ग्रामीण सडकको बेहाल, दसैँमा घर फर्कने यात्रुलाई सास्ती

नेपालीहरुको महान चाड विजया दशमी सुरु भइसकेको छ। योसँगै घर छाडेर अन्यत्र बसोबास गर्दै आएकाहरु धमाधम गाँउ फर्किने क्रममा छन्। तर, दसैँ मनाउन घर हिँडेका उदयपुरका ग्रामीण भेगका सर्वसाधरणले भने सडकका कारण सास्ती भोग्नु परेको छ।

असोजको दोस्रो सातासम्म लगातार वर्षा हुँदा जिल्लाका पहाडी भेगमा यातायात सञ्चालनमा आउन सकेका छैनन्। वर्षाकै कारण पहिरो र हिलोले सडक बिग्रेपछि चाडपर्व मनाउन घर हिँडेकाहरुले सास्ती बेहोर्नु परेको हो।

वर्षौँदेखि सडक ग्राभेलिङ र कालोपत्र हुन नसक्दा सामान्य वर्षा हुनसाथ उदयपुरका ग्रामीण भेगका नागरिकले राम्रो यातायातको सुविधा पाउन सकेका छैनन्। जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ, कटारी, रौतामाई, बेलकालगायतका पालिकाका ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन्।

लामो समयदेखि निर्माण भएको कच्ची सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन्। सदरमुकाम गाइघाटबाट लिम्चुङबुङ जोड्ने गाइघाट–लिम्चुङबुङ सडकखण्डमा कष्टकर यात्रा गर्न बाध्य भएको बोलेरो चालक दिपक मगरले गुनासो गरे।

‘हिउँदको बेला ३/४ घण्टामा सजिलै पुग्न सक्छौँ, तर अहिले ८/९ घण्टासम्म लाग्छ,’ मगरले भने, ‘बीचमा बाटो भत्केको भए आफैँले बनाउँदै हिँड्नुपर्छ, डरमर्दो यात्रा गराउन हामी बाध्य छौँ।’

बोलेरो नै यो क्षेत्रमा सर्वसाधरणका लागि यातायातको माध्यम हो। यस क्षेत्रमा बस सञ्चालन हुँदैन। वर्षाले सडक बिग्रेपछि ग्रामीण भेगका एम्बुलेन्सहरूसमेत सञ्चालन हुन सकेका छैनन्। यातायातका साधन सञ्चालन नहुँदा बिरामी थप मर्कामा परेका छन्।

यस्तै सिद्धिचरण लोकमार्गसँग जोडिएको कटारी–बेतिनी–ताप्ली सडक उस्तै बिग्रिएको छ। वर्षायाममा भत्कने तथा पहिरो जाने गरेको कच्ची सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विकले बताए।

भाडा पनि महङ्गो

एकातिर बिग्रिएको डरमर्दो सडकमा यात्रा र अर्कोतिर महङ्गो भाडा तिरे यात्रा गर्न यात्रुहरु बाध्य भएका छन्। दसैँको मौका पारेर यातायात व्यवसायी र सञ्चालकहरूले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन्।

सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले एक हजारदेखि एक हजार पाँच सयसम्म सवारी भाडा वृद्धि गरेको यात्रुहरुको गुनासो छ।

केहीदिन अघिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु पाँच सयदेखि छ सयसम्म थियो। तर, अहिले दसैँ नजिकै आउन थालेपछि व्यवसायीहरुले प्रतिव्यक्ति एक हजारसम्म बढाएको यात्रुहरुले गुनासो गरे।

गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्क, नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर वृद्धि भएपछि सर्वसाधरण मर्कामा परेका छन्।

प्रकाशित मिति: : 2022-09-30 11:25:00

प्रतिकृया दिनुहोस्