‘महापुरुष’ बुबाआमाको आँखाबाट बनेकाे छ

निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशकमध्येका एक हुन्।

ठूला ब्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयार छन्। टेलिफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक गरिसकेका छन्। 

जात्रा, शत्रु गते, जात्रैजात्रा निर्देशन गरिसकेका प्रदीपले बक्स अफिसमा व्यावसायिक नम्बरसँगै समीक्षकको रेटिङ पनि बढाउन सफल भइसकेका छन्। 

आउँदो तिहारमा उनी आफू निर्देशित चौथो फिल्म ‘महापुरुष’ लिएर दर्शकसामु आउँदैछन्। दुई पुस्ताको प्रेम देखाएको फिल्ममा उनले एक्लोपनको कथा भनेका छन्। लेखक र निर्देशकको दायित्वमा रहेका भट्टराईले यसपटक अझै परिपक्कता फिल्ममा देखिने बताउँछन्।

समाजमा विद्यमान गम्भीर विषयलाई सरल प्रस्तुतिमार्फत तोड्ने आँट आफूसहित टिमले गरेको उनको भनाइ छ। दर्शक र समीक्षकको विश्वास बढ्दै गर्दा उनमा दायित्व बढेको छ। फिल्मसँग कुनै साइनो नरहेको प्रदीपको सफलताको कथा फिल्मभन्दा कम छैन। 

सर्टिफिकेट हराएको मान्छे

प्रदीप सर्लाही हरिवनका बासिन्दा हुन्। उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित तथा निर्देशित टेलिसिरियल बाल्यकालमै हेरेका थिएँ। उनलाई विज्ञापन, १५ गते, लालपुर्जा मन पथ्र्यो। गाउँमा जाग्राम बस्ने अवस्था आउँदा रातिको समयमा उल्लेखित सिरियलहरू उनले हेरेका थिएँ।

‘०४८/०४९ सालमै उहाँहरूको एक किसिमको प्रभाव परिसकेको थियो। त्यसैले मलाई कला र यसका गतिविधितर्फ अगाडि बढ्न मद्दत गरे जस्तो लाग्छ’, प्रदीपले भने। गाउँबाट एसएलसीको सर्टिफिकेट लिएर कलेज पढ्न काठमाडौं आएका प्रदीपलाई रेडियो नेपालमा पुग्ने र हेर्ने रहर थियो। उनी संगीत र कलासँग नजिक हुन चाहन्थे। यद्यपि सिंहदरबारमा प्रवेश पाउन मुस्किल थियो। आफूसँग रहेको साइकलको पछाडि सर्टिफिकेट च्यापेर सहर घुम्ने क्रममा त्यो पनि हरायो। 

‘सर्टिफिकेट हरायो। तर भेट्ने व्यक्ति आर्मी हुनु हुँदोरहेछ। उहाँ सिंहदरबारभित्र रहेकाले पहिलोपटक प्रवेशको मौका मिल्यो। रेडियो नेपाल पनि पुगें’, उनले भने। त्यसपछि सिंहदरबार प्रवेश गर्न उनलाई सहज भयो। पुल्चोकबाट हिँडेर उनी ठमेलस्थित सरस्वती क्याम्पस पढ्न जान्थे। कलाप्रतिको लगावले नै उनलाई त्यो क्याम्पस छनोट गर्न सघाएको रहेछ। 

‘सरस्वती नाम भएपछि अरु क्याम्पस हेरेनौ। स्ववियुका विद्यार्थीमार्फत भर्ना हुने भनेर केही शुल्कसमेत मसहित साथीले तिरेका थियौँ। यद्यपि दिनहुँ हुने हुलदंगाले पढाइ राम्रो हुन सकेको थिएन’, उनले भने। यसले गर्दा उनले पढाइसँगै काम पनि खोज्न थाले।

