नेता खेतमा : किसानलाई हर्ष न बिस्मात

BreaknLinks
BreaknLinks

जतिबेला धान रोप्ने समय थियो। मलको हाहाकार भयो। किसान उतिबेला नेता खोजिरहेका थिए। अथवा आफूले भोट दिएर संसदमा पठाएकाको ढाडस चाहिरहेका थिए। तर किसानले न मल पाए, न ढाडस नै। अहिले धान भित्र्याउने समयमा नेताहरु धानखेतमै पुगेर भोट माग्दा न हर्ष न बिस्मात भएको छ।

मंसिर ४ गते हुने आम निर्वाचनको चटारो नेताहरुलाई जति छ, किसानलाई पनि धान भित्र्याउने चटारो उत्तिकै छ। नेताहरु भोट माग्दै घरदैलोमा पुगे पनि ‘मानो रोपेर मुरी’ भित्र्याउन लागेका किसान घरमा भेटिने अवस्थामा छैनन्। जसरी एकाबिहानैदेखि साँझ अबेरसम्म नेताहरु भोट माग्ने दौडधुपमा छन्, किसान पनि खेतबारीमै धान काट्नेदेखि भित्र्याउनेसम्मको काममै व्यस्त छन्।

किसान काममै व्यस्त रहँदा उम्मेदवार बनेका नेताहरु भने खेतबारीमै पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन्। उम्मेदवारहरु खेतबारीमै पुगेपनि असारमा धान रोप्ने समयमा मलसँगै पानीको हाहाकार बेहोरेका किसानलाई भने ‘हर्ष न बिस्मात’ जस्तै छ। आफ्ना उम्मेदवार काम गर्ने ठाउँमै आएकोमा किसानहरुले न खुशी व्यक्त गर्न सकेका छन्, न खुलेरै दुःख व्यक्त गर्न सकेका छन्।

‘नेताले के गर्छन् र उनीहरुको कुरा किन सुन्नु पर्यो?,’ प्रश्न गर्दै लमही नगरपालिका–४ की खिमा कुमालले भनिन्। निर्वाचनको मितिसमेत थाहा नपाएकी उनले नेताले भनेको के नै हुन्छ र जस्तो लाग्ने गरेको बताइन। दसैँमा परेको अविरल वर्षाले सबै धान डुबेपछि चिन्तामा रहेकी कुमालले आफूहरुको दुःख हिजोजस्तै आज पनि उस्तै रहेको बताइन्।

‘नेताहरु त आउँछन्, भाषण गरेर जान्छन्, उनीहरुले केही गर्दैनन्,’ उनी भन्छिन्, ‘यहाँ पहिले पनि डुवान हुन्थ्यो, आज पनि डुवान हुन्छ। के पाएका छौँ र हामीले ?’ उनले समयमै मल पाउन नसकेको गुनासो गर्दै किसान सधैं पीडामा रहेको बताइन्।

कुमालको गुनासो जस्तै सोही वडाकै अर्का किसान छाटेलाल चौधरीले आफ्नो धान डुवानमा पर्दा नोक्सान भएको पीडा सुनाए। नेताहरुले अघिल्लो निर्वाचनमा डुवानको समस्या समाधान गर्ने बताएको भए पनि केही नगरेको उनको गुनासो छ। ‘नेताहरुको कामसाम केही होइन, कुरामा मात्रै गर्छन्,’ उनले भने। चौधरीले भोट माग्न नेताहरु आएमा डुवानको समस्याका बारेमा फेरि जानकारी बनाउने बताए।

किसान आफूहरुले जिताएर पठाएका नेताहरुले केही गरेरनन् भन्दै गर्दा मंसिर ४ गतेको आम निर्वाचनका लागि उम्मेदवार भएका नेताहरु भने जनतालाई रिझाउन खेतबारीमै पुगेका छन्। उनीहरु धान काट्न सघाउनेसम्मको गतिविधि गर्न भ्याएका छन्।

दाङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार भएकी कोमल वलीले खेतमै पुगेर मतदातासँग भोट भागेको फोटो सार्वजनिक गर्न भ्याइसकेकी छिन्।

एमालेबाटै क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार हुकुमबहादुर बस्नेत आफू पनि खेतबारीमै काम गरेर आएको भन्दै धान काटेर सघाएको भिडियो सामाजिक सञ्जालमा राखेका छन्। क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा दीपक गिरीको प्रचारप्रचार पनि खेतबारीसम्मै पुगेको छ।

जिल्लाका अन्य उम्मेदवारहरु पनि विना घोषणापत्र घर-घरमा पुग्नेदेखि नेता-कार्यक्रता भेटघाटमै व्यस्त छन्। क्षेत्र नम्बर-१ मा गठबन्धनबाट नेकपा एसका सहरी विकासमन्त्री मेटमणि चौधरी उम्मेदवार छन्। एमालेबाट शान्ता चौधरी उम्मेदवार छिन्। उनीहरुको चुनावी प्रचारप्रसार पनि आक्रामक छ।

क्षेत्र नम्बर-३ बाट गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा र एमालेबाट पार्टीका महासचिव शंकर पोखरेल छन्। उनीहरुको पनि चुनावी गतिविधि तीव्र भइरहेको छ। उम्मेदवारहरु जनताको सेन्टिमेन्ट कसरी क्याच गर्न सकिन्छ भन्नेमै ध्यान केन्द्रित गरेका छन्।

प्रकाशित मिति: : 2022-10-31 21:50:00

प्रतिकृया दिनुहोस्