मृत्युको मुखबाट फर्किएको त्यो दिन...

BreaknLinks
BreaknLinks

साझँपख फेसबुक खोलेर हेर्दा दुघर्टनाको समाचार देखेँ। मकवानपुर र रुकुमपूर्वमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएछ। समाचार देखेर मन कटक्क खायो। अनि विगतलाई सम्झिएर झस्किन थालेँ। 

कुरा आजभन्दा तीन वर्षअघिको हो। जब म प्यूठानबाट अध्ययन गर्नका लागि काठमाडौं आएको थिएँ। कलेज पढ्दै म काठमाडौंको सोह्रखुट्टेमा बस्थेँ। मेरो दैनिकी थियो, बिहान कलेज जानु अनि घर फर्किएर दिनभरि पढेर बस्नु। 

दिनहरु राम्रोसँग बितिरहेका थिए। तर एकाएक विश्वव्यापी रुपमा कोभिड १९ फैलियो। जसकारण दिनदिनै मानिसहरुको मृत्यु हुन थाल्यो।

कोरोना लागेर मृत्यु हुनेको संख्या बढ्न थालेपछि गाउँबाट आमाले फोन गरेर भन्न थाल्नुभयो, 'बाबु तँ घर आइज। देशमा महामारी फैलियो, बरु मर्न परे पनि सँगै मरौँला।' 

आमाको कुरा सुनेर मैले पनि घर जाने तयारी गर्न थालेँ। त्यसपछि भोलिपल्ट बिहानै नयाँ बसपार्क गएँ, अनि गाउँ जाने टिकट काटेँ। धन्न एउटा सिटको टिकट पाएँ। त्यही पनि लास्ट सिटको। 

लकडाउन हुन मात्र दुई दिन बाँकी थियो। त्यसैले पनि होला गाउँ जानेहरुको लर्को   थियो। मेरो बेलुका ६ बजेको टिकट थियो। त्यसैले म ५ बजे नै बसपार्क गएर सिटमा बसें। गाडीको सिटमा बसेपछि मैले मात्र एउटा कुरा सोचिरहेको थिएँ, 'गाउँ पुगेपछि बल्ल मलाई ढुक्क हुन्छ।' 

गाडीभित्र मान्छेको पूरै घुइँचो थियो। ६० जना अट्ने गाडीमा हामी १२० जना जतिनै थियौँ। बसका आधा यात्रुहरु झुण्डिएरै भएपनि गाउँ जान तयारमा थिए। सायदै उहाँहरुलाई पनि मलाईझैँ गाउँ जाने हतार थियो होला। 

सबै जनाको उपस्थिती भएपछि बेलुका ९ बजे गाडी गुड्न थाल्यो। गाडीभित्र यात्रुहरु कोचाकोच थिए, त्यसैले कोल्टे हुँदै गाडी गुडिरहेको थियो। 

रातको समय भएकोले होला सिटमा अप्ठारोसँग बसेपनि निन्द्रा लाग्न थालिसकेको थियो। त्यसैले भुसुक्कै निदाएछु। 

भोलिपल्ट बिहान १० बजे आँखा खुल्यो, गन्तव्यमा पुग्न मात्र २-३ घण्टा बाँकी थियो। त्यतिकैमा मोबाइलको घण्टी बज्यो, गाउँको साथी तिलकले कल गरेको रहिछ, उसले भन्दै थिए, 'धुव्र तँ आइसकेपछि हामी मटन खाना खानु जानुपर्छ है।' 

मैले 'हुन्छ' भन्दै जवाफ दिएर फोन राखेको मात्र के थिएँ। गाडीभित्रबाट चिच्याएको आवाज सुनियो। आवाज सुनेर गाडीको झ्यालबाहिर हेर्न थालेँ। म चढेको गाडी त भीडबाट गुल्टिरहेको रहिछ। 

गाडी पल्टिरहेको देखेर एक्कासी सोच्न थालेँ, 'अब म कसरी बाँच्नु?' गाडी दुर्घटना हुँदै थियो, बाँच्ने आश पनि मेरो मर्दै थियो। त्यतिनै बेला मैले मेरी आमाले मलाई फोन गरेर 'कतिखेर घर आइपुग्छस् बाबु' भनेको कुरा याद आयो। अनि आमालाई एकपटक भएपनि 'आमा' भनेर बोलाउन मन लाग्यो। 

गाडी भीडबाट पल्टिदा म बेहोस भएँ। त्यसपछि केके भयो मलाई राम्रोसँग थाहा छैन। पछि ब्यूझिँदा त पछाडि सिटमा बसेको म उछिटिएर ५ सिट अगाडि पुगेछु। 

आँखा खोल्दा मेरो टाउकोमा चोट लागेको थियो, सबै जना रोइरहेका थिए। सिसा फुटेर गाडी रगताम्य भएको थियो। कतिपय यात्रु बेहोस नै थिए भने कति जनाको त मृत्यु पनि भइसकेको रहिछ। 

कोही भने घाइते भएर छटपटाइरहेका थिए, त्यो दृश्य देखेर मेरो मुटु कामिरहेको थियो, आँखाबाट बरररर आँसु बगिरहेको थियो, तब मात्र थाह पाएँ, म त जिउँदै पो रहिछु। 

मेरो दिमागले केही सोच्नै सकेको थिएन। मान्छेको चिच्च्याहट सुनेर रिंगटा लाग्न थालेको थियो, त्यतिनै बेला मैले एम्बुलेन्सको आवाज सुनेँ। घटनास्थलमा आएको एम्बुलेन्सले मलगायत घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजान थाल्यो।

मेरो टाउकोमा गम्भीर चोट लागेकोले रग्त बगिनै रहेको थियो। अनि म फेरि बेहोस भएछु। पछि अस्पतालमा आँखा खुलेपछि थाहा भयो, गाडी दुर्घटनामा चार जनाको मृत्यु भएछ र अन्य यात्रुहरु गम्भीर घाइते भएछन्। 

अस्पतालबाट डिस्चार्ज भएर घर पुग्दा आमाले रुँदै अगाँलो हालेर भन्नुभयो, 'धन्न मेरो छोरालाई केही भएन। भगवानले बचाइदिनुभयो।' आमाको कुरा सुनेर मैले गाडीमा मृत्यु भएकाहरुको बारेमा सोच्न थालेँ, 'कति खुसी भएर आफ्नो परिवारसँग बस्न काठमाडौंबाट घर आइरहेका थिए तर भेट्न नपाइकन नै छाडेर गए।' 

अहिले पनि जब म त्यो घटनालाई सम्झन थाल्छु तब मेरो मुटु काम्न थाल्छ। सानोमै बाबालाई गुमाएर होला आफ्नो मान्छे नहुँदाको दुख मलाई राम्रोसँग थाहा छ। 

आज गाडी दुर्घटना भएर जति जनाले ज्यान गुमाउनु भएको छ, उहाँहरुको आत्माले शान्ति पाओस्,  हार्दिक श्रद्धांजलि। 

प्रकाशित मिति: : 2022-09-22 22:40:00

प्रतिकृया दिनुहोस्