गृहमन्त्री खाणद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमी पुजन सम्पन्न

काभ्रेपलान्चोकको पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रतिष्ठान भूमी पुजन कार्यक्रम सम्पन्न भएकाे छ। 

गृहमन्त्री बालकृष्ण खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भूमी पुजन कार्यक्रम सम्पन्न गरेकाे हाे।

उक्त कार्यक्रममा बाेल्दै गृहमन्त्री खाणले भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

त्यसैगरी उनले नेपाल प्रहरी तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका थिए।

साे परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै उनले परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए।

उक्त अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले साे परियोजना निर्माण भारत र नेपालबीचको आपसी सहयोग र सम्बन्धको उदाहरण रहेको बताए।

'आगामी दिनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन हुने विभिन्न तालिमहरू तथा आवश्यक प्रविधिको सहयोगको लागि भारतीय दूतावास सदैव तयार रहने छ' उनले भने।

त्यस्तै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताए।

'आधुनिक भौतिक संरचनाको अभावले अन्तर्राष्ट्रिय स्तरको तालिमहरू संचालन गर्न सकिएकाे छैन' उनले भने, 'यस परियोजना निर्माण पश्चात अन्तर्राष्ट्रिय स्तरको तालिमहरू समेत सञ्चालन गर्नमा यस परियोजना कोसेढुंगा सावित हुनेछ।'

२५ नोभम्बर २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा भएको एमओयु र भर्चुअल माध्यमबाट गरिएको शिलान्यास कार्यक्रम विभिन्न चरणमा हुँदै कार्यान्वयनको अवस्थामा आइपुगेको हो।

सेन्ट्रल पब्लिक  वर्क्स  डिपार्टमेन्ट (सिपिड्ब्युलुडि) भारत सरकार सल्लाहकार रहेको उक्त परियोजना सन् १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा बताइएकाे थियाे।

कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख, धुलिखेल नगरपालिकाका प्रमुख, पनौति नगरपालिकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, धुलिखेल, बनेपा तथा पनौति नगरपालिकाका उपप्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, भारतीय राजदूतावासका पदाधिकारीहरू, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-09-23 16:52:00

प्रतिकृया दिनुहोस्