असीम बलवान तिमी संसार जित्ने सामर्थ्य राख्छौ
तिमीलाई सभ्यताको सिँढी किन चाहियो र?
बहादुर सिपाहीहरुले भरिएका छन् सडकहरु
तरवार, खुकुरी र बारूदका घेराभित्र
म के नै गर्न सक्छु र?
तैपनि मैले देखिरहेछु
तिमी आफैँ नाच्न भुलेर
कोर्राहरु नचाइरहेछौ।
तिम्रो अज्ञानता
प्रेम नकार्ने मिथ्या भ्रम
अनि अरूलाई अस्वीकार गर्ने दम्भ
मलाई रित्तो लाग्छ, खोक्रो लाग्छ।
हत्या, हिंसा र क्रोध
यसमा मेरो जीवनको आनन्द छैन
द्रब्य र कृतिको चाहना पनि छैन
त्यसैले छाडीदेउ मलाई तिम्रो यो चँगुलबाट
कहाँ छ? त्यस्तो ठाउँ यो संसारमा?
जहाँ चरा झैँ स्वतन्त्र
खुला आकाशमा उड्न सकुँ
यी मलाई कैद गर्ने
बेफ्वाँकका झन्झटबाट
सधैँ सधैँको लागि उम्किन सकुँ।