फिल्मसँग सम्बन्ध 

निर्देशक भट्टराई पुल्चोकबाट पढ्न सरस्वती क्याम्पस ठमेल पुग्ने गर्थे। सोही क्रममा थापाथलीमा पत्रिका पढ्ने क्रममा गुण सिनेमालाई पाँचौ वार्षिकोत्सवको शुभकामना देखे। उनले त्यहाँ निर्माता तैयव शाहको नम्बर देखे। पढाइ राम्रो नभएकाले आफ्नो लगावको क्षेत्र फिल्महरूमा काम गर्ने सोचका निर्माता शाहलाई साथ फोन गरे। ‘मैले कुरा गरेर तत्कालीन समयमा नर्भिक हस्पिटलकै छेउमा रहेको तैयव दाइको अफिसमा भेट्न गएँ। म उहाँहरूसँग केही काम पाइन्छ कि भनेर नजिक हुन थाले’, प्रदीपले भने। 

उनी पहिलोपटक निर्माता शाहकै फिल्म ‘बैमानी’ को छायांकनमा जोडिने मौका पाएँ। उनी छायांकनमा पुगे पनि त्यहाँ कुनै जिम्मेवारी भने पाएनन् किनकि अनुभव थिएन। ‘कुनै तोकिएको जिम्मेवारी नहुँदा सबै काम गर्थें। त्यो देखेर फिल्मको क्रिउलाई यसले केही गर्न सक्छ भन्ने लागिसकेको थियो। त्यही प्रभावले मैले काम पाएँ’, उनले भने। त्यही क्रममा विजय चालिसेमार्फत उनले विजय थापालाई चिने। त्यो चिनजानले उनलाई कान्तिपुर टेलिभिजनको एक सिरियलमा काम गर्ने मौका दियो। 

मह जोडीसँग काम 

प्रदीपले काठमाडौंमा चार वर्ष बिताइसक्दा पनि मह जोडीसँग काम गर्न पाएका थिएनन्। उनले फाट्टफुट्ट भेट्नुबाहेक संवादसमेत गर्न पाएका थिएनन्। उनलाई रहर नभएको होइन, तर जुरेको थिएन। ‘मुख्य सहायक निर्देशक भएर नारी सिरियलमा काम गर्ने अवसर पाएपछि मेरो चिनजान गौरीशंकर धुजू दाइसँग भयो। गौरी दाइलाई मह जोडीसँग भेट्ने इच्छा सुनाउने गर्थे’, निर्देशक भट्टराईले भने। 

उनको अनुरोध मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसम्म नपुगेको होइन। तर प्रदीपले आफू चिनिने काम गरिसकेका थिएनन्। त्यही कारण हरिवंशले गौरीशंकरको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन्। प्रदीपले आफ्नो प्रयास विफल भएको ‘टिकेको तीन मन्त्र’ सिरियल बन्ने समयमा थाहा पाएँ। ‘नारीको अन्तिम दिनको छायांकन गोदावरीमा भइरहेको थियो। त्यो सकाएर सबै ‘टिकेको तीन मन्त्र’ मा जाने तय थियो। त्यो टिमबाट म मात्र भोलिपल्ट रूम फर्किदै थिएँ’, उनले भने। 

राति अबेरसम्म छायांकन गरेर सम्पूर्ण टोली मह सञ्चारको सिरियलतर्फ लागे। निर्देशक भट्टराई भने गोदावरीमै सिरियलको अफिसमा बसेर भोलिपल्ट चाबहिलस्थित डेरामा फर्किए। उनलाई दिउँसो गौरीशंकरको फोन आयो । महाराजगन्जमा रहेको बटम प्यालेसमा पुग्नुपर्ने सन्देश पाए। ‘हामीले ६ महिना बढी काम गर्‍यौं। छायांकन हेर्न आइज भनेर बोलाएको जस्तो लाग्यो। म हतार नगरी विस्तारै त्यता लागें। म पुग्दा सुमिना श्रेष्ठको सिन छायांकन भइरहेको थियो’, भट्टराईले भने। 

