‘बालेन’ फोविया

‘स्याबास् ! हर्क साम्पाङ विपत्-विभेदमा परेको मान्छेको आँसु पुछ्नुभन्दा ठुलो धर्म-कर्तव्य अरु केही हुन्न। मानवताभन्दा माथि अरु केहीहुन्न।’ याे पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार काठमाडाैँ महानगरपालिकाले गरेको सडक पेटी खाली गर्ने तथा फुटपाथ व्यवसायीप्रति गरेको कडाइको अप्रत्यक्ष विरोधमा गरेको ट्वीइट हाे।

एकजना ठेलामा व्यापार गर्ने महिलाले महानगरले फुटपाथ खाली गर्दा उठाएका सामानहरु लगेर राख्ने ठाउँमा आफूले व्यापार गर्ने ठेला समातेर रोइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडाैँ महानगरले गरेको कार्यप्रति पक्ष र विपक्षमा धेरै धारणाहरु आइरहेका छन्। हुन त काठमाडाैँ महानगरले अर्थात् बालेनको कार्यलाई लिएर सामाजिक सञ्चाल तातेको यो पहिलो पटक भने होइन।

काठमाडाैँ महानगरपालिकाका मेयरको उम्मेदवारी दिएसंगै बालेन शाहको बारेमा केही सकारात्मक र केही नकारात्मक टिप्पणी सुरु भएको थियो। विषेश गरी राजनीतिक दलका नेताहरु, समर्थक र केही राजनीतिक दलसँग नजिक रहेका मिडियाहरुले उनको बारेमा टिप्पणी सुरु गरेका थिए। बालेनको उम्मेदवारी फगत मिडिया स्टण्डमात्र रहेको र उनले चुनावमा सम्मानजनक मत पनि प्राप्त नगर्ने धेरैको अनुमान थियो। विस्तारै बालेनको चुनावप्रति भइरहेको सकारात्मक सक्रियता, स्थानीयको साथ र सामाजिक सञ्जालमा उनीप्रतिको क्रेज देखेपछि उनीहरू झस्किएका थिए।

बालेनको क्रेजले झस्किएका दलका समर्थकहरुले बालेनले र्‍यापको सुरुवाती दिनहरुमा हानेका केही र्‍यापका टुक्राहरु सामाजिक सञ्जालमा ल्याएर उनीप्रति समाजमा नकारात्मक धाराणा बनोस् भन्ने हेतुले भाइरल बनाएका थिए। तर बालेन निकै संयमित भएर चुनावी प्रचारप्रसार र मिडियामा प्रस्तुत हुने भएकाले त्यस्ता अफवाहले उनलाई केही असर गरेन। अन्ततः उनी भारी मतका साथ काठमाडाैँंको मेयरमा विजय भए।

काठमाडाैँको मेयरमा नियुक्त हुने बित्तिकै उनलाई काठमाडाैँको फोहोर व्यवस्थापन गर्नुपर्ने ठुलो चुनौती थियाे। उनी पदभार सम्हालेकै दिन फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिँदै बञ्चरेडाँडा पुगेका थिए। सुरुवाती दिनमा फोहोर व्यवस्थापनमा उल्लेखनीय सफलता मिलेन।  साेही समयमा महानगरपालिकाकै निर्वाचित प्रतिनिधिहरू, फोहोर व्यवस्थापन गर्ने ठाउँका स्थानीय राजनैतिक दल र अन्य व्यक्तिहरू उनलाई असफल बनाउन सुरुबाटै लागेका थिए।

त्यति मात्र होइन, मन्त्री भइसकेका केही आश लाग्दा नेताहरुले सदनमै महानगर र बालेनबारे खराे टिप्पणी गरेका थिए। नेपाली काँग्रसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले त सदन तथा मिडियामै महानगरलाई फोहोर व्यवस्थापनको नेतृत्व गर्न आफूलाई दिन आग्रह गरेको तर महानगरले चासो नदिएकाले काठमाडाैँ फोहोरमा डुब्नु परेको टिप्पणी गरेका थिए। यस्तै अर्का पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका नेता योगेश्वर भट्टराईले पनि संसदमा विषेश समय लिएरै महानगरको व्यवस्थापन गर्ने योजना एमालेसँग मात्रै भएकाले यसको जिम्मा एमालेलाई दिन आग्रह गरेका थिए।

केही महिनाको रस्साकस्सीपछि अन्ततः फोहोर व्यवस्थापन सहज भयो। त्यसपछि महानगर काठमाडाैँको ट्राफिक समस्याको समाधानका निम्ति भन्दै फुटपाथ व्यव्स्थापन, अवैधानिक रुपमा बनेका संरचनाहरु हटाउन लागिपर्यो। स्वयं बालेन शाह थापाथलीमा रहेको नर्भिक अस्पतालले बनाएको अवैधानिक टहरो भत्काउन दलबलसहित गएपछि मिडिया तथा सामाजिक सञ्चालमा चर्चा बढ्न थाल्यो।

