उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका छन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन्।
‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो’, उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन। संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु।’
विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन्। उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो¥याएको उनले स्मरण गरेका छन्।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन्।