लागि हाम्राे आरआरटी टिम जहाँ पनि जान्छ। यहाँ आएर उजुरी दिएको खण्डमा हामी जाे सँग सम्बन्धित हुन्छ सिधैं बोलाउँछौं र काम कारबाही अगाडि बढाउँछौँ।

म्यानपावरको काम भनेको सिधा जनताहरुलाई ठग्ने मात्र हो ?

होइन, लुटिरहेका मात्र छैनन्। उजरीको संख्या हेर्दा त्यो देखिँदैन। गत आर्थिक वर्षमा जम्मा ६ लाख ३० हजार मानिसले श्रम स्वीकृती लिएका थिए। हाम्रो उजुरीको संख्या भनेकाे २ हजार हो। कति व्यक्तिले भने अप्ठ्याराे पर्दा पनि उजुरी नै नगर्ने पनि हुन सक्छ, त्यसमा कुनै संख्या छैन। भिजिट भिसामा जाँदा यस्तो देखिन्छ। राज्यको राजश्व पनि गुमिरहेकाे छ।

काेराेना महामारीपछि वैदेशिक रोजगारमा जानेको संख्या पनि ह्वात्तै बढेको छ, रेमिट्यान्स के कति भित्रियो ?

यो आर्थिक वर्षमा रेमिट्यान्सकाे पनि वृद्धि हुन्छ। अहिलेकाे हकमा भने पहिलाको भन्दा तीन गुण मानिसहरु बाहिर गइरहेका छन्, पहिलाभन्दा यो आर्थिक वर्षमा रेमिट्यान्स बढ्छ।

दर्ता नभइकन सञ्चालन भइरहेका म्यानपावर कम्पनीलाई के भन्नु हुन्छ ?

सुरुमा त्यो त म्यानपावर कम्पनी नै होइन। हामीले सूचना पाएसम्म हाम्रो टिम त्यस्ता गिराेहलाई समात्न गइरहेको छ। मानिसहरुले पनि म्यानपावर कम्पनीको बारेका बुझेर जानेर जानुपर्छ, अर्कौको भरमा जानु हुँदैन। हामीले यस्ता कुराहरु विशेष गरेर सञ्चार माध्यमबाट थाहा पाउँछौँ। यस्तो गरेको पाइएमा कानुन अनुसार ३ वर्षदेखि ७ वर्ष जेल सजाय र एक लाखदेखि पाँच लाखसम्म जरिवाना दिनुपर्छ।

कन्सलटेन्सीहरुले पनि म्यानपावरको काम गरेको देखिन्छ नि ?

कन्सलटेन्सीको लाइसेन्स लिने अनि काम भने वैदेशिक रोजगारको गर्न पाइदैन। यस्तो गरेको पाइएमा दर्ता नभइकन सञ्चालन भइरहेका म्यानपावर कम्पनीलाई जस्ते सजायको भागेदार हुनुपर्छ।

भीड–भाड निकै बढी देखिन्छ विभागमा उजुरी धेरै नै पर्छ हो ?

स्वाभाविक रुपमा के बुझौँ भने यो विभाग भनेको ठुलो विभाग हो। झण्डौँ वर्षको ६ लाख ३० हजार मानिस बाहिर जानछन् भने तिनका मानिसहरू उजुरी हाल्न एक्लै आउँदैनन्, त्यसर्थ भीड–भाड देखिएको हो। हाम्रो कम्पाउण्ड पनि सानो छ, त्यसैले भीड हुनु स्वाभाविक हो।

पीडितहरुको गुनासो कम सनिन्छ रे नि त ?

त्यस्ताे होइन, हामीले पीडितको गुनासोहरूको काम चाँडो गर्छाैँ। हामी तत्काल काम गर्दा पनि कतिपय समयमा समस्याको समाधान गर्न सकेका हुँदैनाैँ। विभागमा आएर दिएको उजुरीको तत्काल हुन्छ भने विदेशबाट गराएको उजुरीकाे भने समय लाग्छ।

म्यानपावरहरुले मनलाग्दी पैसा उठाइरहेका छन् नि ?

म्यानपावरहरुको अव्यवस्थित प्रतिस्पर्धाले गर्दा यस्तो भएको हो। यस्तो गर्नु उचित हुँदैन। सर्वसाधारण ठग्ने म्यानपावरलाई हामीले कारबाही गरिनै राखेको छौँ। तर, ठगिने व्यक्ति आफैँ आएर उजुरी दिनुपर्छ। उजुरी नदिइकन हामीलाई पनि थाहा हुँदैन। जनताहरुले सरकारी कार्यालयप्रति विश्वास गर्नुपर्छ र हामी कहाँ आएर यस्तो भएको खण्डमा तुरुन्तै भन्नुपर्छ।

अन्त्यमा, म्यानपावर कम्पनी र वेदेशिक रोजगारमा विदेश जानेहरुलाई के भन्न चाहनु हुन्छ ?

म्यानपावरले विशेष गरेर आफ्नाे कामलाई पारदर्शी ढङ्गले गर्नुपर्छ। श्रमिकमैत्री म्यानपावर हुन आवश्यक छ, जसले गर्दा सबै मानिसहरुले अवसर पाउछन्। नत्र भए म्यानपावर कम्पनीहरुले आफ्नाे मान्छेलाई प्राथमिता दिने र सिधा मान्छेहरुले त्यसकाेमा जान बञ्चित हुन्छन्।

श्रीमकको हकमा भने कामदारहरु सुरुमै ठगिने बढी समस्या हुन्छ। किनकि, सरकारले तोकेकाे भन्दा बढी पैसा तिर्ने, फ्रि टिकट, फ्रि भिसा भएको ठाँउमा पनि पैसा तिर्ने। त्यसर्थ, बाहिर जानेहरुले कारोबार गरेको रसिद लिन र बैंकबाट कारोबार गर्न अनुरोध पनि छ। त्यसो गर्दा हामीलाई कारबाही गर्न पनि सहज हुन्छ।

प्रकाशित मिति: : 2022-11-03 16:55:00

प्रतिकृया दिनुहोस्