यी कारणहरू जसलाई टेक्दै अदालतले पल शाहलाई जबरजस्ती करणीमा सफाइ दियो

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : भदौ २१ गते जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाए सुनायो। जबरजस्ती करणीमा भने पललाई सफाइ दिँदै अदालतले सजाय सुनाएको थियो।

त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ। अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको थियो। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको थियो। तर, अदालतले शाहलाई जबरजस्ती करणीमा सफाइ दिएकोमा आलोचना समेत भएको छ। अधिवक्ता मोहना अन्सारी अदालतले अभियोग पत्रमा दाबी नै नगरेको विषयमा सजाय र करणीमा सफाइ दिएको बताउँछिन्।

नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।

प्रकाशित मिति: : 2022-09-23 15:22:00

प्रतिकृया दिनुहोस्