दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बस्दै आएका किशोर–किशोरीको शव आइतबार दिउँसो फेला पर्यो।
प्रहरीका अनुसार शव फेला पर्नेमा दमार गाउँ बस्ने १५ वर्षीया रोशनी महतरा र दमार गाउँ मामा घरमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्य रहेका छन्।
उनीहरु चार दिन अघि (यहि २७ गते रातीदेखि) घरबाट हराएका थिए। २८ गते किशोर आचार्यका हजुरआमाले प्रहरीमा नाती हराएको भन्दै खोजि गरिदन भनेकी थिइन्। २८ गते दुबै जना घर नफर्किएपछि २९ गते (हिजो) दुबै जनाको खोजीकार्य सुरु भएको थियो।
खोजतलास गर्दै जाँदा चार दिनपछि दुबै जनाको शव दमार गाउँको सामुदायिक वनमा एउटै खाडलमा गाडेको अवस्थामा स्थानीयले भेटाएका हुन्।
‘मध्येरातमा बचाऊ–बचाऊ भन्ने आवाज सुनिएको थियो’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१३ का अध्यक्ष मोहन पौडेलका अनुसार २८ गते मध्येरातमा केटीका गाउँका स्थानीयले बचाऊ–बचाऊ भनेको अवाज सुनेका थिए।
‘२७ गते राती केटा घरबाट निस्किएका थिए भन्ने छ। भोलिपल्ट (२८ गते विहान) केटी पनि घर थिइनन् भन्ने जानकारी आएको छ,’ वडाध्यक्ष पौडेलले भने, ‘२७ गते मध्येरातमा केटीका गाउँकाले जंगलमा बचाऊ–बचाऊका आवाज सुनेका थिए रे।’
पौडेलले दुबै जना हराएको खबरपछि २९ गतेदेखि नै उनीहरुको खोजी गरिएको बताउँदै आज (आइतबार) दिउँसो दमार गाउँको जंगलको एक खोल्सामा गाडेको अवस्थामा दुबै जनाको शव फेला पारेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले घटना शंकास्पद रहेको बताए।
किशोर–किशोरी दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा कक्षा ९ मा पढ्दै आएका थिए। किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन्। किशोर सानै उमेरदेखि मामाघरमा बस्दै आएका थिए।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली खटिएको छ। दुबै जनाको शवलाई राप्ती प्रादेशिक अवस्पतालमा ल्याउने तयारी भइरहेको छ।
उक्त घटनास्थल तुलसीपुर बजारदेखि दक्षिण तर्फ पर्छ।