गठबन्धनले आफ्नो पार्टीको नाम नराखेर चुनाव चिन्ह मात्रै राखे हुन्छ?

ओम आचार्य

विराटनगर
BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने र नगर्ने दुई थरीको विचार, दुई थरीको बहस र संवाद चलेको र अन्तमा गठबन्धन गर्नु हुँदैन भन्नेमा पनि सहमति जनाउन पुगे। यहाँसम्म त ठिकै थियो, तर कांग्रेसबाट टिकट पाउनेहरुले निर्वाचन आयोगबाट चुनाव चिन्ह वितरण गर्नुभन्दा पूर्व आफ्नो चुनाव प्रचारमा कांग्रेसको रुखमा मात्र भोट मागे। आयोगले चुनाव चिन्ह वितरण गरेपछि एकाएक 'गठबन्धनका साझा उम्मेदवार', 'वाम लोकतान्त्रिकका साझा उम्मेदवार' भनेर आफ्नो र यिनका शुभचिन्तकहरुले भोट माग्न थालेकोमा आश्चर्य र उदेक लाग्न थालेको छ।

अरु राजनीतिक दलले के गरे र कसरी निर्वाचनमा भोट माग्दै हिँडे त्यसमा होइन, आश्चर्य त कांग्रेसले 'नेपाली कांग्रेस' भनेर जनसमक्ष र आफ्नाहरुलाई  भोट नमाग्नुले बनाएको छ।

राणाविरुद्ध , पञ्चायतविरुद्ध, शाही शासनविरुद्ध लडेर यिनीहरुको अस्तित्वविहीन बनाउने कांग्रेस अहिले निर्वाचनमा कांग्रेस भन्न नसकेर किन रुख मात्रै को कुरा राख्छ? विपीले जन्माएको नेपाली कांग्रेस, विपीले बनाएको कांग्रेसको इतिहास आज निर्वाचनमा यो नाम प्रयोग किन भइरहेको छैन?

लोकतन्त्रात्मक शासन व्यवस्थामा राजनीतिक दलको ठुलो महत्व रहन्छ। त्यसमा पनि लोकतन्त्रको सुरक्षा र सुदृढताकाे पहिलाे सर्त निर्वाचन नै हो। यही मान्यता र आदर्श मानेर, त्यही आदर्श बाकेको पार्टी कांग्रेस आज निर्वाचनमा जाँदा कांग्रेसले कांग्रेस भन्न सकिरहेको छैन।

पञ्चायतकालमा पनि निर्वाचन भएकै हो। त्यो समय पार्टी प्रतिबन्ध रहेको अवस्थामा आन्दोलन गर्ने यी राजनीतिक दल तत्कालीन समयमा निर्वाचन चिन्ह मात्रै लिएर निर्वाचनमा सहभागी भएका पनि हुन्। पार्टी प्रतिबन्धित हुँदा बहुदलको माग गर्दै हिँड्ने यी दलहरु अहिले बहुदलीय व्यवस्था विद्यामान रहँदा रहँदै निर्दलीय रुपमा नेपाली कांग्रेसलगायत अन्य चार दल निर्वाचन चिन्हमा मात्रै प्रचारप्रसारमा रहनु निश्चय नै भविष्यको लागि राम्रो मान्न किमार्थ सकिँदैन।

नेपाली कांग्रेस र अन्य चार दल पनि यसरी नै प्रस्तुत हुनु बहुदलीय व्यवस्थामाथि घातको रुपमा लिनुपर्छ र त्यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। एउटा प्रश्न उठ्छ, पाँच दलीय गठबन्धनमा यस्तो के बाध्यता, समस्या आयो यिनीहरुले आफ्नो राजनीतिक दलको नाम लिन चाहिरहेका छैन? यो बाध्यता, यो समस्यालाई प्रतिगामी विचार किन नभन्ने?

राजनीतिक दलको नाम लिन नसक्ने यी पाँच दलीय गठबन्धनले किन साझा घोषणापत्र आवश्यक ठानेन? किन साझा घोषणापत्र बनाउन सकेनन्, तर साझा उम्मेदवार चाहिँ भन्न हिच्किचाएनन्?

अहिले पाँच दलीय गठबन्धनले आफ्नो पार्टीको नाम परिवर्तन गरेर के नेपाली कांग्रेसबाट रुख भएको हो? नेकपा एकीकृत समाजवादीले नाम परिवर्तन गरेर कलम मात्रै भएको हो? माओवादीले पनि नाम माओवादी हटाएर आफ्नो लोगोमा मात्रै आएको हो? यस्तो प्रवृति, विचारले निर्दलीयलाई मात्रै प्रोत्साहित गर्छ।

यो कुरा अन्य राजनीतिक दलले कसरी लिएका छन्, त्यो विषय गम्भीर होला/नहोला तर नेपाली कांग्रेसले यसरी प्रस्तुत हुनु गम्भीर र पार्टीगत दोष हो। यसमा पार्टी सभापति शेरबहादुर देउवा मात्रै देषी छैनन्, पार्टीको सम्पूर्ण पदाधिकारी र निर्वाचनमा टिकट पाएर युद्ध जिते जस्तै गरेर होमिएकाहरु पनि उत्तिकै दोषी छन्। यस अर्थमा छन् कि अहिले यिनीहरु निर्वाचनमा नेपाली कांग्रेस नभनेर रुख मात्रै भन्दै छन्। यिनीहरुको स्वभिमान कसरी दियो? हिजोसम्म गर्वले लिने यो नाम आज निर्वाचनमा किन लिइरहेका छैन?

माओवादीले आफ्नो नाम त परिवर्तन गर्न खोजिरहेकै थियो, यो नामबाट निर्वाचनमा जाँदा जनताबाट स्विकार्य नहुन सक्छ। प्रचण्ड राजनीतिका चतुर खेलाडी हुन्, उनकाे चतुर्याइँ र उनकाे यही खेलमा पाँच दलीय गठबन्धन परेर अहिलेको निर्वाचनमा कुनै पनि दलले आफ्नो राजनैतिक दलको नाम नराख्ने सहमति गराएको हुन सक्छ? कारण, प्रचण्डलाई आफ्नो दलको नाम प्रस्तुत गर्नु नै छैन।

राजनीतिक दलहरुले आफ्नो स्थापना कालदेखि आफ्नो दलको नाम परिवर्तन गर्दै आएका छन्। यिनीहरुको यो नाम र पहिचान आफैँलाई घाउ हुँदै गर्दा यस्तो अवस्था आएको हुन सक्छ। इतिहास र परिचय खराब हुँदा यस्तो नाम बोकेर हिँड्दा राजनीतिक दलले नाम परिवर्तन गरेको र खोजेको हुन सक्छ। तर नेपाली कांग्रेसमा यो बाध्यता र समस्या छैन। अनि किन पाँच दलीय गठबन्धनको अवधारणामा कांग्रेसले निर्वाचनमा आफ्नो नाम लिन नचाहेको हो?

प्रकाशित मिति: : 2022-10-14 22:11:00

प्रतिकृया दिनुहोस्