जनता विजयकाे माला उनेर बसेका छन् : ज्ञानेन्द्र शाही (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन्। ‘हलाे’ चिन्ह लिएर चुनाव लडेका शाहीले तीनपटक जुम्लामा चुनावी अभियान सम्पन्न गरिसकेका छन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका उनी एकपटक जुम्लाले राष्ट्रकाे नेतृत्व गर्नका लागि आफूलाई जिताउनुपर्ने महत्वाकांक्षी नारा लिएर जनता माझ गएका छन्।

आक्रामक चुनाव प्रचारप्रसारमा लागेका उनी यसपाली पार्टी मात्र नभनेर आफूलाई मत दिन अपिल गरिरहेका छन्। उम्मेदवारी दर्तापछि विविध विषयमा केन्द्रित रही उनीसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेकाे कुराकानीकाे सम्पादित अंश यहाँ प्रस्तुत छ।


सबैले तामझाम, बाजागाजा, फूलमाला र अबिर लगाएर उम्मेदवारी दर्ता गराए, तपाईंले यस्ताे कुनै गर्नु भएन, किन ?

हामी उम्मेदवारी दर्ता गर्दा उत्साहित छाैँ। जनता पनि उत्साहित छन्। यसर्थमा खुसी नै हुनुपर्ने हाे। तर, आज साविककाे कर्णाली डुबानमा छ। ठाउँ–ठाउँमा पहिराे गएकाे छ। मान्छे मरेका छन्। यसर्थमा कर्णालीले र हाम्राे जुम्ला जिल्लाले अवर्णनीय दु:ख भाेगेकाे छ। यसले चुनावकाे मुखमा जनता उत्साहित भएपनि हामीलाई अत्यन्तै दु:खी बनाएकाे छ। त्यसैले प्राकृतिक विपत्तिकाे समयमा खुसी हुन सकिएन।

अर्काे कुरा, हामीले उम्मेदवारी दर्ता गराएका मात्रै हाैं। चुनाव जितेका हाेइनाैं। हामी चुनाव जित्छाैं भन्नेमा ढुक्क छाैं। विजयकाे माला जनताले नै लगाइदिने हुनाले हामीले उम्मेदवारी दर्तामा ठुलाे तामझाम गरेनाैं।

उम्मेदवार भएपछि तपाईंकाे प्रतिक्रिया के छ ?

जनता उत्साहित छन्। तपाईंलाई जिताउँछाैं भनेर प्रतिक्रिया दिइरहेका छन्। अब जुम्लाले एकपटक याे देशकाे नेतृत्व गर्छ। जुम्लाले देशकाे नेतृत्व गर्न मेराे उम्मेदवारी हाे।

भनेपछि, तपाईंले जितेपछि जुम्लाले याे देशकाे नेतृत्व गर्ने अरुले जिते नगर्ने भन्न खाेज्नु भएको हाे ?

हाेइन। अरुले जिते पनि जुम्लाले याे देशकाे नेतृत्व गर्न सक्थ्यो हाेला तर हाम्राे जिल्लाबाट नेतृत्व गर्नेकाे हैसियत हेर्नुस् त। एमालेका साथीहरुले ओलीसम्म पुग्न अरु कुनै न कुनै अर्काे नेताकाे सहारा लिनुपर्छ, माओवादीकाे नेतृत्वको हालत देखिहाल्नुभयाे। कर्णालीका कार्यकर्ताहरु जनार्दन शर्माकाे वरिपरि घुम्नेबाहेक अरु गर्न सक्दैनन्। काँग्रेसका नेताहरु त झन् चाकडी नगरी नेताकाे दर्शनसमेत पाउँदैनन्। त्यसैले त हालसम्म राज्यमन्त्रीमा चित्त बुझाउनु परेकाे छ। कम्तिमा क्याबिनेट मन्त्री भएर याे देशकाे नेतृत्व गर्न सक्नुपर्‍यो भन्ने मेराे मत हाे।

पञ्चायतमा समेत हरिश्चन्द्र महत र अदानसिंह कठायतले क्याबिनेट मन्त्री पाउनुभएकाे थियाे। त्यसपछि बहुदलीय व्यवस्थामा त हाम्राे जिल्लाकाे नेतृत्व गर्ने नेताहरु केन्द्रकाे नेताकाे वरिपरि घुम्नेबाहेक अरु गरेनन्। यस्ता खालका नेताबाट देशकाे नेतृत्व कसरी हाेला ?

