हुुम्लाका विष्णु रावत सानै उमेरमा काठमाडौं आए। पाँच वर्षकै उमेरमा राजधानी आएका उनको एक मात्र उदेश्य थियो, शिक्षित बनेर गाउँ फर्किनु। उनका बाआमाको पनि सपना थियो, छोरो धेरै पढेर व्यवसायी बनोस्। त्यसैले पनि उनी पढ्नका लागि गाउँबाट सहर आए।
काठमाडौं आएका विष्णु नक्सालमा बस्न थाले। उनको दैनिकी थियो, बिहान स्कुल जानु अनि घर फर्किएपछि स्कुलमा दिएको गृहकार्य गर्नु। पढाईप्रति उनको निकै रुची थियो। त्यसैले त उनी पढाईको मामलामा कहिल्यै पछाडि परेनन्।
नक्सालमा आफन्तसँग बस्दै आएका विष्णुले एकदिन देखे, फुटबल खेल्दै गरेका खेलाडी। मैदानमा खेलिरहेका खेलाडीले फुटबललाई खुट्टाले हानेर आकाशतिर उडाएको देखेर विष्णुलाई खुबै रमाइलो लाग्यो। अनि उनलाई पनि इच्छा जाग्यो, फुटबल खेल्ने।
उनीसँग खेल्नका लागि फुटबल थिएन न त फुटबल किन्ने पैसा नै। तर उनलाई जसरी भएपनि फुटबल खेल्नै थियो। त्यसैले उनले आफ्नो रहर पूरा गर्नका लागि स्कुले मोजालाई डल्लो बनाए अनि त्यसलाई फुटबल सम्झिएर खुट्टाले हान्न थाले।
'त्यो बेला फुटबल खेल्ने मन थियो तर मसँग बल किन्ने पैसा थिएन, त्यसैले आफ्नो रहर पूरा गर्न मोजाभित्र प्लास्टिक कोच्याएँ अनि फुटबल बनाएर खेल्न थालेँ' विगत सुनाउँदै उनले भने, 'त्यति गरेपछि म खुसी भएँ।'
काठमाडौंमै बसेर पढिरहेका उनी १० वर्षको उमेर गाउँ फर्किए। र गाउँमै बसेर पढाईलाई निरन्तरता दिन थाले।
हुम्लामै बसेर पढ्न थालेका उनले फुटबललाई त्याग्न सकेनन् र भोगटेको नै फुटबल बनाएर खेल्न थाले।
'गाउँ घरतिर भोगटे पाउनु कुनै ठूलो कुरा थिएन त्यसैले मैले भोगटेलाई फुटबल बनाएर खेल्न थालेँँ' उनले बिएल नेपाली सेवालाई भने, 'भोगटेलाई फुटबल बनाएर खुट्टाले हान्दा रमाइलो लाग्थ्यो। साँच्चीकै फुटबल खेलेको अनुभव हुन्थ्यो।'
पैसा कमाउन व्यवसायी बने विष्णु
फुटबलमा रुची राखेका उनी पढेर एक सफल पर्यटन व्यवसायी भए। हुनत उनलाई फुटबल खेलाडी बन्ने सोच थियो तर पैसा कमाउन उनी व्यवसायी बने।
'मेरो सपना थियो खेलाडी बन्ने तर पैसा पनि त कमाउनु नै पथ्यो, त्यसैले म व्यवसायी भएँ' उनले भने।
पर्यटन क्षेत्रमा आवद्ध भएका उनले हुम्ला, जुम्ला र मानसरोवरमा पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
उनी एक सफल व्यवसायी त बने तर उनको फुटबलप्रतिको लगाव कहिल्यै हटेन। त्यसैले त चार दशक कटिसकेका उनी विशुद्ध समाज सेवामा लागेर हुम्लामा फुटबलको भविष्य कोर्दैछन्।
उनको सपना हुम्लाका खेलाडीले राष्ट्रलाई खेलकुदको माध्यमबाट योगदान पुर्याउनु हो। जसकारण उनले हुम्लाको सिमीकोट-५ मा फुटबल मैदान बनाएका छन्।
खेलाडी बन्ने सपना देखेका युवालाई प्रोत्साहन गर्नका लागि बनाइएको सो ग्राउण्डमा साथीहरुको पनि योगदान रहेको उनले बताए।
'भाइबहिनीहरुका लागि बनाएको फुटबल मैदानमा मेरा साथीहरु प्रीतीबहादुर रावत, बुद्दी रोकाय र रविन बस्नेतको पनि योगदान छ' उनले भने, 'मलाई साथ दिने नै मेरा साथीहरु हुन्।'
२०७७ सालमा हुम्ला फुटबल एकेडेमी सुरु गर्दा दुख पाएका उनले कहिल्यै हार मानेनन्। त्यसैले त उनलाई धेरै सहयोग गरे।
'मलाई धेरै जनाले सहयोग गर्नुभयो र गरिरहनु पनि भएको छ। त्यसैले पनि मैले कहिल्यै हिम्मत हारिनँ' उनले भने, 'म रहुन्जेल एकेडेमी रहने छ।'
दुई वर्षअघि सञ्चालन गरेको फुटबल एकेडेमीमा अहिले २५० बढी प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन्। जसमा नेपाली महिला फुटबल टिमबाट दिपा शाहीले खेलिरहेकी छन्।
२९१० मिटर उचाईमा बनेको फुटबल मैदानमा उनी बिहानै पुग्छन् र फुटबल खेलिरहेका भाइबहिनीलाई देखेर खुसी हुन्छन्। अनि सोच्न थाल्छन्, 'यीनीहरु नै हुन् भविष्यका खेलाडी।'