चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको छ।
राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन।
चिनियाँ कम्युनिस्ट पार्टीको यो अधिवेशनबाट राष्ट्रपति सी जिन्पिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित गर्ने ठानिएको छ।
पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको छ।
सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए। प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ।