सम्झनामा बालापन र त्यो दसैँ

अर्जुन बिष्ट

काठमाडाैँ

‘हो, हो दसैँं आयो, कोदो फुल्यो बारीमा लरी लै...’
‘धानको बाला झुल्यो खेतैमा, 
कति राम्री देखिन्छ्यौ बरिलै जमरा र रातो टिकामा ...’

यी र यस्तै दसैँका मौलिक भाकाको सुरमा सुर मिलाउँदै रातभर रत्यौली खेल्दै बाबियोको डोरी बनाएर बिहानीपख पिङ ठड्याउनुको खुशी बेग्लै हुन्थ्यो। जे थियो बालपनको दसैँ नै राम्रो थियो। जहाँ न डर थियो, न कसैको त्रास, न त लोभ लालच नै। कसैले बिर्सनै सक्दैन भने सायद त्यो एक मात्र बालकपन हुनसक्छ।

आहा! कति आनन्द थियो त्यो बालापन। कमेरो र रातो माटोले लिपेका घर चोख्याउँदा अनि कुनाकानीमा भएको माकुराको जालो फालेर झ्याल ढोकामा ब्याट्रीको मसला दलेर कालो रंग बनाइ कपडाको टालोले रेखा लगाउँदाको खुशी मापन गर्ने कुनै यन्त्र छैन।

आजभोलि दसैँ भन्नासाथ मनमा एक किसिमको उर्जा पैदा हुन्छ। अझ त्यो बालापनको दसैँको मस्ती सम्झँदा कति आनन्दमय हुन्छ। त्यो दसैँ नै बेग्लै थियो। साथीहरुबीच नयाँ लुगा लगाउने होडबाजी, उसको भन्दा आफ्नो घर बढी चिटिक्क पार्ने, कान थापेर रेडियोमा दसैँका गितहरु सुन्ने! कति आनन्दको पर्व  थियो त्यो दसैँ! मेरो घर माटोले बनेकोले अन्य परिवारभन्दा मलाई घर सजाउने बढी हतार हुन्थ्यो। किनकि साथीहरुका अगाडि राम्रो बनाउनु थियो।

सधैँ स्कुले ड्रेसमा घुम्ने म दसैँमा एकजोर नयाँ कपडा फेर्दाको उमङ्ग अहिले पनि याद छ। गाउँ-गाउँमा लिङ्गे पिङ हाल्ने। साथीहरुको समूह बनाएर रमाउने त्यो बालापन र त्यो दसैँ फेरि आउला कि न आउला?  घटस्थापना सुरु भएको छैटाैँ दिन भइसक्यो तर दसैँको हर्ष उल्लास देखिँदैन।

वर्षमा एकपटक मनाउने नेपालीका लागि दसैँ एक पारिवारिक जमघट र सद्भाव साटासाट गर्ने महत्वपूर्ण पर्व हो। सबैभन्दा बढी महत्वका साथ लिइने यो दसैँलाई बडादसैँको नामले चिनिन्छ। बडादसैँ हिन्दु धर्मावलम्बीहरुले शुक्ल प्रतिपदादेखि नवमीसम्म पूजाआराधना गरेर दशौँ दिनमा मान्यजनबाट टीका ग्रहण गरी पूर्णिमासम्म मनाउने गरिन्छ।

धर्म संस्कृतिले भरिएको यो दसैँले हाम्रो पारिवारिक तथा सामाजिक सद्भाव बढाउन ठुलो सहयोग गरेको छ।दसैँमा थप मनोरञ्जनका लागि पिङहरु हाल्ने चलन बढी छ। लिङ्गे पिङ र चङ्गाले दसैँंको महिमा थप बढाएको छ। दसैँं मनाउने अनेक तरिका छन्। जसमध्ये पिङ र चङ्गालाई बढी प्राथमिकतामा राखिन्छ। दसैँमा लिङ्गे पिङ, रोटे पिङ र बच्चाबच्चीले खेल्ने घरघरमा बनाइएको हुन्छ।

कामकाजमा घरदेखि टाढा गएकाहरु दसैँमा घर फर्किने र बढ्दो शहरीकरणले रित्तिएको गाउँमा दसैँले बढाएको चहलपहल साँच्चिकै सम्झन लायक हुन्छ। बारीमा सयपत्री ढकमक फुलेको, मकै, कोदो बाली भित्र्याउन व्यस्त किसान, खेतमा पहेँलपुर झुलेको धानको बालाले थप सौन्दर्य थपेको हुन्छ।

यतिबेला सहरभन्दा गाउँमा दसैँको रौनकता बढेको छ। दसैँको रौनक नेपालीहरुको घर आँगनमा आएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। दसैँंको समयमा किराना सामानदेखि नयाँ लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्टड्रिङ्सलगायत दैनिक आवश्यकीय सरसामान अरुबेलाभन्दा बढी नै किनमेल गर्ने गरिन्छ।

तर पछिल्लो समयमा बदलिँदो जीवनशैली र भड्किलो रवाफका कारण दसैँको मौलिकता हराउँदै गएको छ। बाल्यकाललाई फर्केर हेर्दा अहिलेको दसैँ दसैँ जस्तो लाग्दैन। बुवाले किनिदिएको लुगा लगाएर दाजुभाइले मुग्लानबाट ल्याइदिएको मिठाइ खाँदै गाउँका साथीभाइसँग पिङ खेल्नुको खुशी बयान गरी साध्य छैन, त्यो गाउँघरको दसैँं अनि त्यो बालापन!

