वर्षमानलाई गिज्जाइरहेका रोल्पाका यी दुई आयोजना

BreaknLinks
BreaknLinks

गृहजिल्लाका दुईवटा महत्वपूर्ण आयोजनाले माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई गिज्याएको छ। कुनै समय माडी खोला अर्थात् घरछेउको पुल बेलैमा नबन्दा नेता पुनको टाउको दुखाइको विषय बन्यो।

करिब एक दशकमा बनेको ’माडी खोलाको पुल निर्माण जति वर्ष अलपत्र भयो, त्यो वर्षमानकै कारण भएको हो’ भन्ने रोल्पालीको बुझाइ छ। पुल त बन्यो तर नेता पुनको टाउको दुःखाउने आयोजना भने फेरि थपिँदै गए। ती हुन्, रोल्पा अस्पताल भवन र सिमलबाङ–दार्बाेट सडक।

यी आयोजना पनि लामो समयदेखि अलपत्र अवस्थामा छन्। वर्षमान गृह जिल्ला पुगेको बखत जिल्लावासीको एउटै प्रश्न हुन्छ ‘अस्पताल भवन र सडक कहिले बन्छ?’

स्थानीय तह निर्वाचनमा जिल्ला पुगेका पुनले गत असार मसान्तसम्म कुर्न आग्रह गरेको बताइन्छ। असारसम्मको म्याद सकिए पनि न अस्पताल भवन बन्यो न सिमलबाङ–दार्बाेट सडक नै।

अब पुनः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चटारोमा सबै जना देखिन्छन्। त्यसबारेको नयाँ जवाफ दिन वर्षमानलाई धर्म संकट भएको माओवादीकै स्थानीय नेता तथा कार्यकर्ताले बताए। स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने चुनौती उनलाई थियो। यसपटक आफैं उम्मेदवार बन्ने सम्भावना प्रवल छ। यस्तो बेलामा उनले खेल्ने चलाखीपूर्ण व्यवहारको जवाफको प्रतिक्षामा आमसर्वसाधारण रहेको बताइन्छ।

ठेकेदार ‘कनेक्सन’

माडी पुल निर्माणको जिम्मा पाएको ठेकेदारले काम अलपत्र पारेको विषयमा स्थानीयले उनै नेतासँग पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि स्थानीय हैरान भएका थिए। प्यूठानका ठेकेदार बसन्त डिसीले पनि वर्षमानसँग काठमाडौंमा आफ्नो उठबस हुने गरेको बताउँदै अरुलाई टारिदिएका थिए।

त्यस्तै, अहिले अस्पताल भवन र सडक बनाउने जिम्मा रोल्पाकै ठेकेदार खगेन्द्र बुढाले पाएका छन्। उनले पनि माडी पुलकै ठेकेदारले झैं जिल्लाका नेता, कर्मचारी,प्रशासन र स्थानीयलाई कुनै टेरपुच्छर नलगाएको आरोप छ।

मुख्य ठेकेदार बुढाले पेटी ठेकेदारको कारण देखाउँदै दुई वर्षअघि निर्माण हुनुपर्ने ती आयोजनाहरू हालसम्म पनि अलपत्र पारेको रोल्पालीको बुझाइ छ।

सिमलबाङ–दार्बाेट सडक निर्माण थाल्ने क्रममा बुढाले नाताले वर्षमानकै भाइ पर्नेहरूलाई पेटी ठेकेदारको जिम्मा दिएका हुन्। पछि पूर्वमन्त्री पुनको संलग्नता भएको उल्लेख गर्दै व्यापक आलोचना भएपछि पेटी ठेकेदारबाट वर्षमानका भाइ पछि हटे। तर सडक बन्ने सम्भावना कहिल्यै नदेखिएको उनीहरुको भनाइ छ।

निरीह प्रशासन

जिल्लाका यी ठूला आयोजनाहरू वर्षाैंदेखि अलपत्र हुँदा पनि जिल्ला प्रशासन कार्यालय भने निरीह बनेको छ।

जिल्लामा धेरै सिडिओ फेरिए तर यो विषयमा खरो रूपमा कुर्लेपनि उनीहरुले केही गर्न सकेनन्। जिल्लामा पुगेका सिडिओले शुरुका दिनमा केही चासो देखाए पनि पछि क्रमशः मौन बसेपछि विषय ओझेलमा परेको हो।

एकजना सिडिओले यसमा ठूलो नेताकै संलग्नता भएकाले आफूले केही गर्न नसक्ने अनौपचारिक रूपमा सुनाएको स्थानीय सञ्चारकर्मीले बताए। ‘मैले धेरै के भन्नु’ ती सिडिओले भनेका थिए, ‘यसबारेमा माथिकै सेटिङ छ, यसमा हामीले चाहेर केही गर्न सक्दैनौ,’ सञ्चारकर्मीले उल्लेख गरे।

जिल्लाका सबैजसो सरोकारवालालेसमेत यसमा नेता पुनकै संलग्नता भएकाले ठेकेदार कसैले नटेर्ने गरेको बताएका छन्। यी मुद्दालाई बोकेर विपक्षी उम्मेदवारले आगामी निर्वाचनमा नेता वर्षमानविरूद्ध चर्को आवाज उठाउने तयारी गरेको पाइन्छ। यस्तो अवस्थामा माओवादी नेताहरूले उनै नेताको कसरी संरक्षण गर्लान् त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: : 2022-10-02 12:20:00

प्रतिकृया दिनुहोस्