घनश्याम पाण्डेले भने– चुनावपछि लुम्बिनीको मुख्यमन्त्री मै हुँ

दाङ–३ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएका एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले अबको लुम्बिनी प्रदेशको मुख्यमन्त्री आफू भएको दाबी गरेका छन्।

तुलसीपुर उपमहानगरपालिकाको पूर्व मेयरसमेत रहेका पाण्डेले शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै आफू मुख्यमन्त्रीको रूपमा उम्मेदवार भएको दाबी गरेका हुन्। 

प्रतिधिसभाका लागि उम्मेदवार बन्न जिल्लाबाट नाम सिफारिस भएपनि पार्टीले उनलाई प्रदेशसभाका लागि टिकट दिएको थियो। प्रदेशसभाका लागि टिकट पाएका पाण्डेले एमालेको सरकार भएमा आफूलाई मुख्यमन्त्रीका लागि पार्टीअघि सार्ने दाबी गरेका हुन्। 

उनले आजसम्म कुनै पनि प्रतिष्पर्धामा हारेको रेकर्ड नरहेको भन्दै आउने मंसिर ४ गते हुने आम निर्वाचनमा पनि जित्ने दाबी गरेका छन्। २४ वर्षको उम्मेरमा तुलसीपुर नगरको उपमेयर भएको सुनाउँदै उनले त्यससमयदेखि नै जनताका लागि काम गरेको र सोही कामका आधारमा जनताले आफूलाई मतदान गर्ने उनको भनाइ छ।

पाण्डेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएमा प्रदेशलाई शिक्षाको हबका रूपमा विकास गर्ने बताएका छन्। ‘चुनावपछि लुम्बिनीको मुख्यमन्त्री मै हुँ। लुम्बिनी प्रदेशलाई शिक्षाकाे हबका रूपमा विकास गर्छु,’ उनले भने, ‘अहिले यहाँका युवाहरू पढ्न विदेश जानुपर्ने अवस्था छ, म अट्रेलिया, युरोपबाट लुम्बिनी अझ् तुलसीपुरमा पढ्न आउने गरी शिक्षामा परिवर्तन गर्छु।’

यद्यपि लुम्बिनी प्रदेशलाई शिक्षाको हबका रूपमा विकास गर्न हालका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारलेसमेत मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरेको छ। तर यस कार्यक्रमको उपलब्धि भने देखिएको छैन।

प्रकाशित मिति: : 2022-10-16 07:18:00

प्रतिकृया दिनुहोस्