‘स्वतन्त्रलाई जिताउनुहाेस्, एमसीसीजस्ता राष्ट्रघाती सम्झाैता रोक्छौँ’ (भिडियाेसहित)

स्वतन्त्र अभियानका एउटा ‘युथ आइकन’ अनुप बोहरा यतिबेला चुनावी मैदानमा होमिएका छन्। उनी प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार हुन्। गत स्थानीय तहको निर्वाचनमा ‘बालेन अभियान’का सारथि उनी यसपटक आफै चुनावी मैदानमा उत्रिएका छन्। 

‘मतदाताले सुन्न र बुझ्न जरुरी छ। मतदाताले उम्मेदवारलाई चिन्नुहोस्। फरक छुट्याउनुहोस्। काे उम्मेदवार कहाँबाट आएको हो? कसरी राजनीतिमा आए? के–कस्ता एजेन्डा छन्,’ उम्मेदवार बोहराले भने।

उनी आजभोलि प्रचारप्रसारमा छन्। दिनदिनै मतदाता भेट्छन्। आफ्ना एजेन्डा सुनाउँछन् अनि जन्मथलोका मतदातालाई मत माग्छन्। ‘परिवर्तन र आर्थिक समृद्धिको एजेन्डा अंगालेको छु। भ्रष्टाचार हटाउने मेरो मूख्य लक्ष्य हो। देशमा ब्यापक भ्रष्टाचार र बेरुजु छ। काठमाडाैं–२ का जनताले यसपालि दलहरूकाे विकल्प खाेजनुपर्छ,’ उनले भने।

त्यसो त युवा अभियन्ता बोहरा ‘टुरिस्ट उम्मेदवार’ होइनन्। काठमाडौंमै जन्मे। काठमाडौं हुर्के। काठमाडौंलाई नै कर्मथलो बनाएका उनी काठमाडौं–२ का मतदाता रिझाउने एउटा अभियानमा छन्। ‘खुकुरी क्रस’ चुनाव चिन्ह लिएर टोल–टोलमा पुग्दा मतदाताबाट सकारात्मक सुझाव पाइरहेका छन्। बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका उनी व्यवसायीसमेत हुन्। 

‘एउटा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा जाँदै गर्दा एमसीसी, नागरिकता विधेयकजस्ता राष्ट्रघाती सम्झाैता रोक्ने छौँ,’ बोहराले भने, ‘कांग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता राजनीतिक दलहरूले जनतामाथि पटकपटक घात गरे। त्यसकारण मंसिर ४ पछि स्वतन्त्र उम्मेदवारहरूलाई जिताउनुपर्छ।’

स्थानीय युवा तथा अग्रजहरूको सल्लाहमा काठमाडौं–२ बाट उम्मेदवारी दिएका उम्मेदवार बोहरा हर–प्रहर जनतासँगै छन्। मतदाताको चासो गुनासो सुन्छन्। दिगो विकास र ‘काठमाण्डू सपना’बारे चर्चा गर्छन्, उनी।

‘म काठमाडौंको बासिन्दा हुँ। राजनीति मेरो कर्म हो। मेरो आफ्नै पेशा छ। राजनीतिलाई पेशा ठान्दिनँ। दलगत स्वार्थभन्दा माथि उठेको छु,’ बोहराले भने, ‘काठमाडौं–२ बाट चुनाव जितेर गएका कैयौँ नेताहरू हराए। यसपटक पनि चुनाव लड्नकै लागि कतिपय नेताहरू मेरो निर्वाचन क्षेत्रमा आएका छन्। उनीहरूका कुनै विकासे एजेन्डा छैनन्।’ 

एकातिर सत्ता गठबन्धन अनि अर्कोतिर एमाले गठबन्धन। तर यी दुबै गबन्धनभन्दा भिन्नै चुनावी अभियानमा छन्, उनी। ‘केटीएम–महानगर’का मेयर बालेन शाहलाई जिताउन खटिएका उनी नयाँ प्रचारशैलीमा छन्।

‘भ्रष्टाचार अन्त्यको एकै माध्यम भनेको सूचना प्रविधि आयोग हो। आयोगमार्फत् दश हजार युवालाई सरकारी संयन्त्रमा राखेपछि सरकारी कार्यालयहरू आयोगको नियन्त्रणमा रहन्छन्। म यसकाे मुख्य अभियन्ता हुँ,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2022-10-22 23:02:00

प्रतिकृया दिनुहोस्