डोल्पाली निमा कुन्क्याप

सुन्दर डोल्पाको माटोमा पाइला टेकी
त्यहीको माटोमा रमाएर बाँच्ने अठोट
कस्टकर जीवनबीच सुमधुर धुन बोकी
बिकट डोल्पाली कोपिलाहरूलाई
फक्रिन, अग्लिन सिकाउने
जिन्दगीदेखि बिरक्तिएर भागेकाहरूलाई
लय प्रदान गरिरहेका
बैजिबाराका फूलहरूलाई मलजल गरिरहेका
गुरू भनुँ या मानवताका सेवक
‘निमा कुन्क्याप’ नामले परिचित
बोन धर्मका अनुयायी
मेन्डुप पूजामा, गुम्बामा
डोल्पाली बोन धर्मावलम्बीहरूको मनमा
अनि संसारभरिका मान्छेहरूलाई ज्ञान छर्दै
विश्व शान्तिको कामनाका प्रतीक तिमी
स्तुपाका हर आँखाहरू
ती अवाेध बालबालिकाको
निश्चल, निस्कपट हाँसाेमा
तिम्रै नि:स्वार्थ मन छल्किञ्छ
गाउँमा स्वास्थ्य, शिक्षा र गाउँलेको जीवन
ती सबैमा तिम्रै अदितिय देन छ।

पक्कै पनि अभावमा बाँचेका हातपाउहरूको  
बाध्यता देखेर मुटुमा ठेस पुग्यो होला
सुकर्मले बढेका ती पाइलाहरू
तिमीभन्दा पहिले तिम्रो सहयोगी मन पुग्दो हो
सैसबकालदेखि नियतिको पैठेजोरीं खेल्दै
हजुरबुबाको मार्गमा हिँडेका गुरू
खै ! कुन मनले नमन गरूँ !

अनि,
त्यो कलिलो निर्दोष बाल्यकाल
कसरी बित्यो होला बिकट डोल्पामा !
त्यो त तिमीलाई मात्र थाहा छ
गरिबीले रूमलेका जीवन कस्तो हुँदो हो
सायद पुरै कहरको पहाडले आफूलाई थिच्दाे हो !
र पनि अलिकति पनि नदग्मगाई पाइलाहरू चालीरहयौ
जिन्दगीलाई उर्जा त तिमीले दिन  जानेका छौं।



तिमीले दिने ती वजनदार प्रवचनहरूमा
संघर्षमय, सजीव जीवन भेटिन्छ
हरेक मन्त्रहरूमा जीवनको धुन भेटिन्छ
कष्टको भुङ्ग्रोमा डढेर चमक निकाल्न सक्यौ
ढुंगाजस्तो कठोर समय पनि पगालिदियौ
हो त्यतिबेला नै हो तिमीप्रति अथाह श्रद्धा जाग्ने
अनायासै नयनबाट छछल्किन्छन् खुसीहरू
सामाजिकताभित्र रूमल्दा, गरिबीभित्र गुज्रिरहँदा
तिमीले त्यहाँ तिम्रो धरातल कहिल्यै बिर्सेनौ
र त,
तिमी फैलियौं आशाको किरण बनेर
डोल्पाका हरेक घोडेटोहरूमा
हरेक स्तुपाका मूल ढोकाहरूमा  
जहाँ तिमीले बिताएका थियौँ
सुन्दर बाल्यकाल
त्यही सुन्दर डोल्पाका उकालीहरूमा
हो,
अझै पनि उस्तै छ डोल्पा
उस्तै सुन्दर
उस्तै मनमोहक !

तिमीले खोलेको विद्यालय
आज नि उस्तै छ
तिमीले जस्तै उजेली छर्दै
तिम्रा ती गहकिला प्रवचनहरू
जुन शब्दहरूमा उत्साह हुन्छ
जीवनको ज्योति छ  
नि:स्वार्थ भाव, हंसिलोपन
अनि त्यो शालीन गम्भीरता
सायद,
अजम्वरी सहयोगको रंग तिमीबाटै महशुस भयो
हो,
त्यतिबेला लाग्छ
तिम्रो छाया डोल्पाली गुम्बामा फ़र्फ़राएका छन्
शान्तिको आभास दिलाउँदै !
रंगिन शान्तिका ध्वोजापाटाहरूसँगै  
आफ़्नाे मनको बार्दलीमा
 रंगिन फूलहरू फक्राउन सकेका
आँखा चिम्म पारी
शुन्य मनले तिमीप्रति विश्वास पलाउछ
अनि, आदरणीय गुरू
तिमीप्रति यति धेरै भरोसाका किरणहरू उजागर हुन्छ।

हो, अनि त्यतिबेला सायद तिमीलाई विश्वास नलाग्न सक्छ
अनि आँखा बन्द गरी आफैंलाई सोध्न मन लाग्छ
अन्तरआत्मालाई प्रस्न गर्न मन लाग्छ
तिमीजस्तै सबैतिर उदाए
संसार कति उज्यालो हुन्थ्यो होला
पवित्र मन्त्रहरूले आत्माहरू कति शान्त हुन्थे होला।

प्रकाशित मिति: : 2022-10-15 16:45:00

प्रतिकृया दिनुहोस्