चुनावपछि मेराे वा धवल समशेर जबराकाे नेतृत्वमा हामी सरकारमा जाने हाे। आउँदाे निर्वाचबाट राप्रपा देशकाे तेस्रो ठुलो शक्तिकाे रुपमा स्थापित हुँदैछ। आफ्नै बलबुताले चलेकाे आफ्नै खुट्टाले धरातलमा अडेकाे पार्टी भनेकाे राप्रपा हाे। याे चुनावपछि राप्रपा राष्ट्रिय पार्टी बन्छ भनेर पाकाे र एमालेजस्ताे ठुलाे पार्टीकाे नेता र अध्यक्ष समेतले भनेका छन्। यस्ताे अवस्थामा जुम्लाले देशकाे नेतृत्व गर्नेछ भनेर भनेकाे हुँ। त्याे ल्याकत हामीले राख्नुपर्छ।

अर्काे कुरा हाम्राे जुम्लाबाट नेतृत्व गर्ने नेताहरुलाई जुम्ली जनताले बाहेक अरु कसैले चिन्दैनन्। कालिकोटकाे भूगाेल कट्दै गर्दा उहाँहरुकाे परिचय धमिलाे बन्दै जान्छ। देश विदेशमा जुम्ला चिनाउने काम हामीले गरिरहेका छाैँ। यसर्थमा हामीले जित्दा जुम्लाले देशकाे नेतृत्व गर्छ।

ज्ञानेन्द्र शाहीले जित्दा जुम्ला देशभर चिनिन्छ, नजित्दा चिनिदैन भन्न खाेज्नु भएकाे हाे ?

अहिले नजित्दा पनि त जुम्ला देशभर चिनिएकाे छ नि, हाेइन र ? हाम्राे पार्टी अध्यक्ष राजेन्द्र लिङदेनज्यूकाे चुनावी सभामा झापा गएर बाेल्दा उहाँकाे मत बड्छ। त्यसैगरी पूर्व मेचीदेखि पश्चिमसम्म राप्रपाकाे जनमत बढाउन जुम्ली छाेराे जान्छ भने जुम्ला चिनिएकाे हाेइन र ? हामीबाहेक अरु दलकाे जुम्लाबाट गएर देशभरका आमसभामा महत्त्वका साथ बाेल्ने वक्ता भएकाे देख्नुभएकै छ नि। याे त सत्य हाे के रे।

यसपाली सिंजा के भन्छ ?

राप्रपाकाे मलाई नै नभने पनि 'सिंजाली छाेराेले चुनाव जितेकाे हेर्ने चाहना यत्रतत्र देख्छु' भनेर सांसद गजेन्द्रबहादुर महतले सार्वजनिक रुपमै भन्नुभयाे। त्याे भनेकाे शालिन सिंजाली छाेराे मनऋषि धिताललाई भनिएकाे हाे। उहाँलाई पार्टीले टिकट दिएकाे पनि हाे। तर, अन्तिम समयमा उहाँकाे हातबाट टिकट खाेसियाे। यसलाई सिंजाली जनताले आफ्नाे अपमान सम्झेका छन्। सिंजाली जनता अपमानकाे बदला चुनानवबाट दिन तयार छन्।

मैले इमानदारीसाथ याे कुरा पनि भन्नुपर्ने हुन्छ,- मनऋषि दाइ चुनावी मैदानमा आएकाे भए मलाई उहाँसँग चुनावी मैदानमा हुनु कताकता नरमाइलोका साथै केही कठिन पनि हुन सक्थ्याे। याे देशलाई चाहिने एक सालिन र बाैद्दिक नेतृत्वलाई चुनावबाट अनुमाेदित भएर आउने बाटाे जबर्जस्ती बन्द गरिएकाे छ। यसमा म अत्यन्तै दु:खी छु। उहाँबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन्।

तर, कथित गठबन्धन वा जुम्लाकाे माओवादीले समेत मनऋषि जस्ताे इमानदार र निष्ठावान व्यक्तिले पाएकाे टिकट खाेस्नु गठबन्धन दलका कार्यकर्ता र भाेटरमाथि पनि घाेर अपमान हाे। जसकाे जवाफ मतदाताले व्यालेट बक्समार्फत् दिनुपर्छ।

उहाँलाई मैदानमा आउन राेक्नेहरु केन्द्रका नेताका बाउरेहरु नै हुन। राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा छवि निर्माण गरिसकेकाे मान्छेलाई मैदानमा आउनबाट राेक्न 'माओवादी दलालकाे चंगुलमा फसेकाे पार्टी' भनियाे। 'बाबुराम काेटाकाे मान्छेलाई कसरी भाेट हाल्ने'सम्म भनियाे। लेखियाे। परिस्थिति आफ्नाे फेवरमा आउने बित्तिकै रातारात बाेली फेरियाे।

