राष्ट्रिय खेलकुदलाई लक्षित गरेर 'एन्टि डोपिङ' परिक्षणको प्रशिक्षण

शनि शाक्य

काठमाडौं

नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको दुई दिने एन्टि डोपिङ परिक्षणको प्रशिक्षण सम्पन्न भएको छ।

ओलम्पिक कमिटीको सातदोबाटोस्थिति भवनमा आयोजित कार्यक्रम नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर सम्पन्न भएकाे हाे।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक एन्टी डोपिङको परिक्षण भएकाे हाे।

वाडा तथा एएस राडोका इन्स्ट्रक्टर तथा टेरनेर निमा ग्याल्सेनले सञ्चालन गरेकाे साे कार्यक्रममा ३० जनाको सहभागिता रहेकाे थियाे।

उक्त कार्यक्रममा बाेल्दै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा एन्टी डोपिङ परिक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस प्रशिक्षणले त्यसको पूर्ति हुने बताएका थिए।

नेपाली खेलकुदमा ‘क्लिन स्पोर्टस’ मा जोड दिनुपर्ने बताउँदै उनले भने, 'अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा एन्टी डोपिङ परिक्षण हुन आवश्यक छ।'

नवौं राष्ट्रिय खेलकुदका लागि चिकित्सक नविशमान सिंह प्रधानको अध्यक्षमा एन्टी डोपिङ कमिटी समेत गठन गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ।
 

प्रकाशित मिति: : 2022-10-10 12:14:00

प्रतिकृया दिनुहोस्