दसैँं आएपछि गाउँघरमा छुट्टै रौनक हुन्थ्यो। पल्लोघरे दाइ टेप घन्काउँदै कालिपारबाट आउँदा होस् या छिमेकी दाइ विदेशबाट आउँदा होस्। त्यतिबेला खुसीका बेलुनहरु गाउँभरी उडिरहेका हुन्थे। पिङ लगाउनको लागि घरघरमा गएर बाबियो उठाउने, लठारो बाट्ने, लिङ्गो गाड्नेजस्ता सामूहिक कार्यले एकआपसमा सद्भाव र सहयोगको भावनाको डोरीलाई अझै बलियो बनाउँथ्यो।

जे थियो बालपनको दसैँ नै राम्रो थियो। सबै गाउँका हितेसी मिलेर माटोको घर ढुंङ्गाको छानो, भाडाँकुटी, लुकामारी  खेल्दाको आनन्दको जति चर्चा गरेपनि धित कहिल्यै मर्दैन। अझै पाकेको केरा, बलौती, काक्रा, उखु चोरेर भाग्दै गर्दा पल्लाघरकी बुढी आमाले लखेटेर खुट्टामा सुम्ला उठ्ने गरी कुटेको याद आजपनि चक्का जस्तै दिमागमा घुमिरहन्छ।

दसैँको लागि गाउँको सारा मानिसहरु कमेरो लिन जाने उर्दी, बाटो घाटो खन्ने तथा सफा गर्ने र काठे पुल बनाउने, रातभरि पालैपालो गरेर सबैका धान कुट्ने, मकै सोर्ने, चिउरा कुट्ने र मिठोमसिनो, चामल लिन आमाबुवाको साथ राडी बजारसम्म लस्कर लागेर मान्छेको भीडमा हिँड्दाको आनन्द अन्त कहाँ पाउँला?

आजभोलि दसैँंका कुरा उठ्नासाथ मलाई जन्मथलो रुकुम पश्चिम र त्यो कहालीलाग्दो बालापनसँगै खेलेका दौँतरीहरुको सम्झनाले सताउँछ। मुग्लानीहरुको आवगमनले गाउँमा हलचल अर्कै मज्जा हुन्थ्यो। कहिलेकाहीँ पिङ खेल्नकै लागि झगडा गर्ने, टिका ग्रहण गर्दा दक्षिणा मनपरी माग्ने यस्ता बाल्यकालका स्वभावले आजपनि मनभरी सम्झनाको भकारी बनाएका छन। जो सम्झनामै सिमित भएका छन्।

अहिले दसैँको रौनकता हराउँदै गएको छ। त्योसँगै गाउँ-गाउँमा लिङ्गे पिङ हाल्ने चलन पनि हराउँदै गएको छ। केही वर्षअघिसम्म दसैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ हालिन्थ्यो। तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङ्गे पिङको चलन हराउँदै गएको छ। हाम्रो नेपाली समाजमा दसैँ एउटा विशेष पर्व हो। दसैँ नेपालीका लागि वर्षौँदेखि टाढिएका आफन्त परिवारजनबीचको सम्बन्ध मजबुत बनाउने पर्व हो तर यो विस्तारै हराउन थालेको छ।

हिजाेआज दसैँ परिवार र सामाजिक सद्भाव साटासाटभन्दा पनि देखासिकी गर्ने महोलमा परिणत भएको छ। यसले गर्दा धार्मिक महत्व र संस्कृति विलिन हुने खतरा बढेको छ। अहिले त दसैँ आयो, दशा आयो’ भन्नेहरु पनि छन्। कारण हाम्रा चाडबाड धेरै महङ्गा र खर्चिला बन्दै गएका छन्। हरेक वर्ष चाडपर्वको नाउँमा धेरै नेपालीहरुले थाप्लोमा ऋणको बोझ थपिँदै जान्छ।

सरकारी तथ्याङ्कअनुसार नेपालीहरुको घरयासी खर्च खर्बौँ पुग्न जान्छ। सपिङका नाउँमा खर्चिलो पर्व बनाउनेतर्फ भन्दा समाजमा परम्परागत रूपमा मनाइने दसैँलाई जोड दिन आवश्यक छ। सम्पूर्ण नेपालीहरूको प्रमुख चाड विजया दशमी सुखद होस्, सरल होस्, उल्लासमय होस् हार्दिक शुभकामना!

प्रकाशित मिति: : 2022-10-01 14:13:00

प्रतिकृया दिनुहोस्