उनी त्यहाँ पुगेपछि कमल मैनालीले ‘कन्टिन्युटी सिट’ दिए। त्यसपछि उनलाई आफू पनि सिरियलको एक सदस्य रहेको जानकारी भयो। गौरीशंकरले हरिवंशलाई काम हेर्नु भन्दै जबर्जस्ती नै मनाएका रहेछन्। पहिलो दिन नै भए पनि उनीभित्रको निर्देशक शान्त थिएन। उनी चित्त नबुझेको कुरा भन्न चाहन्थे। तर पहिलो दिन नै उनले त्यो आँट गर्न सकेनन्। 

‘मलाई लागेको कुरा गौरी दाइ, कमल दाइलाई भन्थें। विस्तारै त्यो सल्लाहहरू मदन दाइ र हरि दाइसम्म पुग्न थाल्यो। ती सल्लाहमा विचार हुन थालेपछि मैले भन्न थालें। दिन बित्दै जाँदा मलाई देखाउँदै त्यो भाइको सल्लाह राम्रो छ भन्न थाल्नुभयो। लगभग दुई साताको छायांकनको समयमा मैले विश्वास जित्न सफल भएँ’, उनले भने। त्यही सिरियलको सम्पादन, संगीतसहित अन्य काममा प्रदीपलाई महले विश्वास गर्दै जिम्मा दिएँ।

‘छायांकनकै क्रममा एकदिन च्याट गर्नुपर्ने दृश्य थियो। कसरी खिच्ने भन्ने सल्लाहकै बीच दुई कम्प्युटरमार्फत खिच्न सकिने आइडिया सेयर गरे। त्यो हरिदाइलाई मन परेछ। त्यसपछि मह सञ्चारको नछुट्ने सदस्य बनें,’ भट्टराईले भने। 

महलाई निर्देशन 

प्रदीपको सल्लाह लिन थालिएपछि उनले झनै भन्ने आँट बटुले। उनी कारणसहित स्पष्ट थिए। त्यही शैली मह जोडीलाई मन परेको थियो। दुई वर्षपछि मुख्य सहायक निर्देशक भएर प्रदीपले महलाई निर्देशन गर्ने मौका पाए। ‘मैले एक्सन कट त पहिला नै भन्थें। तर एकदिन हरिदाइसँग गाडीमा जाँदै गर्दा मलाई एउटा सिरियल लेख्नुहुन्छ भनेर सोध्नु भयो। पाएको अवसरलाई सदुपयोग गर्दै हुन्छ भनें’, उनले भने। त्यही सिरियल ‘लेफ्ट राइट लेफ्ट’ मार्फत प्रदीपले लेखक र मुख्य सहायक निर्देशक भएर काम गर्ने अवसर पाए। 

मह जोडी पर्दामा हुँदा दृश्य भयो कि भएन भनेर निर्णय लिन उनलाई गाह्रो हुन्थ्यो। ‘उहाँहरूको दृश्य खिच्दा गौरीशंकर दाइलाई हेरेर के छ भनेर सोध्नुहुन्थ्यो। पछाडि त्यो विश्वास मतर्फ पनि सर्दै गयो। विश्वाससँगै जिम्मेवारी पनि बढ्यो’, निर्देशक भट्टराई भन्छन्। ‘रि–टेक’ लिउँ भन्दा प्रदीपलाई गाह्रो हुन्थ्यो। कारण खुलाउनुपर्ने साथै लिजेन्डलाई यो भएन भनेर भन्न गाह्रो हुने। यो समस्या प्रदीपलाई ‘आउटडोर’ मा धेरै हुन्थ्यो। ‘मदन दाइ र हरिदाइले कहिले गाह्रो मान्नु भएन। हामीलाई पर्दामा देखाउन भनेको हो भनेर एकै दृश्यलाई पनि कयौंपटक गर्न तयार हुने गर्नुहुन्थ्यो’, प्रदीपले भने। 

मह सञ्चार हुँदै फिल्म निर्देशक बनेका प्रदीपको प्रगतिले हरिवंश खुसी छन्। ‘हामीबाट सिक्दै करिअर सुरू गरेर हामीलाई नै सिकाउँदा गर्व लाग्छ। उनले गरेको मेहनतले यो स्थान दिएको हो’,अभिनेता आचार्यले भने। उनले निर्देशक भट्टराईको बारेमा अन्य फिल्मकर्मीमार्फत सकारात्मक कुरासँगै सफलता सुन्ने गरेका छन्।

