म्यान्मार अर्थात् एउटा डरलाग्दो मुलुक

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मार पत्रकारका निम्ति विश्वकै सबैभन्दा खतरनाक मुलुक साबित भएको छ। झण्डै दुई वर्षअघि सेनाले सत्ता कब्जा गरेपछि त्यहाँका पत्रकारमाथि चुनौती थपिएको छ।

सैन्य सरकारले आफ्नो दण्डसंहितामा नयाँ प्रावधान थप्दै गएको छ। पछिल्लो पटक ‘डर पैदा गर्ने’ र ‘झुठा समाचार’ प्रकाशितलाई अपराध भएको मानिने उल्लेख छ। यो संहिता लागू भएपछि पत्रकारहरू थप तनावमा परेको बताइन्छ।

यसबीच मुलुकका धेरै वटा सञ्चारमाध्यमको इजाजत पत्र रद्ध गरिएको छ। सयौं पत्रकार मुलुक छाडेर पलायन भएका छन्।

म्यान्मारमा पछिल्लो समय स्वतन्त्र प्रेसको अन्तिम अवशेषमध्येको एक साहित्यिक पत्रिका ‘ओवे’ देखिन्छ। यसका २२ वर्षे सम्पादक भन्छन्, ‘कलमले बन्दुकसँग लड्न त्यति सजिलो छैन्, तर मैले यो गर्नैपर्छ।’

सेनाले पक्राउ पूर्जी जारी गरेदेखि उनी मुलुकभित्रै भूमिगत छन्।

त्यसबाहेक अन्य धेरै युवा पत्रकारहरू पनि भूमिगत भएको बताइन्छ। उनीहरू अधिकांश २० देखि ३० वर्षका छन्। ‘जब म रिपोर्टिङको निम्ति बाहिर जान्छु, मलाई गिरफ्तार हुने डर लाग्छ।’ एक किशोर रिपोर्टरले भने। उनले सैनिक ‘कू’ पछि अध्ययन छाडेको बताएका छन्।

‘कू’ पछि त्यहाँ डेढ सय बढी पत्रकार पक्राउ परेका छन्। तीन पत्रकारको ज्यान गएको छ। एक जनाको यातना खप्न नसकेर मृत्यु भएको बताइन्छ।

अहिले म्यान्मारको जेलमा औपचारिक रूपमा ५७ जना पत्रकार रहेको तथ्याङ्क दिइएको छ।

प्रकाशित मिति: : 2022-10-14 05:49:00

प्रतिकृया दिनुहोस्