आफू हुँदा पार्टी, सिद्धान्त र नेतृत्व सब ठीक, आफू नहुँदा सबै बेठीक भन्नेहरुलाई सिंजाली जनताले राम्राे सबक सिकाउनेछन्। सिंजाले सिकाउनेछ। मैले सिंजाली जनतासँग अन्तरक्रिया गर्दा यही बुझेकाे छु।

अन्य दलहरुले उम्मेदवारकाे टुङ्गाे नलगाउँदै तपाईं तीनपटक जुम्ली जनताकाे घरघर पुगिसक्नु भएकाे थियो। जनताकाे प्रतिक्रिया के पाउनुभयाे ?

हामी अहिले जुम्लाका दुई सय १८ गाउँमा लगभग सबै गाउँका जनताकाे घरदैलाेमा पुगिसकेका छाैं। हामी जनताकाे घरमा पुग्दा उनीहरुले अनाैंठाे माने। यसअघि उम्मेदवार धेरैजसाे गाउँमा पुग्ने रहेनछन्। आमसभामा बाेलाएर भाषणमा विभिन्न आश्वासन दिएर पठाउँदा रहेछन्। हामी आफैं पुग्दा अत्यन्तै जनता खुशी छन्।

उनीहरुकाे गाउँकाे बाटाेघाटाेकाे दुरावस्था, स्कुलहरुका बेहाल, खानेपानी, बिजुलीजस्ता आधारभूत आवश्यकताकाे अभाव, स्याउ, आलुलगायत उत्पादनहरूकाे बजारीकरण र व्यवस्थापन नभएकाे, कतै टावर हुने पावर नहुने त कतै पावर हुने तर टावर नहुने संसारकाे कहालीलाग्दो अवस्था प्रत्यक्ष अनुभूत गर्न पायाैं। अब यी सबै समस्या हाम्रा पनि भएका छन्। दशैलगतै आएकाे अविरल वर्षाका कारण जुम्लाभरिका गाउँ बस्तीहरूमा ठुलाे जनधनकाे क्षति भएकाे छ। यसका पनि म र मेरा साथी-भाइहरू र सहयाेगीहरूले निरन्तर आफूले सक्ने जति साथ सहयाेग जनतामाझ बसेरै खटेर गरेका छाैं। जसले गर्दा मलाई यसले भाेलिका दिनमा हाम्रा गाउँ बस्तीहरुलाई कसरी सुरक्षित र व्यवस्थित बनाउन सकिएला भन्नेमा साेच्न बाध्य बनाएकाे छ।

मैले केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर कर्णालीकाे विजुली समस्या तत्काल सुल्झाउन आग्रह गरेकाे थिएँ। उहाँले २५ अर्ब तत्काल छुट्याउनुभयाे। मञ्चमा ज्ञानेन्द्र शाहीकै कारण याे रकम कर्णालीकाे विद्युत् विकासका लागि गयाे समेत भन्नुभयो।

पातरासीकाे सञ्चार समस्याबारे सञ्चारमन्त्रीलाई भनेका छाैं। उहाँले समस्या समाधान गर्छु भन्नुभएको छ। नभए चुनावपछि हाम्रा प्रमुख जनसरोकारका मुद्दा यिनै हुनेछन्।

अबका दिनमा पनि फेरि–फेरि जनताकाे घरघरमा जानेछाैं। बाँकी रहेका सबै गाउँमा पुग्नेछाैं। उनीहरुका समस्या हामीले काम गरेर देखाउनकाे लागि मार्गदर्शन हुने छन्। यत्ति गर्न सकिए पनि जनतालाे धेरै राहत महसुस गर्ने छन्। दलीय व्यवस्था र प्रजातन्त्रकाे अनुभूत गराउन सक्नु हाम्राे प्रमुख दायित्व हाे, भन्याैं। जनताले हामीलाई जसरी पनि चुनाव जिताउँछु भनेका छन्।

चुनाव जिताउँछु भनेर मुखले भन्नु र व्यालेट बक्समा भाेट खसाल्नु अलग कुरा हुन नि ?