अभिनेता आचार्यलाई प्रदीपको स्क्रिप्टप्रतिको गम्भीरता मन पर्छ। ‘उनले छनोट गर्ने विषय र त्यसलाई पर्दामा ल्याउँदा तयार पार्ने स्क्रिप्टले उनको ग्रोथलाई देखाउँछ। उनले गरिरहेको कामलाई इमान्दार भएर गर्छन्। यसैले उनलाई सफल बनाइरहेको छ’, अभिनेता आचार्यले भने। 
प्रदीपले टेलिफिल्म हुँदै फिल्ममा निर्देशन गर्दा अभिनेता मदनकृष्ण श्रेष्ठ खुसी छन्। ‘प्रदीपले बनाउने फिल्मले दर्शक मन जितिरहेको छ। उनले यो स्थानसम्म आउन गरेको मेहेनतले अझै सफलता दिलाउनेमा विश्वस्त छु। उसले दिने भूमिका मान्छेलाई राम्रोसँग बुझेर मात्र दिन्छ’, अभिनेता श्रेष्ठले भने। उनले प्रदीपले मेहनत गरेसम्म सफल भइरहने बताए। 

महको प्रेरणा 

मदनकृष्ण र हरिवंशबाट जीवन सिकेको प्रदीप बताउँछन्। महलाई आफ्नो स्कुल मान्ने प्रदीपले सिकेको जीवन र सरलतालाई अगाडि बढाइरहन चाहन्छन्। ‘उहाँको स्कुलबाट निस्केको विद्यार्थी हुँ। मैले केही बिराए भने उहाँहरू असर पर्ने हो कि भन्ने डर पनि लाग्छ’, उनले भने। उनले गर्ने काम हलभित्र मात्र नभई बाहिरसम्म पनि मस्तिस्कमा आओस् भन्ने चाहन्छन्। 

‘मैले रेकर्डका लागि काम गरेको छैन। इमानदार भएर फिल्म बनाउने कोसिस गरिरहेको छ। परिपक्व कामसँगै कथामा देखियोस् भन्ने लाग्छ’, उनले भने। महापुरुषसम्म आइपुग्दा पहिलो फिल्म नै यो किन गरिनँ भन्ने प्रदीपलाई लाग्ने गरेको छ। किनकि फिल्मले मनोरञ्जनसँगै प्रभाव पनि छाड्न सक्ने, समाजलाई फरक पक्ष देखाउन सक्ने उनी बताउँछन्। फिल्म जत्तिको बुझाइ शिक्षा वा अन्य माध्यमबाट पाउन नसकिने उनले बुझेका छन्। 

अभिभावकको आँखा महापुरुष 

‘महापुरुष’ भन्दा अगाडि जात्राकै तेस्रो शृंखला ल्याउन प्रदीपलाई धेरैले सुझाएका थिएँ। किनकि त्यो ‘ब्ल्यांक चेक’ भन्दा कम थिएन। बक्स अफिसमा सफलता डिजिट छाडेर नयाँ नाम र कथालाई उनले ल्याउँदैछन्। किनकि उनलाई आफ्नो काममा अझैँ परिपक्वता देखाउनु छ। आफूलाई विश्वास गरेर हलसम्म आउने दर्शकलाई उनीहरूकै कथा देखाउनु छ। ‘यो एक्लोपनको कथा हो। हामीले हाम्रो आँखाबाट अभिभावकलाई हेर्छौं। तर उनीहरूको आँखाबाट संसार हेर्ने, इच्छा बुझ्ने काम कहिले गरेनौँ। त्यही झक्झकाउने गरी गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरेका छौँ’, उनले भने। 

फिल्ममा मह जोडीसँगै गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ। यही फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दैछन्। षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ। 

प्रकाशित मिति: : 2022-10-20 12:15:00

प्रतिकृया दिनुहोस्