यौन सुखले भुलाएको रजमतीको पीडा !

दिपु सुवेदी

काठमाडाैँ

पश्चिम नेपालको एक गाउँमा जन्मिएकी रजमतीको (नाम परिवर्तन) १५ वर्षको उमेरमा पल्लो गाउँको युवकसंग मागी विवाह भयो। विधि पुर्याएर गरिएको विवाह परिवारको रहरमा धुमधामले सम्पन्न भएको थियो। विवाह गरेर अन्माउन थालिएकी छोरीलाई आमा, भाउजु र फुपूले संस्कारका धेरै कुरा सिकाएका थिए।

पितृसतात्मक संस्कार घोकेर घर भित्रिएकी रजमतीले १६ वर्षकै उमेरमा पहिलो सन्तान जन्माइन्। महिला बच्चा जन्माउने साधन बुझेका श्रीमानले १८ वर्षको उमेरमा अर्को छोरा जन्माउन बाध्य बनाए। परिवार नियोजनका साधनको सहज उपलब्धता र जानकारी नपाएकी रजमतीले २१ वर्ष पुग्दा नपुग्दै फेरि अर्को छोरालाई जन्म दिइन्।

अशिक्षा, गरिबी अनि आर्थिक सकसभित्रको परिवारमा एकदिन बज्रपात पर्यो। भर्खरै विवाह गर्ने उमेर पुगेकी २२ वर्षीया रजमतीको काखमा ३ छोरा छोडेर श्रीमानको मृत्यु भयो। रजमतीको दिनरात सधैँ अँध्यारो बन्न थाल्यो। सानै उमेरमा ६ वर्ष, ४ वर्ष र १ वर्षका तीन छोरा आफ्नो जिम्मा छोडेर श्रीमानले संसार छोडेपछि केही समय विक्षिप्त रजमतीले मजदुरी गरेर छोरालाई पढाउँदै हुर्काउँदै गरिन्।

श्रीमानको मृत्यु भएको करिब एक दशक पुग्दै थियो, रजमतीले फेरि अर्को छोरा जन्माइन्। हिजो महिनौ भोकै रात काट्ने रजमतीको अनुहारसमेत हेर्न नचाहने छिमेकीका आँखा तेजिला बने। गाउँका घर-घरमा रजमतीको चर्चा हुन थाल्यो। समाज एकतमासको बन्यो। उनी समाजमा अघोषित बहिस्कृत बनिन्।

एकल महिलाले बच्चा जन्माएको घटना सदरमुकामसम्म पुग्यो। महिला अधिकारकर्मीका आँखा-कान तेजिला बने। एकल बन्दा, छोराले पेटभर खान नपाउँदा अनि स्कुलमा परीक्षा शुल्क बुझाउन नपाउँदा कसैले नखोजेकाहरु रजमतीको झुप्रो खोज्दै पुगे। ‘बच्चा कसको हो, मलाई थाहा छैन। अँध्यारो अनि एकान्त रात थियो, मान्छे चिन्दिनँ’, रजमतीको रेडिमेट उत्तर हुन्थ्यो।

रजमतीले कसैसंग यो विषयमा थप कुनै कुरा खोलिनन्। घटना जटिल थिएन, तर गम्भीर बनाउने प्रयास हुँदै गयो। धेरैले अनेक प्रयास गरे। महिला अधिकारकर्मीले बच्चाको बुवा चिन्ने प्रयास असफलता हात लागेपछि रजमतीका बारेमा धेरै चासो दिन छोडे। यही बीचमा उनलाई समाजको तिरस्कार अनि गरिबीले मानसिक तनाव हुँदै गएको देखियो। कसैले मनोविमर्श सेवाका लागि सुझायो। उनलाई मानसिक तनाव कम गर्न र मानसिक सेवा दिन मनोविमर्शकर्ता रजमतीको घर पुगिन्।

लामो समयको काउन्सिलिङपछि विद्यालयको औपचारिक शिक्षा नलिएकी रजमतीले गम्भीर र घतलाग्दो कुरा गरिन्। ‘बच्चाको बाबु चिन्छु। नचिन्ने पनि हुन्छ? जीवनमा प्रेम र यौन सुख थाहा नपाएकी मलाई कम्तिमा ५/७ महिना धित मरुन्जेल यौन सुख दियो। जीवनमा पहिलोपल्ट केही महिना यौन आनन्दको सुखानुभूत पाएँ’, रजमतीले भनिन्, ‘जसले जीवनमा यति धेरै सन्तुष्टि दियो, उसलाई किन असहज बनाउनु?’

घर छेउमा रहेका सुरक्षाकर्मीहरु सरुवा भएर गइसकेपछि रजमतीले छोराको बाबुको सोधखोज पनि गरिनन्। ‘उसले जानेबेला गएँ है पनि भनेन। हुन त हामीबीचमा बिहे गर्ने वा दीर्घकालीन सम्बन्धको सम्झौता पनि थिएन’, आँखाभरि आँसु ल्याएकी उनले भनिन्, ‘म उसलाई दुख दिन्नँ। उसको बाँकी जीवन सुखमय बितोस् भन्ने कामना छ। उसंगका हरेक सम्बन्धको यादमा बाँकी जीवन जीउन सक्ने आँट छ।’

१५ वर्षको उमेरमा विवाह गरेकी रजमतीले श्रीमानसंगको ८ वर्ष बच्चा जन्माउनेमा व्यतित गरेकी थिइन्। बेलुका ओछ्यानमा आएपछि बत्ती बन्द गरेर कुनै तयारी बिना गरिएका यौन सम्बन्धहरु फगत बच्चा जन्माउनलाई मात्र गरिए जस्तो भयो। प्रेम, स्नेह, माया, चुम्बन अनि नसुम्सुमाएर गरिएका औपचारिक यौन जीवन बुझेकी रजमतीलाई उक्त युवकको अंगालो, चुम्बन अनि उत्तेजनासहितको यौन यात्राले सबै बिर्साएको छ।

यतिबेला रजमती जस्ता धेरै एकल महिलाहरु आमा बनेका छन्। प्रेममा झुक्काइएर, थाहै नपाएर, अज्ञानताका कारण वा जबर्जस्तीले जन्मिने बाबु पहिचान नभएका सन्तानले पाउनु दुख पाउने गर्दछन्। राज्यका तर्फबाट ठोस कानुन नबन्नु र समाजले महिलालाई हेर्ने दृष्टिकोणले पनि नकारात्मक असर गरिरहेको छ।

रजमती हाम्रो समाजको एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता धेरै महिलाहरु समाजले अवैध भनेको बाटोबाट यौन सुख बिना आफ्नो जीवन गुजारा गर्दैछन्। अर्कोतिर द्वन्द्वकालमा बलात्कारमा परेर बुवा पहिचान नभएका, जालझेलमा परेर सन्तान जन्माएकाहरुका बारेमा ठोस दिशा नहुँदा महिलाहरु अन्यायमा पर्ने गरेका छन्।

प्रकाशित मिति: : 2022-10-27 17:00:00

प्रतिकृया दिनुहोस्