तिम्रो मौनताको भाव बुझ्न सकूँ...

BreaknLinks
BreaknLinks

आज मसङ्ग धेरै शब्दहरू त छैन, तर जति शब्दहरु छन् सायद यी शब्दहरूले तिम्रो मनमा भएका प्रश्नहरुको जवाफ दिन सकुँ। मलाई समेत पोल्ने अतितले तिमीलाई कति पोल्दो हो। भो अब म मेरो पोल्ने अतितलाई नै पोलिदिन्छु, अनि वर्तमानको सितल मलम लिएर तिम्रो जिन्दगीमा आउँछु।

धेरै बुझ्न बाँकी रैछ, अझै तिम्रो मौनताको भाव बुझ्न सकुँ। तिम्रो अनुपस्थितिको छटपटाहट बुझुँ, मेरो लापरबाही बुझुँ। तिम्रो केयर बुझुँ, तिम्रो शब्द बुझुँ, तिम्रो मन बुझुँ, सिङ्गो तिमीलाई बुझ्न सकुँ यही कुराहरु नै त हो नि हैन र?

भन्ने कुराहरु धेरै होलान्, तर त्योभन्दा बढी सुन्नुपर्ने कुराहरु बढी छन् जस्तो लाग्यो। आज साहित्य टाढा राखेर यो शब लेख्दैछु। एउटा लामो यात्रा म डोर्याउँछु तिमीलाई, तिम्रा पाइलाहरु मेरा पाइलाका डोबसङ्गै परुन्। उकालोमा लालीगुराँसले ढाकेको पहाड छिचोल्दै जाउँ, यो सहरका रहरहरुलाई थाती राख्दै तिमी र म हामी भएर जाउँ एउटा लामो जीवन यात्रा।

तिमी 'तिमी' भित्र आफूलाई अटाउँदै जाउ, म 'तिमी' भित्र तिमीलाई देखेर तिमी शब्दका आशा र भरोसा भर्दै जाउँला। खाली पानाहरुमा अनन्तसम्म...। फरक यति कि तिम्रो आगमनमा मेरो खुसीका पानाहरु, बिदाइमा तिम्रो खुसीका पानाहरु एउटाको खुसीमा अर्कोको रोदन ओझेल पारिनुपर्छ। मेरो खुसीमा तिम्रो रोदन, तिम्रो खुसीमा मेरो रोदन मर्ने छ पल पल...।

ए मेरो आफ्नाे मान्छे! मेरा शब्दहरुमा मेरा धड्कन भेटाउँछेउ? या अड्चन! तिम्रा भावनाहरु, मनहरु के भन्छ? त्यसकाे ग्यारेन्टी त म लिन सक्दिनँ, तर मेरो मन र भावना त यसै भन्छ। यी शब्दहरुमा मेरो मन, मेरो भावना, मेरो अतीत अनि मेरो वर्तमानसङ्ग म को सारांश भेटाउँछौ।

आजसम्म म 'म' मात्रै भएर बाँचेँ अब अलिकति तिमी मिसिएर बाँच्नु छ। सायद जीवनको नयाँ अध्याय सुरु गरेर शत्रुको बोली बस्ने गरी, आफन्तको शिर ठडिने गरि।

आउ हामी हाम्रा नमिल्ने यी रङ्गहरु मिसाएर हाम्रो जीवन इन्द्रेणी जस्तै सुन्दर बनाउँ। अब आउने नयाँ यात्राको नयाँ अध्याय कस्तो होला? त्यो त भन्न सक्दिनँ, तर बस बाँकी यात्राहरु तिमीसंगै हिँड्नु छ। अतीतका घाउहरुमा मलम पट्टी लगाउँदै, वास्तविकताको धरातलमा उभिएर जीवनका उकाली ओरालीहरु संगसंगै अनन्त अनन्त...।

प्रकाशित मिति: : 2022-09-17 17:17:00

प्रतिकृया दिनुहोस्