जहाँसम्म हामीलाई जनताबाट त्यस्ताे हुँदैन भन्ने लाग्छ। अहिले चुनावी मैदानमा हाेमिएका अधिकांश नेताहरु माननीय, मन्त्री भइसकेका र कुनै न कुनै रुपमा सरकारी संयन्त्रमा काम गरेका छन्। तर, उनीहरुले जनतालाई के दिए ? के नयाँ काम गरे ? दाेहाेरिएर भाेट पाउनलाई केही त गरेकाे हुनुपर्ला नि ? भाेट माग्ने नैतिक अधिकारसम्म गुमाइसकेकाहरुलाई जनताले राम्ररी चिनिसकेकाे प्रतिक्रिया पाएकाे छु। नेपाली काँग्रेस जिन्दावाद्। भाेट केमा माओवादीकाे हँसिया हथाैडामा, भन्नुपर्ने यस्ताे नैतिक पतनकाे पराकाष्ठा र धरातल गुमेकाे राजनीति संसारमा कहीँ कतै हुँदैन। याे गाईजात्रा जुम्लाका अहिलेका चेतनशील पार्टीका नेता, कार्यकर्ता, जनता र मतदाताले राम्रैसँग बुझेका छन्। त्यसकारण बाेली र ब्यालेट बक्समा फरक पर्छ भन्नू जनताकाे ठुलाे अपमान हाे।

तर, हामीलाई चुनाैती भनेकाे तथाकथित गठबन्धलवालाले सत्ता, शक्ति र धनकाे प्रयाेग गरेर जनतालाई प्रभावित पार्ने र मतदान केन्द्रहरू क्यापचर गर्ने प्रयास र गर्न सक्छन्। आदरणीय मतदाताहरुलाई आम रुपमा सजक रहन र यसकाे प्रतिकार गर्न म अनुराेध गर्दछु। हामी पनि याे कुरालाई मध्यनजर राखेर यसकाे जवाफ दिन र राेक्न सक्षम र सबल छाैँ।

तपाईंका चुनावी मुद्दा के हुन ?

मसँग झुठो आश्वासनकाे पाेकाे छैन। म काम गरेर देखाउने मान्छे हुँ। जनताकाे काम गर्छु। बस यत्ति हाे।

संसदीय व्यवस्थामा चुनावी घाेषणापत्र बाेल्नुपर्छ भनिन्छ नि ?

घाेषणापत्र पनि त व्यवहारिक र गर्न सकिने हुनुपर्ला नि। घाेषणापत्रलाई झुठकाे पुलिन्दा बनाउने। ठुला-ठुला सपना देखाउने र चुनावपछि कागजकाे खाेस्टाे बनाउनु जसबाट जनता विगतमा आजित भइसकेका छन्। यसर्थ, मैले झुठकाे पुलिन्दा बनाउनुभन्दा सीमित मुद्दा बाेक्नु राम्राे हाे।

त्यसाेभए तपाईंका मुद्दा के हुन् ?

म यहाँका बहुसंख्यक किसानकाे उत्पादनकाे बजार समस्या हुन दिने छैन। उहाँहरुकाे उत्पादनलाई सरकारले नै किनिदिने कानुन बनाउने ग्यारेन्टी दिन्छु। यस्तै हाम्राे पहिचान भनेकाे खस भाषा हालकाे बाेलीचालीकाे नेपाली भाषा, सिंजा सभ्यता र संस्कृति हाे। जसले हामी जुम्लीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकाे छ। यसकाे संरक्षण र बिस्तारका लागि कानून, नीति बनाउन र बजेट व्यवस्थापनमा हरपल मेरा बलबुताले भ्याएसम्म लडिरहनेछु।

कानुन बनाउनलाई त संसदमा बहुमत चाहिन्छ नि ? राप्रपाले बहुमत ल्याउने सम्भावना देखिदैन त ?

मैले माथि नै भनिसकेँ राप्रपा अब देशकाे तेस्राे शक्ति हाे भनेर। याे चुनावपछि देखिने नै छ। कथमकदाचित नभए पनि राम्राे कानुन ल्याउन खाेज्दा कसैले अवरोध गर्दैन। त्याे कानुन पास गराउनका लागि वातावरण बनाउने जिम्मा मेराे हाे। यसमा म सफल हुनेमा ढुक्क छु।

हवस्, समय र विचारका लागि तपाईंलाई धन्यवाद छ।

कर्णालीमा सबैभन्दा धेरै पाठकले रुचाएकाे तपाईंको लाेकप्रिय अनलाइन ब्रेकएनलिंक्स डट कमलाई याे महत्त्वपूर्ण अवसरका निम्ति धेरै-धेरै धन्यवाद।

प्रकाशित मिति: : 2022-10-28 22:00:00

प्रतिकृया दिनुहोस्