जनयुद्धको उद्गगमस्थल, आधारकिल्ला मानिएको रोल्पामा नेता–कार्यकर्ताहरूको व्यवस्थापनको विषय निकै सकस बन्दै गइरहेकाे छ।
कम्युनिष्ट आन्दोलनको लामो इतिहास र जनयुद्धले जन्माएका हजारौं नेता–कार्यकर्ता, घाइते–अपाङ्ग र शहीद परिवारकाे कसरी व्यवस्थापन गर्ने? पार्टीमा कतिलाई अटाउने? कतिऔं को संख्यामा कमिटी गठन गर्ने? कसलाई कुन तह, कहाँ सेट्ल गर्ने? यावत् चुनौतीसहित हिजो रोल्पाका नेता–कार्यकर्ता संगठन विस्तार निर्माण गर्न देशका कुन ठाउँ पुगेनन्, होला?
रोल्पाबाट बाहिर खटिएका योद्धाहरूले माओवादीकाे बीउ रोपेका छन्। जग बसालेका छन्। उत्पादन गरेका छन्। तिनै ठाउँका कार्यकर्ता आज केन्द्रमा पुगिसके। अझ् उसैको अन्डरमा चल्नुपर्ने, सिनियर मानिदिनुपर्ने पनि होला। सांसद–मन्त्री भइसक्याे तर उहीँ उत्पादनकर्ता आफ्नो गाउँमा फर्किदा जहाँको त्यहीँ हुन्छ, कारण उ जस्ता धेरै छन्।
अझ् भूगोल र गैरभूगोल बाहिर खटेको भनेर हेपिने अर्को अन्तरविरोध। त्यसाे त हिजो हामी कम्युनिष्ट, क्रान्तिकारी माओवादीहरू अन्तर्राष्ट्रियवादी हौं। हामी आवश्यक परे जहाँपनि जानूपर्छ। हाम्रो कुनै निश्चित भूगोल–क्षेत्र हुँदैन, त्यो मान्यता राख्नुहुँदैन भनेर किन स्कुलिङ घोटाइयो?
आजपनि हजारौं मात्रामा हिजो लडेका रोल्पाका नेता–कार्यकर्ताहरू बाहिरी मोर्चा, भूगोल, जनबर्गिय संगठनमा सक्रियताका साथ भूमिका निभाइरहेका छन्। छौँ। त्याग, समर्पण, योगदान, निरन्तरता, प्रतिबद्धता र सक्रियताको आधारमा जो कोहिले पनि आफ्नो अधिकार पद ठाउँ खोज्नु स्वभाविकै हो।
आज चुनावी प्रक्रियामा जाँदा नेता–कार्यकर्ताको थुप्रो भएकाे ठाउँमा अझै जटिल बन्दै गएको छ। शीर्ष नेतृत्वहरूकै प्रतिस्पर्धा र दोहोरिरहने कारणले पनि दोस्रो, तेस्रो पुस्ताले अवसर नपाउने अवस्था छ। त्यसकारण रोल्पा–रूकुमलगायतका आधार क्षेत्रहरूमा पार्टीले छुट्टै विशेष नीति बनाएर ल्याउनुपर्छ। नत्र अन्याय हुनेछ। यसमा पार्टीको ध्यान पुगोस्।
उनी जनसांस्कृतिक महासंघ नेपालकी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज हुन्।