मण्डला नाटकघरमा गहुँगोरो अनुहार, गहिरिएको आँखा, गम्भीर मुद्रा अनि साधारण पहिरणमा आक्कल झुक्कल देखिन्छन्, सन्ताेष गिरी। जाे नाट्य क्षेत्रमा उदाउनका लागि संघर्ष गरिरहेका छन्।
सानैदेखि कलाकारकाे क्यारिकेचर गरेर अरूलाई मनाेरञ्जन दिने उनी आफ्नाे अभिनयले दर्शककाे मन जित्न चाहन्छन्। त्यसैले त उनी दिनरात नभनी नाटक गर्नमा लागिपरिरहेका छन्।
कक्षा पाँचमा पढ्दै गर्दा स्कुलकाे कार्यक्रममा नाटक देखाइरहने उनमा बिस्तारै जाेश आयाे–रंगकर्मी बनेर नाम कमाउने। त्यसैले उनी स्कुलमा हुने स–साना कार्यक्रममा पनि सहभागिता हुन थाले।
'स्कुलमा भएका प्राेग्रामहरूमा भाग लिन थालेपछि नाटक गर्ने जाेश आउन थाल्याे, त्यसैले नाटक गर्न थालेँ' उनले बिएल नेपाली सेवासँग भने, 'त्यसपछि मैले नाटककाे अभ्यास गर्न थालेँ।'
नाटक गरेर भविष्य बनाउने आटेका उनले १२ कक्षा सक्काएर रंगकर्मी बन्ने साेच बनाए। जसका लागि उनले पढाइसँगै नाटक पनि गर्न थाले।
'रंगकर्मी बन्ने सपना देखेकाे थिएँ, त्यसैले घरमै बसीबसी नाटककाे तयारी गर्न थालेँ' उनले भने, 'ऐना अगाडि उभिएर नाटक गथेँ।'
मण्डला नाटकघरमा सन्ताेषकाे यात्रा
ललितपुरका सन्ताेष सन् २०१८ मा पढाइ सक्काएर नाटकतर्फ लाग्न थाले। भर्खरै पढाइ सक्काएका उनी नाटक सिक्न मण्डला नाटकघर ध्याउन थाले। तर उनले त्यहाँ नाटक सिक्नै पाएनन्। कारण थियाे, नाटकको कुनै सिजनै नहुनु।
रंगकर्मी बन्ने अठाेट गरेका उनी दिनभरि आमा टीका बास्ताेलालाई खेतमा सघाउथे अनि बाँकी रहेकाे समय उनी अभिनय गर्नमा व्यस्त हुन्थे।
कामसँगै अभिनय देखाउनमा पाेख्त रहेका उनी नाटक सिक्न 'सर्वनाम नाटकघर' मा भर्ना भए। नाटक सिक्न गएका उनले सुरूसुरूमा त रिहर्सलको समयमा कुनै रोल नै पाएनन्। 'स्पष्ट पढ्न नसक्ने भएकाले मैले कुनै राेल नै पाइनँ' उनले भने, 'तर बिस्तारै नाटक गर्ने अवसर पाएँ।'
शुद्ध पढ्न नजान्ने सन्ताेष नाटकको रिहर्सलमा सबैभन्दा अगाडि पुग्थे। त्यसैले बिस्तारै उनी निर्देशकको नजरमा पर्न थाले।
उनीसँगै रंगकर्मी बन्न आएका कति जनाले त नाटकलाई बीचमै छाडेर गए। तर उनमा नाटकमै भिज्ने हुटहुटी थियो। त्यसैले उनले नाटकलाई निरन्तरता दिए।
नाटकमा उदाउँदै थिए सन्ताेष तर काेराेना कहरसँगै उनकाे काममा पनि बेक्र लाग्याे। लकडाउनलेे उनकाे सपना र मेहेनतमा ताला लगाइदियाे।
लकडाउनले नाटक सिक्न नपाएका उनले वर्ष दिन त कृषि फर्ममै बिताए। लकडाउन सकिएपछि मण्डलमा 'ड्रामा' स्कुल खुल्यो, जहाँ उनी सेलेक्सन प्रोसेसकाे अन्तिममा फालिए।
उनमा नाटक सिक्ने हुटहुटी थियाे। त्यसैले पनि उनले नाटक गर्न छाडेनन् र मण्डलामा आठौँ ब्याचका लागि खुलेकाे भर्नामा सहभागी भए।
'मण्डलामा भर्ना खुल्नु मेराे लागि सुवर्ण अवसर थियाे तर अफसाेज मसँग भर्ना गर्ने पैसा थिएन' उनले विगत सुनाउँदै भने, 'अनि भर्ना गर्ने पैसा मलाई भिनाजु मोहन गिरी र साथी सुनिल घिसिङले दिनुभयाे। जसकारण मेराे भर्ना मणडलामा भयाे।'
अस्पष्ट बाेलीकाे कारण कुनै राेल नपाउने उनले एकदिन रिहर्सलकाे क्रममा कोरस न. ०६ को 'डायलग' बाेल्ने माैका पाए। त्यही डायलग पढेर उनी निर्देशक राजन खतिवडाको नजरमा पर्न सफल भए।
उनकाे अभिनय रहेकाे 'रोगन' नाटक प्रदर्शन नहुने कुरा उनलाई १० दिन अघि थाहा भयाे। ठूलाे आशा र सपना बोकेका सन्तोषले निराशिएर साेच्न थाले, 'सायद नाटक खेल्नु मेराे भाग्यमा नै रहिनछ।'
तर १० दिन ढिला चलेकाे नाटक रोगनबाट उनी धेरै जनाकाे नजरमा परे। छाेटाे समयमै तयार पारिएकाे नाटकमा उनी मात्र हाेइन सम्पूर्ण टिम नै सफल भए।
त्यही नाटकमा अभिनय गरेपछि उनले अरू नाटकमा पनि सानाेतिनाे राेल पाउन थाले। अहिले उनी नाटक खेल्नमा मात्र हाेइन विज्ञापनका भिडियो र प्लेब्याक रोल गर्नमा पनि सक्रिय छन्।
नाटक घरमा नाटक गरेरै भविष्य बनाउने लक्ष्य लिएका सन्ताेषले चाहेकाे सबै सपना पूरा हाेस्। अग्रिम शुभकामना!