सांस्कृतिक रूपमा वृद्धावस्था सौभाग्यले प्राप्त हुने कुरा हो। घरमा ज्येष्ठ नागरिक हुनु परिवारकै प्रतिष्ठाको विषय पनि हो। तर, उपभोगवादी प्रवृत्ति बढ्दा ज्येष्ठ नागरिकलाई आफ्नै सन्तानले बोझ मान्न थालेका छन्। सम्पत्ति हत्याउने लोभमा ज्येष्ठ नागरिकको हत्या–हिंसाका घटना बढ्दै छन्। कमजोर आर्थिक अवस्था भएका मात्र होइन, सम्भ्रान्त परिवारकै सन्तानले आमाबाबुलाई भार ठानेर वृद्धाश्रममा राखेका वा अपरिचित ठाउँमा पुर्याएर अलपत्र पारेका घटना समेत निकै सुनिन्छन्।
ज्येष्ठ नागरिकका यी समस्या समाधान गर्न उपयुक्त कानूनी प्रावधान आवश्यक थियो जसलाई भर्खरै जारी भएको ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) ऐन २०७९’ ले सम्बोधन गरेको छ। यसअघि ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह गर्ने जिम्मेवारी परिवारका सदस्यको दायित्वका रूपमा रहँदै आएको थियो। भदौ ५ गते राजपत्रमा प्रकाशित संशोधित ऐनले भने ज्येष्ठ नागरिकको संरक्षणको जिम्मेवारी राज्यको हुने भनी सुनिश्चित गरेको छ। त्यसमा उल्लेख छ, ‘असहाय ज्येष्ठ नागरिकको अधिकतम हित प्रवर्धन गर्न तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था गरिनेछ।’ परिवारभित्रको समस्या भन्दै ज्येष्ठ नागरिकलाई घरभित्रै हुने दुर्व्यवहार रोक्न ऐनमा कानूनी उपचारका लागि आवश्यक ‘हकदैया’ समेत विस्तार गरिएको छ।