अदालतले तत्काल त्यो संरचना नहटाउन स्टे अर्डर गरेपछि रोकिए तर फुटपाट व्यवस्थापन, अवैधानिक रुपमा बनेका संरचनाहरु हटाउने कार्य भने रोकिएन। काठमाडाैँ-१० बुद्धनगरमा रहेको अल्फाविटा कम्प्लेक्सले बनाएको अवैध संरचना हटाउने समयमा मेयर बालेन शाह र सञ्चालकबीच भएको कुराकानीले पनि केही समय मिडिया र सामाजिक सञ्चाल तात्यो।

त्यसबेला धेरै जसो मिडियाहरुले बालेनको सो कदमको विरोध र समर्थनमा समाचारहरु प्रकाशित गरे। सामाजिक सञ्जालमा भने यसबारे मिश्रित प्रतिकृया आयो। तर यस विषयलाई लिएर ठुला राजनैतिक दलका नेताहरु चुप बस्न सकेनन्। पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले त धम्कीपूर्ण भाषामै बालेन शाहलाई तह लगाउनेसम्मको सार्वजनिक अभिव्यक्ति दिए।

अहिले पुनः ‘एकजना ठेलामा व्यापार गर्ने महिलाले ठेला समातेर रोइरहेको’ तस्बिर भाइरल भएपछि महानगर र बालेनको फुटपाथ व्यवस्थापनको कदमकाे पक्ष र विपक्षमा विभिन्न भनाइहरु आइरहेको छन्। विषेश गरी ठुला राजनैतिक दलका नेताहरु, तिनका समर्थक, दलसँग नजिक रहेका मिडियाहरु र केही अभियानताहरुले महानगरप्रति प्रश्न गरिरहेका छन्।

राजनैतिक दलसँग सम्बन्धित व्यक्ति तथा मिडियाहरु महानगरको रवैया ठिक नभएको साथै महानगरको दायित्व फुटपाथको व्यापार हटाउने नभएर उक्त व्यापारीको व्यवस्थापन गर्ने पनि भएकाले यसबारेमा कठोर नबन्न भनिरहेका छन्। यस्तै सामाजिक सञ्जालमा केही अभियानता तथा बुद्धिजीवीहरुले संसारका विभिन्न विकसित मुलुकहरुमा पनि फुटपाथ व्यापार हुने भन्दै विभिन्न फोटो तथा उदाहरणहरु सामाजिक सञ्जालमा राख्ने गरेका छन्।

तर व्यवस्थापन र रोजगारको प्रश्न बालेनलाई गर्नेहरुले दशकौँदेखि काठमाडाैँलाई केन्द्र बनाएर राजनीति गरेका नेताहरुलाई भने केही भन्ने गरेका छैनन्। देशको राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च ओहोदाका सम्पूर्ण व्यक्तिहरु बस्ने काठमाडाैँ बनाउने जिम्मा महानगरपालिको मात्र पक्कै हैन होला!

काठमाडाैँबाटै चुनाव जितेर संघ तथा प्रदेशमा सांसद तथा मन्त्री बनेकाहरु यस विषयमा बढी जिम्मेवार हुनुपर्ने हो। आफ्नो क्षेत्र व्यवस्थापन गर्ने र रोजगारी सिर्जना गर्न जिम्मेवारी पुरा नगर्ने, उल्टो आफूहरु केही नगर्ने तर महानगरका सकारात्मक कार्यहरुमा दखल पुर्‍याउने तथा आफ्ना समर्थकहरुलाई दखल गर्न उस्काउने गर्नाले उनीहरुको नियतिप्रति नै प्रश्न गर्नुपर्ने भएको छ।

जे होस्, काठमाडाैँ महानगर तथा बालेनको कार्यशैलीको केही समूहले विरोध गरेपनि सर्वसाधारण जनतामा आशाको दियो भने बलेको छ। दशकौँदेखि निसास्सिएको साघुँरा काठमाडाैँका फुटपाथ र बटुवाहरु खुला पैदल मार्गमा रमाउने बाटोतर्फ अगाडि बढेको छ। यसले देशमा केही गर्छु भनेर लागिपरेका युवा पुस्ताहरुलाई सकारात्मक उत्प्रेरणा मिल्ने छ। तसर्थ तपाईं हामी सकारात्मक कार्यलाई सधैँ रचनात्मक सहयोग गर्न पछि पर्नु हुँदैन।

प्रकाशित मिति: : 2022-10-16 22:00:00

प्रतिकृया दिनुहोस्